डढेलोले घर, मतान, गोठ र पशुचौपाया जल्दा रु २० लाख बढीको क्षति

Halesi Khabar
70 Shares

खोटाङ, ३० फागुन । सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, मतान, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा रु २० लाख बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपरान्ह गाउँ पस्दा जीवन राईको घर र मतान, सुवास राईको घर, मतान र गोठ तथा ताराकुमार राईको मतान जलेको हो ।

आगलागीमा सुवासको घरसँगै घरमामा राखिएको नगद रु ७५ हजार, चार तोला सुन, तीन तोला चाँदी, दश मुरी मकै, पाँचवटा खसी, दुईवटा गाईको बाच्छा लगायत जलेर नष्ट हुँदा रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सुवासकै घरमा राखिएको नवसंस्कृति युवा समाजको रु दुई लाख बराबरको भाँडावर्तनसमेत जलेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् ।

सुवासकै मुल घरलाई भने आगो लाग्नबाट बचाइएको स्थानीय बासिन्दाले बताएका छन् । यस्तै, जीवनको घरसँगै भाँडावर्तन, सात मुरी धान, सात मुरी कोदो, पाँच मुरी मकै, नगद रु १५ हजार लगायत जल्दा रु पाँच लाख बराबरको क्षति भएको छ ।

आगलागीमा ताराकुमारको मतानसहित दुईवटा खसी जल्दा रु ५० हजार बराबरको क्षति भएको जनाइएको छ । अन्य घरलाई स्थानीय बासिन्दाले छानोमा बसेर आगोबाट जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ ।

गाउँको चारैतिर फैलिएको सामुदायिक वनमा डढेलो लाग्दा खिसाका र ढाँडे वस्तीमा दिनभर तनाव भएको थियो । साँझ परेपछि हवारातिर डढेलो फैलिँदै गएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले जानकारी दिनुभएको छ ।

गाउँ पसेको डढेलो अस्थायी प्रहरीचौकी भँडारेघाट र प्रहरीचौकी दिप्रुङ चुइचुम्माबाट खटिएका प्रहरी, गाउँ प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणको प्रयास गरिरहेका छन् । सामुदायिक वनमा लागेको डढेलोले करोडौँको वनस्पती र जङ्गली जनावर नष्ट भइसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकासँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा, साकेला गाउँपालिकाको मात्तिम, खोटेहाङ गाउँपालिकाको खोटाङबजार र रावाबेँसी गाउँपालिकाको डुम्रेधारापानीमा रहेको सामुदायिक वनमा डढेलो गइरहेको स्थानीय बासिन्दाहरुले बताएका छन् । जिल्लाका विभिन्न सामुदायिक वनहरुमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय बासिन्दासँगै प्रहरीसमेत परिचालन गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय बासिन्दा आफैले जानाजान डढेलो लगाउने गरेको समाचार स्रोतले जनाएको छ । जङ्गली जनावर धपाउन तथा गाईवस्तुलाई घाँस उमार्न स्थानीय बासिन्दा आफैले आफ्नो पायक पर्ने ठाउँको सामुदायिक वनमा डढेलो लगाउने गरेको स्रोतको दाबी छ ।

हिउँद लागेसँगै जताततै आगलागीको बिगबिगी हुन थालेपछि कतिपय स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको पाइएको छ । आफू बस्ने घरभन्दा मुनि सामुदायिक वन तथा खरबारी हुनेहरु सबैभन्दा चिन्तित हुने गरेका छन् ।

सामुदायिक वनमा डढेलो लगाउँदा जङ्गली जनावर तथा वन सम्पदा नष्ट हुनुका साथै घरहरुमा समेत क्षति पुग्ने गरेको छ । हरेक वर्ष करोडौँ मूल्यको वन सम्पदा नष्ट हुनेगरी सामुदायिक वनमा स्थानीय बासिन्दाले डढेलो लगाउने गरेपनि अहिलेसम्म उनीहरुलाई कारबाहीको दायरामा ल्याइएको छैन ।

तपाईको प्रतिक्रिया