सोल्मामा ‘अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता’ शुरु

Halesi Khabar
238 Shares

खोटाङ, १३ फागुन । सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको ‘अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८०’ शुरु भएको छ । जुनियर उमेर समूहका खेलाडीलाई लक्षित गर्दै आयोजना गरिएको अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको आफ्नै खेलमैदानमा आयोजना गरिएको हो ।

प्रतियोगिताका विजेता टिम (टोली)ले नगद रु एक लाख २२ हजार २२२, उपविजेता हुने टिमले रु ७१ हजार १११ तथा दुई सेमिफाइनलिष्ट टिमलाई प्रतिटिम रु ३५ हजार ५५५ प्रदान गरिने क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभएको छ । प्रतियोगिताका विजेता, उपविजेता तथा दुईवटा सेमिफाइनलिष्ट टिमलाई नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै, अनुशासित टिमलाई रु पाँच हजार ५५५ र बेष्ट प्लेयरलाई रु पाँच हजार ५५५ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका बेष्ट किपर, बेष्ट डिफेन्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र राइजिङ प्लेयरले जनही रु तीन हजार ३३३ प्रदान गरिने क्लबका सह–सचिव अमर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले आइतबार क्लबको लोगो (चिन्ह)सहितको बेलुन उडाएर उद्घाटन गर्नुभएको प्रतियोगितामा ७९ वडा रहेको खोटाङका १२ वडाले मात्र सहभागिता जनाएका छन् । आगामी फागुन–२० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टिममा ११ जना खेलाडी एकै वडाको हुनुपर्ने तथा जिल्लाभित्रका चार र तीनजना खुला रहने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।प्रतियोगितामा किर्ते खेलाडी भएको ठहर भए सो टिमलाई रु २५ हजार जरिवानासहित तीन वर्षसम्म जिल्लाभरी प्रतिबन्ध लगाउन फुटबल सङ्घलाई सिफारिस गर्ने क्लबले जनाएको छ । खेलमा सहभागी भएबापत हरेक टिमलाई प्रोत्साहन स्वरुप रु पाँच हजार, पहिलो चरणमा विजयी हुने टिमलाई थप रु चार हजार, दोश्रो चरणमा विजयी हुँदा थप रु पाँच हजार र तेश्रो चरणमा विजयी हुने टिमलाई थप रु छ हजार प्रदान गर्ने जनाइएको छ ।

साँस्कृतिक कार्यक्रमसहित उद्घाटन गरिएको प्रतियोगिता अन्तरगत भेट्रान्सतर्फको प्रतियोगितामा आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका विजयी भएका छन् । नेर्पा स्पोर्टस् क्लब नेर्पालाई १–० ले पराजित गर्दै सोल्मा र जिल्ला अस्पताल खोटाङलाई ३–० गोल अन्तरले पराजित गर्दै सोल्मा र नगरपालिकाले विजयी यात्रा शुरु गरेको हो ।

भेट्रान्स अन्तरगतका प्रतियोगितामा छ टिमले सहभागिता जनाएको र प्रतियोगितामा विजयीले नगद रु दश हजार तथा उपविजेताले रु पाँच हजारको साथमा मेडल प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । भेट्रान्स अन्तरगतको फाइनल खेल फागुन–१९ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।

अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तरगतको पहिलो खेल भने, सोमबार दिउँसोबाट शुरु हुने आयोजक समितिका सदस्य एवम् क्लबका सल्लाहकार गंगाबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ । सोमबार दुईवटा खेल हुने र पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र खोटेहाङ गाउँपालिका–६ इन्द्रणीपोखरीबीच बिहान ११ः३० मा सञ्चालन हुने जनाइएको छ ।

गाउँमा फुटबलको व्यवसायिक विकासमा टेवा पु¥याउने उद्देश्यकासाथ स्थानीय बासिन्दाको अग्रसरतामा सोल्मामा गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । जुनियर खेलाडी उत्पादन गर्ने र अवसर दिने लक्ष्यका साथ अण्डर–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिता समापनको दिन एकजना पत्रकारलाई रु पाँच हजार ५५५ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने जनाइएको छ ।  सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा समापन हुने कार्यक्रममा चर्चित गायिका अस्मिता अधिकारी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया