खोटाङमा दादुरा–रुबेला खोप अभियान शुरु, ११ हजार ५१६ बालबालिकालाई खोप लगाइने

Halesi Khabar
84 Shares

खोटाङ, २९ फागुन । खोटाङका दशवटै स्थानीयमा दादुरा–रुबेला खोप अभियान औपचारिकरुपमा शुरुवात गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित शुरुवात गरिएको अभियानमा जिल्लाका ११ हजार ५१६ जना बालबालिकालाई दादुरा–रुबेलाबिरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ ।

फागुन–२९ गतेदेखि चैत–३ गतेसम्म सञ्चालन हुने खोप अभियान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले मङ्गलबार स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गरेर औपचारिक उद्घाटन गर्नुभएको छ । दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालय पोखरीमा आयोजना गरिएको खोप अभियान उद्घाटनपछि पहिलो खोप दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका युनिश खनाललाई लगाइएको थियो ।

अभियानका लागि  ३९७ वटा खोप केन्द्र निर्धारण गरिएको जिल्लामा पालिकामा पालिका प्रमुख तथा वडामा वडाध्यक्षहरुले औपचारिक उद्घाटन गर्नुभएको जनाइएको छ । खोप अभियान सफल बनाउन जिल्लाका सबै खोप केन्द्रमा दुई÷दुई जनाका दरले ७९४ स्वयम्सेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

नेपाल सरकारको निर्धारित कार्यक्रमअनुसार जिल्लाका दशवटै स्थानीय तहमा एकै पटक औपचारिकरुपमा खोप अभियान शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चौलागाईँले जानकारी दिनुभएको छ । “सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्ने नेपाल सरकारको प्रतिबद्धता छ । दादुरा–रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान चलाउन लागिएको हो”, उहाँले भन्नुभयो, “अभियानका क्रममा नौँ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइन्छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा गरेका छौँ ।”

खोप अभियान हरेक दिन बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म सञ्चालन गरिने खोप अभियानका कार्यक्रम सहजकर्ता एवम् स्वास्थ्य कार्यालय खोटाङका क्षय–कुष्ठ सुपरभाइजर सुरेन्द्रकुमार बुढाथोकीले जानकारी दिनुभएको छ । पाँच दिनसम्म सञ्चालन हुने खोप अभियानका क्रममा कुनै समस्या आएको खण्डमा तत्काल जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा खबर गर्न अनुरोध गरिएको कार्यालयले जनाएको छ ।

खोप अभियानका क्रममा केपिलासगढी गाउँपालिकाका ८७१, ऐसेलुखर्क गाउँपालिकाका ८३०, रावाबेँसी गाउँपालिकाका ७१७, हलेसी तुवाचुङ नगरपालिकाका एक हजार ९६२, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई हजार ९३१, साकेला गाउँपालिकाका ६८२, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक हजार ८२, खोटेहाङ गाउँपालिकाका ९७३, जन्तेढुङ्गा गाउँपालिकाका ७६९ र बाराहापोखरी गाउँपालिकाका ७०० जना बालबच्चालाई खोप दिने तयारी गरिएको छ । खोप अभियान सफल बनाउन गत शनिबार जिल्ला खोप समन्वय समितिको बैठक तथा जिल्लास्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको अभिमुखीकरण र बहस पैरवी गोष्ठीसमेत आयोजना गरिएको थियो ।

दादुरा–रुबेलाबाट सङ्क्रमित भएका एक जनाबाट १८ जनासम्मलाई सङ्क्रमण सर्ने भएकाले यसलाई कोभिडभन्दा खतरनाक सङ्क्रामक रोग मानिन्छ । दादुरा–रुबेलाको सङ्क्रमण भएको अवस्थामा बालबालिकालाई ज्वरो आउने, शरीरमा रातो बिमिरा देखा पर्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने, रुघाखोकी लगायतका लक्षण देखा पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया