लोपोन्मुख सामग्री संरक्षण गर्न जालपामा साँस्कृतिक सङ्ग्रहालय

Halesi Khabar
140 Shares

खोटाङ, ८ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा साँस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । बाजे पुर्खाको पालामा प्रयोग भएका पुराना घरेलु सामग्री सङ्कलन गरेर जालपामा साँस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको हो ।

तत्कालीन गाउँ विकास समिति (गाविस) भवनको सभाहलमा स्थापना गरिएको सङ्ग्रहालयमा करिब २०० वर्ष पुरानो र त्यस यताका गरी २०० बढी घरेलु सामग्री राखिएको जालपाका वडाध्यक्ष दानबहादुर राईले जानकारी दिनुभएको छ । सङ्ग्रहालयमा ध्वासो लागेको अवस्थाका छालाको थैली, काठको दूध चलाउने डाडु, बेतको भुने, आरानमा आगो फुक्न प्रयोग हुने भाँटी, जाँतो, काठको दियो (वत्ती), काठको माना, भाला, धनुषवाण, तरवार, काठको मुखुण्डो, कोक्रो, ढाकर, जाल, ठकौली, ढडिया, दुधेरी, चर्खा, हतासो, रासी, थुरी लगायतका सामग्रीहरु राखिएका छन् ।

साँस्कृतिक सङ्ग्राहलयमा राखिएका हरेक सामग्रीमा सौजन्य र प्रयोग गर्नेको नाम लेखेर टाँसिएको छ । पुरानो सामग्री प्रयोगकर्तामा मृत्यु भइसकेका व्यक्तिका नामसमेत उल्लेख गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

सङ्ग्रहालयमा काठको पन्यु, काठको चम्चा, काठे गिलास, हर्पे, ठेका, दाविलो, डोको, नाङलो, ओख्ली, लोहोरो, हलो, फुर्लुङ, मुढा, कोक्रो, डोको, थुन्चे, तोलङ, ओख्ली, नाङ्लो, दाप, फिपी, घुर्रा, मदानी, ठेका, जुवा, हल्लुड, सोईला, फिर्के, दाबिलो, खरेटो, चिम्टा, हँसिया, कचिया, सिलौटा, लोहोरो, कर्द लगायतका घरायसी सामग्रीहरु सङ्ग्रहित गरिएका छन् । सङ्ग्रहालय स्थापनाका लागि वडा कार्यालयले गाउँभरिका स्थानीय बासिन्दाले प्रयोग गर्दै आएका पुराना घरेलु सामग्रीहरु सङ्कलन गरेको हो ।

सङ्ग्रहालयमा लोपोन्मुख सामग्री थप गर्दै लगिने वडाध्यक्ष राईले जानकारी दिनुभएको छ । “हाम्रा पुर्खाहरुले आफ्नो जीवनकालमा प्रयोग गरेका ऐतिहासिक सामग्रीलाई सङ्कलन र संरक्षण गर्दै नयाँ पुस्तालाई जानकारी दिने लक्ष्यका साथ संग्रहालय स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो, “यी सामग्रीहरु हाम्रो इतिहास हो, इतिहास अध्ययन गर्ने प्रमाण पनि हो । सङ्ग्रहालयमार्फत गाउँलाई अध्ययन, भ्रमण र अवलोकनका लागि योग्यस्थल बनाउने र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौँ ।”

सङ्ग्रहालयका लागि स्थानीयले ऐतिहासिक सामग्री निःशुल्क उपलब्ध गराएको जनाइएको छ । नगर उपप्रमुख विशन राईले औपचारिक रुपमा यही फागुन–६ गते उद्घाटन गर्नुभएको सङ्ग्राहलय अवलोकनका लागि काठमाडौँका एउटा विद्यालयले शैक्षिक भ्रमण आउने भनिसकेको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ ।

उता, ऐसेलुखर्क गाउँपालिकास्थित रिब्दुङ महेश्वरीमा किरात सङ्ग्रहालय निर्माणाधीन अवस्थामा छ । नेपालकै इतिहासमा पहिलो पटक महेश्वरीमा निर्माण शुरु गरिएको सङ्ग्रहालयप्रति देश–विदेशमा रहेका किरातीहरुको ध्यान केन्द्रीत भएको छ ।

किरात राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीप जस्ता बहुमुल्य सम्पदालाई संकलन र संरक्षण गर्ने उदेश्यले सङ्ग्रहालय भवन शुरु गरिएको निर्माण समितिको संयोजक खुक्सङ खम्बुले बताउनुभएको छ । सङ्ग्रहालयको विकास गरी किरात अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने र पर्यटनमा समेत टेवा पु¥याउने गरी दीर्घकालीन योजना तय गरिएको जनाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गामा निर्माणाधीन आदिवासी जनजाति सङ्ग्रहालय भवन खण्डहर बनेको छ । तत्कालीन जिल्ला विकास समितिको आर्थिक सहयोगमा निर्माणाधीन सङ्ग्रहालय भवन निर्माणका लागि गठन गरिएको उपभोक्ता समितिमा राजनीतिक दल संलग्न भएको र उक्त उपभोक्ता समितिले आर्थिक अनियमितता गरेपछि खण्डहर बनेको हो ।

भवन निर्माण उपभोक्ता समितिकै अध्यक्षको संलग्नतामा रकम अनियमितता भएपछि कारबाहीको माग गर्दै अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेकाले थप रकम छुट्टयाउन नमिल्दा भवन नबन्ने निश्चित भएको छ । सङ्ग्राहलय भवन निर्माणमा किर्ते हस्ताक्षर गरी रकम निकासा गरेको भन्दै उपभोक्ता समितिका कोषाध्यक्ष रामकमारी राईले उजरी दिनुभएको हो ।

सङ्ग्राहलय भवन निर्माण उपभोक्ता समितिको दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको चल्ती खाता नम्बर २५८३ को रकम किर्ते गरी पटक–पटक गरी रु १३ लाख ८३ हजार निकासा भएको पाइएको थियो । बैङ्कको स्टेटमेन्टमा वि.सं. २०६७ साउनद्द३१ गते रु दुई लाख ५० हजार, असोज–२१ गते रु तीन लाख, चैत–१ गते रु एक लाख ८० हजार र २० गते रु ८३ हजार निकासा गरेको पाइएको हो ।

भवन नबन्ने निश्चित भएपछि उपभोक्ता समितिको चौतर्फी आलोचना भएको छ । निर्माणाधिन सङ्ग्राहलयमा जिल्लामा बसोवास गर्ने आदिवासी जनजातिहरुको पुर्खाहरुले आदिम कालमा प्रयोग गरेका, चलाएका, लगाएका हातहतियार, लुगाफाटा, गरगहना, बाजागाजा लगायतका सामाग्री राख्ने लक्ष्य राखिएको थियो ।

तपाईको प्रतिक्रिया