जङ्गलमा लागेको डढेलो गाउँमा पस्दा दुई घर, तीन मतान र एक गोठ जल्यो

Halesi Khabar
238 Shares

खोटाङ, ३० फागुन । जङ्गलमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा दुईवटा घर, तीनवटा मतान र एकवटा गोठ जलेर नष्ट भएको छ । बतासेस्थित स्थानीय ठूलोभीर सामुदायिक वनमा लागेको डढेलोले स्थानीय जीवन राईको एउटा घर र मतान, सुवास राईको एउटा घर, दुईवटा मतान र एउटा गोठ तथा तारा राईको मतान जलेर नष्ट भएको हो ।

बतासेमा भएको आगलागीमा सुवासको नगद रु ७५ हजार, सुन, चाँदी लत्ताकपडा र मकैको थाक्रा लगायत जलेर नष्ट भएको जनाइएको छ । बुधबार अपरान्ह ४ः बजेतिर भएको आगलागीमा चारवटा खसी, दुईवटा पाठापाठी र दुईवटा गाईको बाच्छासमेत जलेर मरेको आगलागी पीडित सुवासले बताउनुभएको छ ।

खिसाकामा लागेको आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले जानकारी दिनुभएको छ । “डढेलोले बतासेको खिसाका र ढाँडे गाउँलाई चारैतिरबाट घेरेको छ । ढाँडेमा डढेलोको जोखिम टर्दै गए पनि खिसाका क्षेत्रमा जोखिम कायम छ”, उहाँले भन्नुभयो, “गाउँ पसेको डढेलो नेपाल प्रहरी, गाउँ प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणको प्रयास गरिरहेका छन् । वरिपरी चारैतिर फैलिएको जङ्गलमा डढेलो लागेका कारण वस्ती जोखिममा परेको छ ।”

बुधबार दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बतासेमा आगलागी हुनुका साथै विभिन्न ठाउँमा डढेलो लागिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ । “आगलागी तथा डढेलोबाट अहिलेसम्म मानवीय क्षति भएको छैन । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बतासेमा आगलागी भएको खबर छ भने, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा, साकेला गाउँपालिकाको मात्तिम, खोटेहाङ गाउँपालिकाको खोटाङबजार र रावाबेँसी गाउँपालिकाको डुम्रेधारापानीमा डढेलो गइरहेको छ”, उहाँले भन्नुभयो, “सामुदायिक वनहरुमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय बासिन्दासँगै प्रहरीसमेत परिचालन गरिएको छ । अधिकांश ठाउँमा लागेको डढेलो नियन्त्रण बाहिर छ । अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।”

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय बासिन्दा आफैले जानाजान डढेलो लगाउने गरेको समाचार स्रोतले जनाएको छ । जङ्गली जनावर धपाउन तथा गाईवस्तुलाई घाँस उमार्न स्थानीय बासिन्दा आफैले आफ्नो पायक पर्ने ठाउँको सामुदायिक वनमा डढेलो लगाउने गरेको स्रोतको दाबी छ ।

हिउँद लागेसँगै जताततै आगलागीको बिगबिगी हुन थालेपछि कतिपय स्थानीय बासिन्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको पाइएको छ । आफू बस्ने घरभन्दा मुनि सामुदायिक वन तथा खरबारी हुनेहरु सबैभन्दा चिन्तित हुने गरेका छन् ।

सामुदायिक वनमा डढेलो लगाउँदा जङ्गली जनावर तथा वन सम्पदा नष्ट हुनुका साथै घरहरुमा समेत क्षति पुग्ने गरेको छ । हरेक वर्ष करोडौँ मूल्यको वन सम्पदा नष्ट हुनेगरी सामुदायिक वनमा स्थानीय बासिन्दाले डढेलो लगाउने गरेपनि अहिलेसम्म उनीहरुलाई कारबाहीको दायरामा ल्याइएको छैन ।

 

 

 

तपाईको प्रतिक्रिया