बाक्सिला गोल्डकपको १२ औँ संस्करण : नेर्पा स्पोर्टस क्लब नेर्पाको विजयी यात्रा शुरु

Halesi Khabar
329 Shares

खोटाङ, २ फागुन । जिल्लाको सबैभन्दा ज्येष्ठ तथा प्रतिष्ठित फुटबल प्रतियोगिता ‘बाक्सिला गोल्डकप’को १२ औँ संस्करण अन्तरगत बुधबारबाट शुरु भएको प्रतियोगितामा नेर्पा स्पार्टस क्लब नेर्पाले विजयी यात्रा शुरु गरेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको पहिलो दिनको प्रतियोगितामा बाहुनीडाँडा फुटबल क्लब बाहुनीडाँडा खोटाङलाई ट्राईब्रेकरमा ४–५ गोल अन्तरले हराउँदै नेर्पा स्पार्टस क्लब नेर्पाले विजयी यात्रा शुरु गरेको हो ।

निर्धारित समयमा दुवै पक्षको गोल हुन नसकेपछि ट्राईब्रेकरमार्फत छिनोफानो गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेर्पा स्पार्टस क्लब नेर्पाका गोल रक्षक नवीन पोखरेल म्यान अफ दि म्याच घोषित हुनुभएको छ ।

समूह चरणको दोस्रो खेल भोलि फागुन–३ गते दिउँसो १ः३० बजे खारम्बु स्पोर्टस क्लब खार्मी र कटारी फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुने जनाइएको छ । फागुन–४ गते दिउँसो १ बजे बाँझे स्पोर्टस क्लब र बाक्सिला फुटबल क्लब (ब्लु) तथा फागुन–४ गते दिउँसो ३ बजे भगवती स्पोर्टस क्लब खोटाङबजार र बाक्सिला फुटबल क्लब (रेड)बीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिम (टोली) लाई नगद रु दुई लाख ५५ हजार २१२ को साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक बाक्सिला फुटबल क्लबका अध्यक्ष शिवकुमार राईले जानकारी दिनुभएको छ । आठवटा क्लबको मात्र सहभागिता रहेको प्रतियोगिताका उपविजेताले नगद रु एक लाख २८ हजार तथा सेमिफाइनलिस्ट दुईवटा मिटले नगद रु ६०÷६० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट र हाईस्कोररले नगद रु सात÷सात हजार, बेस्ट डिफेन्डर र बेस्ट मिडफिल्डरले जनही नगद रु पाँच हजार ११२ तथा बेस्ट फरवार्ड र बेस्ट गोलकिपरले नगद जनही रु पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने जनाइएको छ । मोफसलमा फुटबलको व्यवसायिक विकासका लागि बिगत १९ वर्षअघि शुरु गरिएको बाक्सिला गोल्डकपको १२ औँ संस्करणको प्रतियोगिता केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईले औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।

फागुन–६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समापन एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईले गर्नुहुने जनाइएको छ । प्रतियोगिता नकआउट विधिबाट सञ्चालन गरिएको क्लबका सचिव पवन श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको पहिलो खेलमा पराजित भएर बाहिरिने टिमलाई सेवासुविधा बापत नगद रु ३० हजार र दोस्रो खेलमा पुगेर पराजय बेहोर्ने टिमलाई प्रतिटिम नगद रु ६० हजार प्रदान गरिने जनाइएको छ । आयोजकले जिल्लामा व्यवसायिक रुपमा फुटबल खेलिरहेका खेलाडीलाई प्राथमिकतामा राखेर गोल्डकपको आयोजना गरेको हो ।

प्रतियोगितामा जिल्ला फुटबल सङ्घमा आवद्ध क्लबहरुलाई पहिलो प्राथमिकतामा राखेर सहभागी गराइएको आयोजकले जनाएको छ । चन्दाकैभरमा प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले यसपल्ट पनि शुभेच्छुकको साथ र सहयोगमा १२ औँ संस्करणको गोल्डकप प्रतियोगिता आयोजना गरेको हो ।

वि.सं. २०६१ सालमा स्थापना गरिएको बाक्सिला फुटबल क्लबले जिल्लामा फुटबल खेलको व्यवसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि स्थापनाकै वर्षदेखि नै गोल्डकप सञ्चालन गर्दै आएको छ । गोल्डकपको ११ औँ संस्करण आयोजक बाक्सिला क्लब बाक्सिला आफैले जितेको थियो ।

तपाईको प्रतिक्रिया