तीन महिनादेखि अलपत्र ५० शय्याको अस्पताल भवन निर्माणको काम पुनः शुरु

Halesi Khabar
28 Shares

खोटाङ, ११ चैत । जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्नेगरी निर्माण शुरु गरिएको भवन निर्माणको काम पुनः शुरु भएको छ । गत पुसदेखि अस्पताल भवन निर्माणको काम ठप्प पारेर सम्पर्कविहीन बनेको निर्माण कम्पनी श्याम सुन्दर÷रामसागर÷नेपाल फूलबारी जेभी काठमाडौँले तीन महिनापछि पुनः निर्माणस्थल फर्किएर निर्माणको काम शुरु गरेको हो ।

बिना जानकारी सम्पर्कविहीन भएको ठेकेदार तीन महिनापछि निर्माणस्थल फर्किएसँगै निर्माणाधीन अस्पताल भवनको प्लाष्टर लगायतका भित्री काम शुरु गरेको अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभएको छ । “ठेकेदारले पर्खाल, गेटसम्मको सडक लगायतका काम केही दिनभित्र शुरु गर्ने बताएका छन् । अलपत्र अवस्थामा छाडेको काम पुनः शुरु गरेकाले केही आशा पलाएको छ”, उहाँले भन्नुभयो, “सम्झौता अनुसार गत पुस–२४ गते भवन निर्माणको सम्पन्न हुनुपथ्र्यो । तोकिएको समयमा सम्पन्न नभएपछि थप १५ महिना म्याद थप भएको छ । सम्भवतः बाँकी रहेको समयमा सम्पन्न गर्छ भन्ने छ ।”

लामो समयसम्म १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार अस्पतालका लागि ५० शय्याको भवन निर्माण शुरु गरिएको थियो । तर, गत पुसमै बनिसक्नु पर्ने अस्पताल भवन निर्माणको काम अझै अधुरो छ ।

भवन निर्माणको काममा ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रवाह प्रभावित भइरहेको छ । ठेकेदार कम्पनीले ३० महिनामा सक्नेगरी वि.सं. २०७८ असार–२४ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । नेपाल सरकार, सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गामार्फत प्राप्त रु २२ करोड ९० लाख ४७ हजार ९२ (भ्याट सहित)मा अस्पताल भवनको ठेक्का लागेको हो ।

४० मिटर लम्बाई र २०.५ मिटर चौडाईको भएको चारतले अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेपछि काम रोकिएको थियो । अस्पताल भवन स्तरोन्नतिको कामलाई निरन्तरता दिनका लागि फोन गर्दा ठेकेदार कम्पनीका व्यवसायी बाबुराम कटवाल अधिकांश समय मोबाईल अफ गरेर बस्ने गरेका थिए ।

अस्पताल भवन निर्माणका क्रममा खटिएका कामदारले पैसा नपाएको भन्दै गुनासो पोखिरहेका छन् । वि.सं. २०४९ साल वैशाख–१ गते स्थापना गरिएको अस्पताल अहिले ट्रस भवनमा सञ्चालन भइरहेको छ ।

पुरानो संरचनाका अस्पताल भवन भत्काइएपछि सोही ठाउँको माथिल्लो तलामा ठेकेदार कम्पनीले निर्माण गरेको ट्रस भवनमा अस्पतालको नियमित सेवा सञ्चालन गरिएको छ । साँघुरो तथा एउटै ट्रस भवनमा बसेर अस्पतालको सम्पूर्ण काम गर्नुपर्दा समस्या हुने गरेको स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् ।

अस्पतालमा शय्या अभाव हुँदा बिरामीको चाप बढेको समयमा भुइँमा राखेरसमेत उपचार गर्ने गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रुपेश सङ्ग्रौलाले बताउनुभएको छ । “एक महिनामा दश÷पन्ध्र जना महिलालाई शल्यक्रियामार्फत प्रसूति गराउँदै आएका छौँ । शल्यक्रिया कक्ष साँधुरो छ । शल्यक्रियाका लागि आवश्यक जनशक्ति अटाउने स्थिति छैन”, उहाँले भन्नुभयो, “ट्रस भवनमा सञ्चालित अस्पतालमा शय्या अभाव भएकै कारण कतिपय समयमा अस्पताल भर्ना भएका बिरामीहरुलाई नजिकको होटल तथा आफन्तको कोठाबाट धाएर उपचारमा आउन लगाउने गरेका छौँ । यस विषयमा सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ । ताकि, आगामी दिनमा यस्तो समस्या भोग्न नपरोस ।”

स्थापना भएको २९ वर्षसम्म स्तरोन्नति नभएको अस्पतालमा बिरामीको उपचार गर्न आवश्यक औजार तथा स्वास्थ्य सामग्रीसमेत अभाव हुने गरेको छ । अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार अभावकै कारण पनि अधिकांश बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको चिकित्सकहरुले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया