२९ औँ जनयुद्ध दिवस : शहीद शीर्षकको कविता प्रतियोगितामा सुशिला तिम्सिना प्रथम

Halesi Khabar
5.7k Shares

खोटाङ, १ फागुन । दिक्तेलमा सम्पन्न खुला कविता प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी सुशिला तिम्सिना प्रथम हुनुभएको छ । २९ औँ जनयुद्ध दिवसको अवसर पारेर ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’ खोटाङले मङ्गलबार दिक्तेलमा आयोजना गरेको ‘शहीद शीर्षक’को खुला कविता प्रतियोगितामा १४ जना प्रतियोगीलाई पछि पार्दै तिम्सिनाले प्रथम उपाधि जित्नुभएको हो ।

दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी हमिता विश्वकर्मा द्धितीय र दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ज्ञानदीप चाम्लिङ तृतीय हुनुभएको छ । प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका धनिराम राई र सोही नगरपालिका–२ सोल्माका अमर श्रेष्ठ सान्त्वना हुनुभएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने कवि तथा कवयत्रीलाई क्रमशः नगद रु सात हजार, रु पाँच हजार, रु तीन हजार र रु एक हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजक दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेश राईले जानकारी दिनुभयो । प्रतियोगिताका विजयी कवि तथा कवयत्रीलाई साहित्यकार एवम् कवि नरेन्द्र निर्भिकारले नगदसहितको पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

साहित्यकारहरु रामबिक्रम थापा, एमसी सुमित र रेखा राई ‘क्षितिज’ निर्णायक रहनुभएको प्रतियोगिता समापन कार्यक्रममा ‘सुन्ने–सुनाउने’ कार्यक्रमसमेत राखिएको थियो । कार्यक्रममा साहित्यकार एवम् कवि नरेन्द्र निर्भिकार, रामबिक्रम थापा, एमसी सुमित, रेखा राई ‘क्षितिज’, कृष्ण बुढाथोकी, रोशनकिशोर राई, ओमप्रकाश घिमिरे, भीम राई लगायतले आ–आफ्नो साहित्य सिर्जना सुनाउनुभएको थियो ।

यसैबीच, जनयुद्ध दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसिएल) खोटाङले जिल्ला अस्पताल दिक्तेलमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेको छ । अस्पतालमा उपचाररत १३ जना बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै स्याउ, केरा, अङ्गुर, सुन्तला लगायत विभिन्न प्रकारका फलफूल वितरण गरिएको वाईसिएल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर नगर समितिका अध्यक्ष भुपेन्द्र राईले बताउनुभएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, सोही नगरपालिकाको वडा नं. ४ का वडाध्यक्ष खगेन्द्र राई, जिल्ला अस्पताल दिक्तेलका डाक्टर रुपेश सङ्ग्रौला, नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्री, नगरकार्यपालिका सदस्य राम हिङमाङ लगायतले बिरामीलाई फलफूल दिएर बिरामीको स्वास्थ्य लाभको कामना गरेका थिए । वाईसिएल जिल्ला कार्यसमिति खोटाङले जिल्लावासी सम्पूर्णलाई मङ्गलबार साँझ आ–आफ्नो घरमा दीप प्रज्वलन गरेर दिवस मनाउन आग्रह गर्दै दिक्तेलस्थित किराँतचोकमा सामुहिक दीप प्रज्वलनको कार्यक्रम राखेको छ ।

तपाईको प्रतिक्रिया