धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिको काम तीव्र गतिमा

Halesi Khabar
126 Shares

खोटाङ, २ फागुन । बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजना अन्तरगत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नतिको काम थालिएको हो ।

प्रदेश सरकार र गाउँपालिकाको ५०÷५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम शुरु गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो । बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा पर्ने दुवै सडकखण्डमा ग्याविन (तारजाली प्रयोग गरेर निर्माण गरिने पर्खाल), मेसीनरी वाल (सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर निर्माण गरिने पर्खाल), ड्रेन निर्माण, आरसिसी ढलान, ग्राभेल, माटो फिलिङ लगायतका काम भइरहेको छ ।

डिजिएस÷देउपुर÷जेविटीएम जेभी, काभ्रेपलाञ्चोकले ठेक्का लिएको धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरासम्मको सडक स्तरोन्नतिको काम ६२ प्रतिशत सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । वि.सं. २०८१ वैशाख मसान्तसम्ममा सक्नेगरी उक्त ठेकेदार कम्पनीले गत पुस–८ गते सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो ।

मूल्य अभिवृद्धि करसहित रु एक करोड ७२ लाख ४१ हजार २४४ मा कार्यदेश लिएको ठेकेदार कम्पनीले रनिङ बिलमार्फत गत माघ–१५ गते रु एक करोड छ लाख ९७ हजार ६२३ भुक्तानी लिइसकेको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिनुभएको छ । सो सडकखण्डमा दुई हजार ५०८ घनमिटर माटो कटिङ, ४३.३८ घनमिटर ब्रेकर, ३१३.२३ घनमिटर ढुङ्गा सोलिङ, ६८४ घनमिटर ग्याविन वाल, १६० मिटर ढलान लगायतका काम गर्ने सम्झौतामा उल्लेख छ ।

ढलानको काम भइरहेको यो सडकखण्ड यही फागुन मसान्तभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको स्थानीयस्तरमा निर्माणको जिम्मा लिएको सुन्तले कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. बराहपोखरीका प्रबन्ध निर्देशक कृष्णप्रसाद बञ्जराले जानकारी दिनुभयो । “ढलानको काम तीन दिनभित्रमा सम्पन्न हुन्छ । ग्राभेल ५४ घरटिरमात्र बाँकी छ । ६६४.१५ घनटिर वालको काम गर्नपुर्नेमा ३० घनमिटर बाँकी छ । करिब ७० जना कामदार छन्”, उहाँले भन्नुभयो, “समग्रमा ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । फिनिसिङको काम सम्पन्न गरेर यही फागुन मसान्तभित्र फरफारक गर्ने योजनामा छौँ ।”

यस्तै, सङ्घीय सरकारसँगको लागत साझेदारीमा शुरु गरिएको सोही सडकको चेकेथुमखण्ड स्तरोन्नतिको काम ९० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । मूल्य अभिवृद्धि करसहित रु ७७ लाख ११ हजार ९४० मा सक्नेगरी खोटाङकै शान्ति भूमि कन्स्ट्रक्सन प्रा.लि.ले चेकेथुमखण्डको सडक स्तरोन्नतिको ठेक्का लिएको हो ।

वि.सं. २०८० वैशाख मसान्तसम्ममा सक्नेगरी गत मङ्सिर–२२ गते ठेक्का सम्झौता गरिएको सडक फागुनभित्रै सम्पन्न गर्ने योजनामा रहेको ठेकेदार कम्पनीले जनाएको छ । निर्माणाधीन दुवै खण्डको सडक तोकिएको मितिमा सम्पन्न गर्न तथा गुणस्तर निर्धारणमा खबरदारी गर्ने काम भइरहेको गाउँपालिकाका उपप्रमुख एवम् अनुगमन समितिका संयोजक भूबलराज राईले बताउनुभएको छ ।

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिको काम गरिएपनि सुनकोशीस्थित धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न नहुँदा तराईसँगको सिधा यातायात सञ्चालन हुन सकेको छैन । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको काम रोकेर सात वर्षपछि डिजाइन (ढाँचा) परिवर्तन गरेर पुनः निर्माणको काम थालिएको छ ।

वि.स.ं २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्नेगरी वि.स.ं २०७३ असार–३० गते रसुवा–एसएनएस–पप्पु जेभी निर्माण कम्पनीले धाप्लाङघाट पुल निर्माणको जिम्मा लिएको थियो । वेल फाउन्डेसन प्रविधिको मोटरेबल पुल निर्माण शुरु गरिएको धाप्लाङघाटमा ढाँचा परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण शुरु गरिएको हो ।

भ्याटबाहेक रु २२ करोड ५० लाखमा सम्पन्न गर्नेगरी सम्झौता गरिएको पुलको दुईवटा पिलर तथा बीच भागमा एउटा वेलमात्र निर्माण गरिएको छ । ठेक्का सम्झौता भएको सात वर्षपछि डिजाइन परिवर्तन गरिएको पुलको लम्बाई २०० मिटर लामो छ ।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाहीले तोकिएको समयमा मोटरेबल पक्की पुल नबन्दा दुई जिल्लाबीचको सिधा यातायात सञ्चालन हुन सकेको छैन । धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण नहुँदा सवारीसाधनमा करिब एक दिनको यात्रापछि गाईघाट पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

धाप्लाङघाटबाट उदयपुरको बेल्टार आधा घण्टा तथा गाईघाट डेढ घण्टामा पुग्ने गरिएको छ । लामो समयसम्म अलपत्र अवस्थामा रहेको धाप्लाङघाटको मोटरेबल पक्की पुल चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया