नयाँ वर्ष २०८१ को पहिलो दिन : पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड

Halesi Khabar
70 Shares

खोटाङ, १ वैशाख । नयाँ वर्षको अवसरमा खोटाङका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । पूर्वी पहाडी जिल्ला खोटाङमा केही वर्षयता नयाँ वर्षको स्वागतमा पर्यटकीयस्थलहरु गएर सामूहिकरुपमा वनभोज (पिकनिक) खाँदै रमाइलो गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन शुरु भएको हो ।

नयाँ वर्षको पहिलो दिन आज (शनिबार) दिक्तेल रुपाकोछ मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी, भुलभुले, बगरेभञ्ज्याङ, काङसाहोप ताल, बाँझोबारी, हलेसी नगरपालिकाको तुवाचुङ–जायजुम, भुम्जुडाँडा, जन्तेढुङ्गा गाउँपालिकाको जन्तेढुङ्गा, होङ्मा पोखरी, बराहपोखरी गाउँपालिकाको बराहपोखरी, केपिलासगढी गाउँपालिकाको केपिलासगढी, मैयुङ, चिलिमढुङ्गा, खोटेहाङ गाउँपालिकाको, रोक्सिमभञ्ज्याङ, कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङ, ट्याम्के लगायत जिल्लाका विभिन्न पर्यटकीयस्थलहरुमा नयाँ वर्ष मनाउने स्थानीय बासिन्दाको भीड लागेको छ । वर्षको शुरुका दिन रमाइलो गर्दा वर्षभरी हर्ष र खुसी मिल्ने विश्वासमा जिल्लाका स्थानीय बासिन्दाले नयाँ वर्षलाई विशेष महत्व दिने गरेका छन् ।

गाउँगाउँका स्थानीय बासिन्दाहरु घण्टौँ पैदल यात्रापछि पर्यटकीयस्थल पुगेर सामूहिकरुपमा पिकनिक खाँदै, नाचगान र रमाइलोका साथ नयाँ वर्ष मनाइरहेका छन् । राँगा, खसी, सुँगुर, भाले, पेय पदार्थसहित पर्यटकीयस्थल पुगेका स्थानीय बासिन्दाहरुले सुख, शान्ति, समृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरेका छन् ।

पर्यटकीयस्थलहरुमा स्थानीय बासिन्दा बाहेक कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, युवायुवती, वृद्धवृद्धा, युगल जोडी समेतको बाक्लो उपस्थिति देखिने गरेको छ । सडक सञ्जालमा जोडिएका कतिपय स्थानीय तका बासिन्दाहरु रिजर्भ गरिएका गाडी तथा मोटरसाइकल लिएर पर्यटकीयस्थलहरुमा नयाँ वर्ष मनाउन पुगेका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई कर्मथलो तथा अध्ययन÷अध्यापनका लागि बसोबास गर्दै आएकाहरु नयाँ वर्ष मनाउन पर्यटकीयस्थलहरुमा गएपछि होटल तथा पसलहरु कम खुलेका छन् । दैनिक हजारौँको सङ्ख्यामा मानिसको आवतजावत हुने दिक्तेल बजार सुनसान जस्तै बनेको छ ।

पछिल्लो समय पर्यटकीयस्थल बाहेक अग्ला–अग्ला थुम र डाँडामा समेत नयाँ वर्ष मनाउने स्थानीय बासिन्दाको भीड लाग्न थालेको छ । दिक्तेल बजारको नजिक रहेको रुपाकोट र मझुवागढीमा शनिबारदेखि नै सर्वसाधारणको बाक्लो भीड लागेको छ ।

रुपाकोटमा दिक्तेल, खार्मी, नुनथला, जालपा, पाथेका, नेर्पा, लफ्याङ लगायका बुढापाका, युवायुवती र केटाकेटीको भीड लागेको छ । मासु, चामल र पेय पदार्थ लगायतका बन्दोबस्तीका सामानसहित रुपाकोटमा पुगेका नजिकका स्थानीय रुपाकोटडाँडामा दुई÷तीन दिन बाससमेत बस्ने गरेका खार्मीका स्थानीय बासिन्दा एवम् नेकपा (एकीकृत समाजवादी)का नेता हर्कराज राईले जानकारी दिनुभएको छ ।

पर्यटकीयस्थल रुपाकोटबाट सर्वोच्च शिखर सगरमाथा, उच्च हिमश्रृङ्खला, तराईका फाँट, घाँसेमैदान तथा सूर्यदय तथासूर्यअस्तको दृष्यसमेत अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाईमा रहेको रुपाकोटमा नयाँ वर्ष बाहेक अन्य समयमा समेत आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यू टावरसमेत निर्माण गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्गमा निर्माण गरिएको सो टावरका लागि नगरपालिकाले रु २७ लाख बजेट उपलब्ध गराएको थियो ।

परिवारका सदस्य, साथीभाइ र आफन्तसहित पर्यटकीयस्थल पुगेका सर्वसाधारण साउण्ड सिस्टममा बजाइएको गीतको सुरमा रमाइलो गरिरहेका छन् । नयाँ वर्षकै अवसरमा खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभञ्ज्याङमा तीन दिने ‘कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव २०८१’ आयोजना गरिएको छ ।

पर्यटकीयस्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने थालेपछि जिल्ला सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्न स्तरोन्नतिको काम शुरु गरेका छन् । पर्यटनलाई आम्दानीको स्रोतका रुपमा विकास गर्ने उद्देश्यसहित जिल्लाका सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्न स्तरोन्नतिका साथै प्रचारप्रसारको काम शुरु गरेका हुन् ।

उता, खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा पनि नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरिएको छ । सालपा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले किरात ऐतिहासिकस्थल सिलिचुङमा सुम्निमा र पारुहाङ तथा सालपा पोखरीमा नछुङ (धामी)को प्रतिमा स्थापना गर्न लागेको हो ।

वैशाख–६ र ७ गते विशेष कार्यक्रमसहित प्रतिमा अनावरण गर्ने तयारी गरिएको समितिका प्रवद्र्धक सरिता राईले जानकारी दिनुभएको छ । पर्यटकीयस्थल सालपा–सिलिचुङमा किराती पुर्खा सुम्निमा र पारुहाङ तथा धामी (नछुङ) प्रतिमा स्थापना गर्न देश÷विदेशमा रहेका किरात समुदायले सहयोग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया