दिक्तेलमा हेलिप्याड सर्पोटिङ पार्किङस्थल निर्माणको काम शुरु

Halesi Khabar
154 Shares

खोटाङ, १४ चैत । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको प्रवेशद्धार अगाडि हेलिप्याड सर्पोटिङ पार्किङस्थल (सवारी साधन बिसौँनी) निर्माणको काम शुरु गरिएको छ । कोशी प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको रु २५ लाख लगानीमा जिल्ला समन्वय समिति खोटाङको प्रवेशद्धार अगाडि हेलिप्याड सर्पोटिङ पार्किङस्थल निर्माणको काम शुरु गरिएको हो ।

हेलिप्याडमा आउने सवारीसाधन तथा सरकारी कामकाजमा आउने सर्वसाधारणलाई लक्षित गर्दै पार्किङस्थल निर्माणको काम शुरु गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ । “हेलिप्याडमा अचानक हेलिकोप्टरहरु उडान तथा अवतरण गर्नुपर्ने हुन्छ । अहिलेसम्म हेलिप्याडमा आउने एम्बुलेन्स तथा सवारीसाधन जथाभावी पार्किङ गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “पार्किङस्थल अभावमा जथाभावी पार्किङ गर्दा दुर्घटना हुनसक्छ । त्यसलाई व्यवस्थित गर्न प्रदेश सरकारको सहयोगमा पार्किङस्थल निर्माणको काम शुरु गरिएको हो ।”

पार्किङस्थलको वरिपरी पर्खाल उठाएर मानिस बस्न मिल्ने ठाउँसमेत निर्माण गरिने समन्वय प्रमुख राईले जानकारी दिनुभएको छ । निर्माणाधीन पार्किङस्थलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय खोटाङ र मालपोत कार्यालयका सेवाग्राहीले समेत पार्किङ गर्न दिइने जनाइएको छ ।

ठेकेदार कम्पनीमार्फत निर्माणको काम शुरु गरिएको हेलिप्याड सर्पोटिङ पार्किङस्थलको बीचमा समीको बिरुवा रोपिने जनाइएको छ । पार्किङस्थलमा रोपिने समीको बिरुवा बढेपछि भविश्यमा शित्तल ताप्ने ठाउँको रुपमा विकास हुने जनाइएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पार्किङस्थल नहुँदा समस्या हुँदै आएको छ । पार्किङस्थल नुहँदा सरकारी कामकाजका लागि दिक्तेल बजार आउने सवारी धनीहरु बीच सडक तथा होटल आसपास पार्किङ गर्दै आएका छन् ।

सडक आसपासमा यत्रतत्र सवारी साधन पार्किङ गर्नाले आवतजावतमा समेत असहज हुने गरेको पाइएको छ । दिक्तेलमा निर्माण गरिएका दुईवटा उपयोगविहीन भइरहेको अवस्थामा जिल्ला समन्वय समिति खोटाङले निर्माण शुरु गरेको हेलिप्याड सपोटिङ पार्किङस्थललाई निक्कै महत्वका साथ हेरिएको छ ।

बजार क्षेत्रमा पार्किङ हटाउने उद्देश्यका साथ दिक्तेल रुपकोट मझुवागढी नगरपालिका–२ सोल्मा र सोही नगरपालिकाको वडा नं. १ आचार्यगाउँमा दुईवटा बसपार्क निर्माण गरिएका छन् । सात वर्षअघि निर्माण गरिएका दुवै बसपार्क अहिलेसम्म उपयोगविहीन रहेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

बसपार्कमा सवारी साधन पार्किङका लागि लैजान प्रहरी प्रशासनले आग्रह गरेपनि अहिलेसम्म कार्यान्वयन भएको छैन । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारीसाधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै पार्किङ गर्न गत माघ–२३ गते निर्देशन दिएको थियो ।

प्रशासनको निर्देशनबिपरित सडक आसपास र बजार क्षेत्रमा सवारीसाधन पार्किङ गरेको खण्डमा कानूनबमोजिक कारबाही हुने जनाएको थियो । तर, अहिलेसम्म प्रशासनले एउटा पनि सवारी साधनलाई कारबाही गरेको छैन ।

वि.सं. २०७३ सालमा बनेका दिक्तेलस्थित आचार्यगाँउ र सोल्मा बसपार्क उपयोगविहीन राखेर बजार क्षेत्रमा सवारी पार्किङ गर्दा समस्या भएको भन्दै स्थानीय बासिन्दाको बिरोधपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले गत माघ–२३ गते सर्वपक्षीय बैठक बोलाउनुभएको थियो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय÷सर्वदलीय बैठकले जिल्लामा सञ्चालित सबै साना तथा ठूला सवारीसाधन पार्किङका लागि अनिवार्य बसपार्क लैजाने निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

तपाईको प्रतिक्रिया