‘खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव’ आगामी वैशाखमा

Halesi Khabar
385 Shares

खोटाङ, १२ फागुन । लोकतन्त्र दिवसको अवसर पारेर खोटाङको दिक्तेलमा ‘बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गर्ने तयारी गरिएको छ । खेल सँस्कृतिको विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पु¥याउने लक्ष्यका साथ नेपाल खेलकुद प्रतिष्ठान खोटाङले वि.सं. २०८१ वैशाख–११ गतेदेखि वैशाख–२२ गतेसम्म बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव आयोजना गर्ने तयारी गरेको हो ।

आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङले शनिबार साँझ दिक्तेलको रुपाकोट होटलमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय कराँते प्रतियोगिता, खुला म्याराथन, विभिन्न उमेर समूहको दौड, साहित्यिक तथा साँगीतिक लगायतका प्रतियोगिता समेटिएको महोत्सव गर्न लागेको जनाएको छ । नेपाल कराँते महासङ्घ खोटाङको संयोजन र नेपाल सितोरियो कराँते सङ्घ खोटाङको व्यवस्थापनमा करिब रु ५० लाख खर्च हुने महोत्सवको तयारी गरिएको प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ ।

प्रतिष्ठानका अनुसार आगामी वैशाख–१५ गतेदेखि १७ गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ । कराँतेमा सातवटै प्रदेशसहित गोजुरियो, सोतोकान, वादोरियो र आयोजकले प्रतिष्पर्धा गर्ने जानकारी दिइएको छ । यस्तै, वैशाख–११ गतेदेखि महिला÷पुरुष खुला म्याराथन प्रतियोगिता गरिने जनाइएको छ ।

खुला म्याराथनमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार प्रदान गरिने छ । यस्तै, १२ वर्षदेखि १४ वर्ष उमेर समूहको ३ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीलाई क्रमशः रु सात हजार, रु छ हजार र रुपाँच हजार प्रदान गरिनेछ ।

१४ वर्षदेखि १६ वर्ष उमेर समूह (महिला÷पुरुष)को ५ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीले क्रमशः रु दश हजार, रु सात हजार र रु पाँच हजार पाउने छन् । यस्तै, १६ वर्षदेखि १८ वर्ष उमेर समूह (महिला÷पुरुष)को १० किलोमिटर दौड प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः रु १५ हजार, रु दश हजार र रु सात हजार प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।

राजनीतिक दलका नेता, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी र शिक्षकको ५ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः रु १५ हजार, रु दश हजार र रु सात हजार प्रदान गरिने जनाइएको छ । यस्तै, वैशाख–२२ गते हुने साहित्यिक प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने श्रष्टालाई क्रमशः रु ३० हजार, रु २५ हजार र रु२० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै, साहित्यतर्फ चौथो र पाँचौँ हुने श्रष्टालाई क्रमशः रु १५ हजार र रु दश हजार प्रदान गरिने व्यवस्थापनको जिम्मा लिएको नेपाल सितोरियो कराँते सङ्घका सचिव मोतिचन्द्र राईले जानकारी दिनुभएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, आगामी १५ वर्षभित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यका साथ खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सवको तयारी गरिएको आयोजकले जनाएको छ ।

कराँते प्रतियोगिताका लागि अनुमानित रु ३५ लाख, एथ्लेटिक्स (म्याराथन र समूहगत दौड)मा रु दश लाख र साहित्यिक प्रतियोगितामा रु दश लाख खर्च हुने जानकारी दिइएको छ । जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसमेत सहभागी पत्रकार सम्मेलनमा नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजुले खेलकुदको क्षेत्रमा खोटाङले हालसम्म हासिल गरेको उपलब्धीसमेत प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया