पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न ‘मुन्दुम’ अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

Halesi Khabar
980 Shares

खोटाङ, ५ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ शुरु गरेको छ । स्वदेसी तथा विदेशी चित्रकारलाई सहभागी गराएर गत असोज–१७ गतेदेखि २१ गतेसम्म दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’मा कोरिएका २०१ वटा क्यानभास चित्रलाई नगरपालिकाले शनिबारदेखि काठमाडौँको नेपाल कला परिषद, बबरमहलमा प्रदर्शनी शुरु गरेको हो ।

आगामी फागुन–१७ गतेसम्म जारी रहने चित्रकला प्रदर्शनी कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको छ । राष्ट्रपति पौडेलले क्यानभासमा चित्र कोर्नुका साथै पानसमा बत्ती बालेर अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको हो ।

संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’लाई दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’कै अर्कोे श्रृङ्खलाको रुपमा आयोजना गरिएको छ । प्रदर्शनमा राखिएका चित्रलाई पुनः दिक्तेलमा लगेर सङ्ग्रहालय बनाएर राख्ने योजना बनाइएको छ”, उहाँले भन्नुभयो, “संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने काम गरेको छ । चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचित गराउन सफल भएका छौँ ।”

प्रदर्शनी कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको शुभकामना दिनुहुँदै मन्त्री किरातीले अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमले नगरपालिकालाई मात्र नभइ सिङ्गो खोटाङलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएको बताउनुभयो ।

दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वाचोक र शुभम् फाउण्डेसनमा पुगेर उतारेका क्यानभास चित्रलाई प्रदर्शनमा राखिएको छ । दिक्तेलमा आयोजना गरिएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका चित्रलाई प्रदर्शनमा राखिएको हो ।

स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले जिल्लाका विभिन्न ठाउँमा बसेर क्यानभासमा उतारेका लाइभ चित्रकलालाई काठमाडौँमा ल्याएर प्रदर्शनी गरिएको नगर उपप्रमुख विशन राईले बताउनुभएको छ । “स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरु हाम्रो नगरपालिकाको सम्पत्ति हो । ख्यातिप्राप्त चित्रकारले प्रत्यक्ष कोरेका यी चित्रहरु नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बनाउने योजना छ”, उहाँले भन्नुभयो, “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले एउटा ईतिहास निर्माण गरेका छौँ । आगामी दिनमा यो नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बन्नेछ ।”

नगरपालिकाले पहिलो चरणको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का क्रममा रु १८ लाख खर्च गरेको जानकारी दिएको छ । जिल्लाका कतिपय स्थानीय बासिन्दाले भने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ कार्यक्रमलाई अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै नगरपालिकाको आलोचना गरिरहेका छन् ।

स्वदेस तथा विदेशका ख्यातीप्राप्त चित्रकारको उपस्थितिले जिल्लाका चित्रकलामा रुची राख्ने प्रतिभालाई उर्जा मिलेको, चित्रकला सम्बन्धी ज्ञान आर्जन भएको, विदेशी चित्रकारको मानसपटलमा नगरपालिकाको छाप बस्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको, जिल्लाको संस्कार, संस्कृति र सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गर्न योगदान पुगेको, कला र संस्कृतिको प्रवद्र्धनमा टेवा पुगेको नागरपालिकाको दाबी छ । मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम उद्घाटनको अवसरमा विभिन्न जातजातिको साँस्कृति झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रमा समग्र खोटाङको तस्वीर झल्किएको पाइएको प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राई “पासाङ’ले बताउनुभएको छ । “चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमले नगरपालिकाको मात्र नभइ समग्र खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउँदै यहाँको सँस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुगेको छ”, उहाँले भन्नुभयो, “नेपालसहित १४ देशबाट आएका ख्यातिप्राप्त चित्रकारहरुले समग्र खोटाङको चित्र कोरेका छन् । यसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सफल भएका छ ।”

बबरमहलमा आयोजित चित्रकला प्रदर्शनी कार्यक्रमको पहिलो दिन राष्ट्रपति पौडेल, मन्त्री किराती, उच्च पदस्त व्यक्तिहरु, विभिन्न देशका चित्रकार, विभिन्न क्याम्पसका प्राध्यापक, विद्यार्थी, जिल्लाबासी लगायत हजारौँले अवलोकन गरेको नगरपालिकाले जनाएको छ । प्रदर्शनी कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।

प्रदर्शनीमा जिल्लास्थित दशवटै स्थानीय तहका धार्मिक, साँस्कृतिक तथा पर्यटकीयस्थलका तस्वीरहरु राखिएका छन् । तेह्र दिनसम्म जारी रहने प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, सरकारी उच्च पदस्त व्यक्तिहरु लगायतलाई निम्तो दिइएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया