बाक्सिला गोल्डकपको उपाधि भगवती स्पोर्टस् क्लब खोटाङबजारको पोल्टामा

Halesi Khabar
259 Shares

खोटाङ, ६ फागुन । १२ औँ संस्करणको ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि भगवती स्पार्टस् क्लब खोटाङबजारले उचालेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा आयोजक बाक्सिला फुटबल क्लब बाक्सिला ‘ब्ल्यु’लाई ट्राईब्रेकरमा ४–५ गोल अन्तरले हराउँदै भगवती स्पार्टस क्लब खोटाङबजारले १२ औँ संस्करणका उपाधि चुमेको हो ।

निर्धारित समयमा दुवै पक्षको एक÷एक गोल भएपछि ट्राईब्रेकरमार्फत उपाधिको छिनोफानो गरिएको आयोजक बाक्सिला फुटबल क्लबका अध्यक्ष शिवकुमार राईले जानकारी दिनुभयो । जिल्लाको प्रतिष्ठित एवम् जेठ फुटबल क्लब बाक्लिसाल फुटबल क्लबले आयोजना प्रतियोगितका उपाधि विजेता भगवती स्पार्टस क्लब खोटाङबजारले नगद रु दुई लाख ५५ हजार २१२ को साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

आठवटा क्लबको सहभागिता रहेको प्रतियोगिताका उपविजेता आयोजक बाक्सिला फुटबल क्लब बाक्सिला ‘ब्ल्यु’ले नगद रु एक लाख २८ हजार तथा सेमिफाइनलिस्ट दुईवटा मिटले नगद रु ६०÷६० हजार प्राप्त गरेका छन् । प्रतियोगितामा खारम्बु स्पार्टस् क्लब खार्मी र नेर्पा स्पार्टस क्लब नेर्पाले सेमिफाइनलिस्टमा चित्त बुझाएका छन् ।

प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट खोटाङबजारका १६ वर्षीय खेलाडी रोहन परियार, हाईस्कोरर बाक्सिला फुटबल क्लबका बिकी चाम्लिङ, बेस्ट डिफेन्डर बाक्सिला फुटबल क्लबकै निरज खड्का र बेस्ट मिडफिल्डर बाक्लिा फुटबल क्लबकै उमेश कार्कीले घोषित भएका छन् । यस्तै, बेस्ट फरवार्ड खोटाङबजारका श्रीकृष्ण श्रेष्ठ, बेस्ट गोलकिपर बाक्सिला फुटबल क्लब बाक्सिलाका प्रमित गच्छादार र बेस्ट कोच खोटाङबजारका खेलाडी विनोद तिरुवा घोषित हुनुभएको आयोजकले जनाएको छ ।

विद्यागत पुरस्कृत भएकामध्ये प्लेयर अफ द टुर्नामेन्ट र हाईस्कोररलाई नगद रु सात÷सात हजार तथा बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, बेस्ट गोलकिपर र बेस्ट कोचलाई नगद रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । मोफसलमा फुटबलको व्यवसायिक विकासका लागि बिगत १९ वर्षअघि शुरु गरिएको बाक्सिला गोल्डकपको १२ औँ संस्करणको प्रतियोगिताका विजेता टिक तथा खेलाडीलाई एन्फाका कोशी प्रदेश अध्यक्ष एवम् केन्द्रीय मानार्थ अध्यक्ष किरण राई र केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईले पुरस्कार प्रदान गर्नुभएको छ ।

प्रतियोगिताको पहिलो खेलमा पराजित भएर बाहिरिने टिमलाई सेवासुविधा बापत नगद रु ३० हजार र दोस्रो खेलमा पुगेर पराजय बेहोर्ने टिमलाई प्रतिटिम नगद रु ६० हजार प्रदान गरिएको क्लबका सचिव पवन श्रेष्ठले जानकारी दिनुभएको छ । गत फागुन–२ गतेबाट शुरु भएको प्रतियोगिता नकआउट विधिबाट सञ्चालन गरिएको हो ।

प्रतियोगितामा जिल्ला फुटबल सङ्घमा आवद्ध क्लबहरुलाई पहिलो प्राथमिकतामा राखेर सहभागी गराइएको आयोजकले जनाएको छ । चन्दाकैभरमा प्रतियोगिता सञ्चालन गर्दै आएको फुटबल क्लबले यसपल्ट पनि शुभेच्छुकको साथ र सहयोगमा १२ औँ संस्करणको गोल्डकप प्रतियोगिता आयोजना गरेको हो ।

वि.सं. २०६१ सालमा स्थापना गरिएको बाक्सिला फुटबल क्लबले जिल्लामा फुटबल खेलको व्यवसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि स्थापनाकै वर्षदेखि नै गोल्डकप सञ्चालन गर्दै आएको छ । गोल्डकपको ११ औँ संस्करण आयोजक बाक्सिला क्लब बाक्सिला आफैले जितेको थियो ।

तपाईको प्रतिक्रिया