चित्रकला प्रदर्शनीले अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको छ : प्रधानमन्त्री प्रचण्ड

Halesi Khabar
126 Shares

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवद्र्धन भएको बताउनुभएको छ । काठमाडौँमा सञ्चालित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ को आज औपचारिकरुपमा समापन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्वपूर्ण योगदान गरेको धारणा राख्नुभएको हो ।

“प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्छ, नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्वपूर्ण छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कलाकारिताका माध्यमबाट देशको प्रतिष्ठा बढाउन यहाँहरूले ठूलो योगदान गर्नुभएको छ ।”

नेपाल प्राकृतिकरूपमा सुन्दर र मौलिक नेपाली प्रकृति रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभया, “यहाँका हिमाल, नदीनाला, छहरा, जङ्गल सबै नै चित्रकलामय रहेको छ। यसलाई पारखीहरूबाट ठोस आकार दिएर जब चित्रकलामा रुपान्तरण गरिन्छ, त्यसले दिने सन्देश धेरै नै शक्तिशाली हुन्छ भन्ने मैले महसुस गरेको छु ।”

प्रधानमन्त्री प्रचण्डले कलाकारबाट देशको पहिचान र प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुगेको पनि बताउनुभयो । चित्रकला प्रदर्शनका लागि विश्वका कलाकारले तयार पारेका कलाले नेपालको भूगोल र संस्कृति एवं परम्परा चित्रमार्फत देखाइएको आफूले पाएको उहाँले बताउनुभएको छ ।

काठमाडौँको आर्ट काउन्सिलमा यही फागुन–५ गतेदेखि सुरु भएको प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका २१० बढी चित्र समावेश गरिएको आयोजकले जनाएका छन् । देश तथा विदेशमा समेत ख्यातिप्राप्त चित्रकारहरुले खोटाङको धार्मिक तथा पर्यटकीयस्थलहरु त्रिधार्मिकस्थल हलेसी, जन्तेढुङ्गा, भुलभुले दूधकुण्ड लगायतका ठाउँको क्यानभास चित्र उतारेका छन् ।

संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’लाई दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’कै अर्कोे श्रृङ्खलाको रुपमा आयोजना गरिएको छ । प्रदर्शनमा राखिएका चित्रलाई पुनः दिक्तेलमा लगेर सङ्ग्रहालय बनाएर राख्ने योजना बनाइएको छ”, उहाँले भन्नुभयो, “संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने काम गरेको छ । चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचित गराउन सफल भएका छौँ ।”

धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुका साथै जिल्लाको भौतिक विकास तथा धर्म, संस्कार, संस्कृति र रहनसहनका बारेमा चित्रकारहरुले क्यानभासमा उतारेका चित्रलाई प्रदर्शनीमा राखिएको नगरपालिकाले जनाएको छ । वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले जिल्लाका विभिन्न ठाउँमा बसेर क्यानभासमा उतारेका लाइभ क्यानभास चित्रलाई प्रदर्शनी कार्यक्रम सकिएपछि पुनः दिक्तेल ल्याएर सङ्ग्रहालयमा राख्ने तयारी गरिएको नगर उपप्रमुख विशन राईले बताउनुभएको छ ।

धनु आर्ट स्टुडियो काठमाडौँसँगको सहकार्यमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का क्रममा रु १८ लाख खर्च भएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाको आयोजनामा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ कार्यक्रमलाई जिल्लाका कतिपय स्थानीय बासिन्दाले भने अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै नगरपालिकाको आलोचना गरिरहेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया