सालपा विकास बैङ्कको ११ औँ साधारणसभा : चार जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने निर्णय

Halesi Khabar
483 Shares

खोटाङ, १९ फागुन । सालपा विकास बैङ्कले आफ्नो कार्यक्षेत्रलाई थप चार जिल्लामा विस्तार गर्ने निर्णय पारित गरेको छ । दिक्तेलमा केन्द्रीय कार्यालय स्थापना गरेर खोटाङमा मात्रै कार्यक्षेत्र बनाएको बैङ्कको ११ औँ साधारणसभाले उदयपुर, सुनसरी, झापा र मोरङमा शाखा स्थापना गरेर कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो ।

दिक्तेलको सोल्मास्थित शुभम् फाउण्डेशनमा आयोजना गरिएको बैङ्कको ११ औँ साधारणसभामार्फत आइपियो खुलाएर हालको रु ३५ करोड चुक्ता पुँजीलाई बढाएर रु ५२ करोड २३ लाख ८८ हजार पु¥याउनेसमेत निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत ईश्वरमान राईले जानकारी दिनुभएको छ । “निकट भविष्यमा रु १७ करोड २३ लाख ८८ हजारको आइपिओ जारी गरेर बैङ्कको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरिएको छ । यो बैङ्कलाई केही वर्षभित्रै रु एक अर्ब २० करोड चुक्ता पुँजी बनाएर प्रदेशस्तरको बैङ्क बनाउने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “तत्काललाई चार जिल्लामा शाखा स्थापना गर्ने निर्णय भएको छ । अहिलेकै रफ्तार निरन्तर जारी रहने हो भने चाँडै नै प्रदेशस्तरको बैङ्क बनाउने लक्ष्य पूरा गर्नेछौँ ।”

साधारणसभाले आगामी चैतभित्र मोबाईल बैङ्किङ सेवासमेत शुरु गर्ने निर्णय पारित गरेको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारासहित खोटाङबासीकै सहकार्यमा वि.सं. २०६९ साउन–३ गते दिक्तेलमा कार्यालय स्थापना गरेर बैङ्किङ कारोबार शुरु गरेको बैङ्कले जिल्लाका पाँच ठाउँमा शाखा विस्तार गरेको छ ।

‘जनता बैङ्कमा होइन, बैङ्क जनतासम्म जानु पर्छ’ भन्ने अवधारणासहित कारोबार शुरु गरेको बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट ‘ख’ श्रेणीको इजाजत प्राप्त गरेको छ । स्थापना कालमा दश जिल्लाका १२० जना शेयर सदस्यबाट शुरु गरिएको बैङ्कमा हाल ६८ जिल्लाका तीन हजार ४९० शेयर सदस्य छन् ।

यही फागुन–१८ गतेसम्ममा रु ७७ करोड ६४ लाख ७६ हजार ४५४ निक्षेप सङ्कलन गरेको बैङ्कले रु ६५ करोड ८३ लाख ८० हजार १८३ कर्जा प्रवाह गरेको जानकारी दिएको छ । बैङ्कले जिल्लामा कृषि कर्जा, व्यापारिक कर्जा, व्यक्तिगत कर्जा र विपन्न कर्जा प्रवाह गर्दै आएको अध्यक्ष टंक राईले जानकारी दिनुभएको छ ।

शेयर सदस्यहरुको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी रु दुई करोडको पुँजी लगानीबाट शुरु गरिएको बैङ्कले निक्षेप रकमलाई जिल्लाका कृषि, पर्यटन, व्यवसायी, उद्यमीहरुको व्यवसाय प्रवर्धनका लागि सुलभ ब्याज दरमा कर्जा उपलब्ध गराउँदै आएको छ । बैङ्कले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुके लगायतका दश वटा बचत खाता, आठ किसिमका मुद्दती खाता र नौँ किसिमका कर्जा तथा सापट विप्रेषण लगायतका सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

हलेसी, ऐसेलुखर्क, बाक्सिला, सिम्पानी र चिसापानीमा शाखा कार्यालय स्थापना गरेको बैङ्कले आईएमई, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, वेस्टर्न युनियन, हुलास रेमिट, सेवा रेमिट, सि.जि. फिन्को, सिटी एक्सप्रेस, रिलायबल रेमिट, कुमारी रेमिट सेवा समेत प्रदान गर्दै आएको छ । बैङ्कले स्थानीय तहसँगको सहकार्यमा पाँचवटै शाखामार्फत सामाजिक सुरक्षाभत्तासमेत वितरण गर्दै आएको छ ।

साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफलगरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित २०७८÷०७९ को नाफा÷नोक्सान तथा नगद विवरण छलफलगरी पारित गर्ने, आर्थिक वर्ष २०७९÷०८० का लागि लेखापरीक्षक नियुक्ति तथा उनको पारिश्रमिक निर्धारण गर्ने लगायतका विषयमा पारित गरेको छ । साधारणसभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ को खण्ड ख सम्सोधन गर्ने र कम्पनीको नियमावलीको नियम २७ (२) सम्सोधन गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले उद्घाटन गर्नुभएको साधारणसभामा ६८ वटै जिल्लाका शेयर सदस्यहरु सहभागी छन् । साधारणसभामा सहभागी वक्ताहरुले बैङ्कको सेवा प्रवाह प्रशंसणीय रहेको र आगामी दिनमा थप प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया