कवि बानियाँ र चित्रकार राई ‘टेम्के–तुवाचुङ पुरस्कार’बाट पुरस्कृत

Halesi Khabar
84 Shares

खोटाङ, १० चैत । टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले कवि बम बानियाँ र चित्रकार सन्तोष राई ‘सन्जोस’लाई ‘टेम्के–तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका कवि बानियाँ वि.सं. २०७७÷०७८ र सोही नगरपालिकाको वडा नं. १४ बुइपाका चित्रकार रार्ई वि.सं. २०७९÷०८० बाट पुरस्कृत हुनुभएको हो ।

साहित्यका माध्यमबाट जिल्लालाई पु¥याएको योगदानको कदर गर्दै कवि बानियाँलाई र ललितकलामा उच्च शिक्षा हासिल गर्दै खोटाङको कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएकोमा चित्रकार राईलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले जानकारी दिनुभएको छ । प्रतिष्ठानले आफ्नो छैठौँ वार्षिकोत्सवको अवसरमा दिक्तेलस्थित मुडेमा सञ्चालित मुन्धुम रिसोर्टमा शनिबार औपचारिक कार्यक्रम गर्दै दुई प्रतिभालाई जनही रु ११ हजार १११ राशीको पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत कवि बानियाँका वि.सं. २०६८ सालमा ‘जागै छन् शब्दहरु’ र वि.सं. २०७३ सालमा ‘मान्छे जोत्ने शहर’ कविता सङ्ग्रह प्रकाशित छन् । कवि बानियाँ राष्ट्रिय बालअधिकार परिषद नेपालका उपाध्यक्षसमेत हुनुहुन्छ ।

पुरस्कृत चित्रकार राई ललितकलामा एमफिल गरिरहनुभएको छ भने निसर्ग बाटिका र पाठशाला नेपाल फाउण्डेशनमा कला प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । चित्रकार राईको चित्रहरु विश्व बजारमा समेत बिक्री भइरहेको छ ।

पुरस्कृत प्रतिभालाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले ताम्रपत्र र नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । साहित्यिक पदयात्राका क्रममा खोटाङ आउनुभएका श्रष्टाहरुले आपसमा सिर्जना सुन्ने र सुनाउने कार्यक्रमसमेत गरिएको कार्यक्रममा साईलो कला केन्द्रका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानले जिल्लाको भाषा, कला, साहित्य, गीतसँगीत, खेलकुद लगायतका क्षेत्रमा विशेष योगदान पु¥याउने उत्कृष्ट एक प्रतिभालाई छनोट गरेर हरेक वर्ष ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गर्दै आएको छ । यसअघि वि.सं. २०७२ मा कवि चन्द्र रानोहँछा, वि.सं. २०७३ मा सितोरियो कराते खेलाडी सञ्जयकुमार राई, वि.सं. २०७४ मा गायिका राधा राई र वि.सं. २०७५ मा मुर्तीकार रोजन राईलाई पुरस्कृत गरेको थियो ।

खोटाङमा जन्मिएर हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारहरुको पहलमा वि.सं. २०७० सालमा स्थापना गरिएको अक्षय कोषबाट प्रतिष्ठानले विभिन्न विद्याका प्रतिभालाई वार्षिकरुपमा पुरस्कृत गर्दै आएको छ । प्रतिष्ठानको अक्षय कोषमा हाल रु आठ लाख जम्मा भइसकेको अध्यक्ष एक्लेले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया