बैङ्किङ कसुर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी प्रकरण : आरोपितलाई धमाधम पक्राउ गर्दै प्रहरी

Halesi Khabar
2.4k Shares

खोटाङ, ३ फागुन । जिल्ला प्रहरी कार्यालय खोटाङले बैङ्किङ कसुर तथा वैदेशिक रोजगार सम्बन्धी ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको छ । विभिन्न समयमा विभिन्न बहाना बनाएर लिएको रकम नतिर्ने तथा विदेश पठाइदिन्छु भन्दै रकम लिएर विदेश नपठाउने व्यक्तिलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो ।

बैङ्किङ कसुर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाका पीडक पक्राउ अभियान शुरु गरिएको महिना दिनमै सातजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ । “पीडितले दिएको जाहेरीको आधारमा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ । उनीहरुले पीडितबाट रु एक लाख २५ हजारदेखि रु ३५ लाख २५ हजारसम्म ठगी गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये केहीले सम्बन्धित व्यक्तिलाई आफूले लिएको पैसाको साँवा÷व्याज फिर्ता गरेका छन् । फिर्ता गर्न नसकेकालाई पुर्पक्षका लागि जिल्ला कारागार पठाउनेछौँ ।”

गत पुस–१७ गतेदेखि माघ मसान्तसम्ममा विभिन्न ठाउँबाट पक्राउ परेका सबैजनालाई जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको जनाइएको छ । पक्राउ पर्नेमा बैङ्किङ कसुरसम्बन्धी ठगीमा छजना र वैदेशिक रोजगारसम्बन्धी एकजना रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिनुभएको छ ।

बैङ्किङ कसुरसम्बन्धी ललितपुर महानगरपालिका–१४ थसीखेल निवासी सुनिता खड्कालाई गत पुस–१७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । खड्काले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी निर्मला भुजेलको रु ३५ लाख २५ हजार रकम विभिन्न बहानामा ठगी गरेको पाइएको छ ।

खड्काले आफूले लिएको रकम फिर्ता गर्न तथा धरौटी रकम बुझाउ नसकेपछि माघ–३ गते पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ । सस्तोमा घडेरी दिलाइदिन्छु भन्दै ठगी गर्ने खड्कालाई अदालतले रु दश लाख धरौटी तोकेको छ ।

यस्तै, युवराज बस्नेतको जाहेरीले गत माघ–९ गते काठमाडौँ महानगरपालिका–७ काठमाडौँबाट पक्राउ परेका कल्याण खत्रीलाई बैङ्किङ कसुरसम्बन्धीकै अर्को मुद्दामा बिहीबार गौशाला पठाइएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ । आरोपित कल्याणले बस्नेतको रु चार लाख २० हजार रकम लिएर फिर्ता नगरेको जनाइएको छ ।

बस्नेतकै जाहेरीको आधारमा कल्याणका बुबा मोहनकुमार खत्रीसमेत प्रहरीले पक्राउ गरेको छ । गत माघ–११ गते नवलपारासीको सुनवल नगरपालिका–१२ भूमहीबाट पक्राउ परेका मोहनकुमारले विभिन्न समयमा विभिन्न व्यक्तिबाट रु तीन करोड ४० लाख रकम लिएर फिर्ता नगरेको समाचार स्रोतको दाबी छ ।

दिक्तेलस्थित प्रहरी हिरासतमा रहेका मोहनकुमारलाई जिल्ला अदालत खोटाङको प्रक्रिया पूरा गरेर झापाको बिर्तामोड पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । मोहनकुमारबिरुद्ध बिर्तामोडबाट ठगी मुद्दासम्बन्धी नै पक्राउ पुर्जी आएको जनाइएको छ ।

पक्राउ परेकामध्ये मोरङको बेलबारी नगरपालिका–१ बेलबारीका सुवास न्यौपाने र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ छोरम्बुस्थित याङ्सोलाका चण्डीकुमार राईले रकम फिर्ता गरेको प्रनाउ खड्काले जानकारी दिनुभयो । खगेन्द्र राईको जाहेरीले गत पुस–१९ गते पक्राउ परेका न्यौपानेले रु १५ लाख तथा समिर राईको जाहेरीले माघ–१६ गते पक्राउ परेका चण्डीकुमारले रु एक लाख २५ हजार रकम फिर्ता गरेका हुन् ।

यस्तै, युवराज आचार्यको जाहेरीले गत माघ–२७ गते पक्राउ परेका सिन्धुली जिल्लाको दूधौली नगरपालिका–११ राजावास बस्ने उपेन्द्र साह सुरीले रु दुई लाख ३४ हजार ५५० ठगी गरेको जनाइएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारसम्बन्धीको ठगी मुद्दामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित तालखर्क घर भइ भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्दै आएका प्रेम पुरी पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका इन्द्रबहादुर खड्का ‘माइकल’सहित छजनाको जाहेरीमा गत माघ–२१ गते पक्राउ परेका पुरीले रु आठ लाख ९५ हजार ठगी गरेको आरोप छ ।

विभिन्न समयमा विभिन्न देश पठाइदिन्छु भन्दै धरौटीबापत लिएको रकम फिर्ता नगरेपछि काबाहीको लागि प्रहरीमा उजुरी दिएको माइकले बताउनुभएको छ । पक्राउ परेका पुरीलाई हिरासतमा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी वैदेशिक रोजगारसम्बन्धी ठगीका घटना बढी रहेको पाइएको छ । विदेश पठाउने नाममा ठगी गर्ने एजेन्ट जिल्ला बाहिरका हुँदा ठगी बापतको रकम फिर्ता गराउन समस्या हुने गरेको सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोषकुमार राईले जानकारी दिनुभएको छ ।

यसैबीच, फरार प्रतिवादी पक्राउ अभियान शुरु गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले गत साउनदेखि हालसम्म ९८ जनालाई पक्राउ गरिसकेको जनाइएको छ । अभियानका क्रममा ३० वर्षअघिदेखि फरार रहेका प्रतिवादीसमेत पक्राउ गरिएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ ।

 

तपाईको प्रतिक्रिया