दिक्तेल रुपाकोट मझुवागढीले उचाल्यो १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

Halesi Khabar
364 Shares

खोटाङ, १८ फागुन । १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उचालेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा शुक्रबार साँझ सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा २५ स्वर्ण, दश रजत र छ कास्य पदकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपाधि उचालेको हो ।

जिल्लाका नौँ स्थानीय तह सहभागिता जनाएको प्रतियोगितामा नौँ स्वर्ण, दुई रजत र छ कास्य पदकसहित हलेसी तुवाचुङ नगरपालिका दोस्रो भएको छ । १११ पदकका लागि पाँच विद्यामा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र पाँच कास्य पदकसहित केपिलासगढी गाउँपालिका तेस्रो भएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने स्थानीय तहले क्रमश ः नगद रु नगद रु १५ हजार, रु १२ हजार र रु नौँ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी स्थानीय तह तथा खेलाडीलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई लगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको छ ।

फागुन–१५ गतेबाट शुरु भएको प्रतियोगितामा चार स्वर्ण, दुई रजत र चार कास्य पदकसहित ऐसेलुखर्क गाउँपालिका चौथो, दुई स्वर्ण, तीन रजत र चार कास्य पदकसहित खोटेहाङ गाउँपालिका पाँचौँ, दुई स्वर्ण, दुई रजत र एक कास्य पदकसहित दिप्रुङ चुइचुम्मा गाउँपालिका छैटौँ तथा दुई स्वर्ण, एक कास्य र एक रजत पदकसहित साकेला गाउँपालिका सातौँ भएका छन् । एक स्वर्ण, एक रजत र तीन कास्य पदकसहित बराहपोखरी गाउँपालिका आठौँ भएको छ भने, नवौँ स्थानमा चित्त बुझाएको रावाबेँसी गाउँपालिकाले एक स्वर्ण पदकमात्र हाँसिल गरेको आयोजक जिल्ला खेलकुद विकास समितिका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा जन्तेढुङ्गा गाउँपालिकामा सञ्चालित विद्यालयले भने सहभागिता जनाएका छैनन् । चार दिनसम्म सञ्चालन भएको जिल्लास्तरीय प्रतियोगितामा भलिबल, सितोरियो कराँते, तेक्वान्दो, कबड्डी र एथ्लेटिक्समा प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ ।

जिल्लास्तरीय प्रतियोगितामा छनोट भएका छात्रछात्रा खेलाडीलाई प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने आयोजक जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रेनुका राई (मगर)ले जानकारी दिनुभएको छ । एथलेटिक्समा २२, कबड्डी र भलिबलमा १८÷१८ तथा सितोरियो कराँते र तेक्वान्दोमा १२÷१२ जना छात्रछात्राले सहभागिता जनाउने छन् ।

प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडीसँगै संरक्षक, प्रशिक्षक र व्यवस्थापकसहित १११ जना पठाइने आयोजकले जनाएको छ । यद्यपि, प्रदेशस्तरीय छनोट प्रतियोगिताको टुङ्गो भने अहिलेसम्म लागेको छैन ।

जिल्लामा सञ्चालन हुने जिल्लास्तरीय छनोट प्रतियोगिताको लागि प्रदेश सरकारबाट प्राप्त हुने रु चार २० हजार रकम कम भएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी खेलाडीलाई स्थानीय तहहरुले खाने तथा बस्ने व्यवस्था मिलाएको थियो ।

१३ औँ सँस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले उचालेको थियो । गत वर्षको वैशाख–२ गते सम्पन्न १३ औँ सँस्करणको प्रतियोगितामा केपिलासगढी गाउँपालिकाले १६ स्वर्ण, ११ कास्य र १२ रजत पदकसहित प्रथम उपाधि उचालेको हो ।

तपाईको प्रतिक्रिया