१४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : खोटाङमा जिल्लास्तरीय छनोट खेल शुरु

Halesi Khabar
308 Shares

खोटाङ, १५ फागुन । १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत खोटाङमा जिल्लास्तरीय छनोट खेल शुरु भएको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा छ विद्यामा २३४ पदकका लागि आज (मङ्गलबार)देखि जिल्लास्तरीय छनोट खेल शुरु गरिएको हो ।

जिल्लास्तरीय छनोट प्रतियोगितामा जिल्लाका नौँ स्थानीय तहका विद्यालयमा अध्ययनरत छात्रछात्राको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभएको छ । दश स्थानीय तह रहेको जिल्लामा जन्तेढुङ्गा गाउँपालिकामा सञ्चालित विद्यालयले भने सहभागिता जनाएका छैनन् ।

तीन दिनसम्म चल्ने जिल्लास्तरीय छनोट प्रतियोगितामा भलिबल, सितोरियो कराँते, तेक्वान्दो, उसु र एथ्लेटिक्समा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा खोटेहाङ, केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी, बराहपोखरी र साकेला गाउँपालिकामा सञ्चालित माध्यमिक तहका विद्यालयमा अध्ययतरत छात्रछात्राको सहभागिता रहेको छ ।

जिल्लास्तरीय छनोट प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पानसमा बत्ती बालेर गर्नुभएको छ । जिल्लास्तरीय छनोट प्रतियोगिता अन्तरगत एथलेटिक्समा सबैभन्दा बढी २६ स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि प्रतिस्पर्धा हुने जनाइएको छ ।

कबड्डीमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, भलिबलमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, सितोरियो कराँतेमा १२ स्वर्ण, १२ रजत, २४ कास्य र तेक्वान्दोमा १२ स्वर्ण, १२ रजत, २४ कास्य तथा उसुमा १२ स्वर्ण, १२ रजत र २४ कास्य पदकका लागि प्रतिस्पर्धा हुने कार्यालय प्रमुख केसीले जानकारी दिनुभएको छ । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने स्थानीय तहले क्रमशः नगद रु १५ हजार, रु १२ हजार र रु नौँ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

जिल्लास्तरीय प्रतियोगितामा छनोट भएका छात्रछात्राले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाबाट एथलेटिक्समा २२, कबड्डी र भलिबलमा १८÷१८ तथा सितोरियो कराँते, उसु र तेक्वान्दोमा १२÷१२ जना छात्रछात्राले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति खोटाङका उपाध्यक्ष रेनुका राईले जानकारी दिनुभएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडीसँगै संरक्षक, प्रशिक्षक र व्यवस्थापकसहित १११ जना पठाइने आयोजकले जनाएको छ ।

यद्यपि, प्रदेशस्तरीय छनोट प्रतियोगिताको टुङ्गो भने अहिलेसम्म लागेको छैन । जिल्लामा सञ्चालन हुने जिल्लास्तरीय छनोट प्रतियोगिताको लागि प्रदेश सरकारबाट प्राप्त हुने रु चार २० हजार रकम कम भएको आयोजकले जनाएको छ ।

१३ औँ सँस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले उचालेको थियो । गत वैशाख–२ गते सम्पन्न १३ औँ सँस्करणको प्रतियोगितामा केपिलासगढी गाउँपालिकाले १६ स्वर्ण, ११ कास्य र १२ रजत पदकसहित प्रथम उपाधि उचालेको हो ।

प्रतियोगितामा छ स्वर्ण, दुई रजत र १२ कास्य पदकसहित साकेला गाउँपालिका दोस्रो, चार स्वर्ण, चार रजत र दश कास्य पदकसहित दिप्रुङ चुइचुम्म गाउँपालिका तेस्रो भएको थियो । यस्तै, दुई स्वर्ण, दुई रजत र एक कास्य पदकसहित ऐसेलुखर्क गाउँपालिका चौथो तथा दुई स्वर्ण र दुई रजत पदकसहित हलेसी तुवाचुङ गाउँपालिका पाँचौँ भएको थियो ।

तपाईको प्रतिक्रिया