बाक्सिला गोल्डकपको १२ औँ संस्करण : खेल तालिका सार्वजनिक

Halesi Khabar
84 Shares

खोटाङ, २८ माघ । जिल्लाको सबैभन्दा ज्येष्ठ तथा प्रतिष्ठित फुटबल प्रतियोगिता ‘बाक्सिला गोल्डकप’को १२ औँ संस्करण अन्तरगत खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बाक्सिला फुटबल क्लबको आयोजनामा आगामी फागुन–२ गतेदेखि केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा सञ्चालन हुने बाक्सिला रनिङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।

आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार फागुन–२ गते दिउँसो २ बजे नेर्पा स्पोर्टस क्लब नेर्पा र बाहुनीडाँडा फुटबल क्लबबीच पहिलो खेल हुने छ । यस्तै, फागुन–३ गते दिउँसो १ः३० बजे खारम्बु स्पोर्टस क्लब खार्मी र कटारी फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

फागुन–४ गते दिउँसो १ बजे बाँझे स्पोर्टस क्लब र बाक्सिला फुटबल क्लब (ब्लु) तथा फागुन–४ गते दिउँसो ३ बजे भगवती स्पोर्टस क्लब खोटाङबजार र बाक्सिला फुटबल क्लब (रेड)बीच खेल हुने आयोजकले जनाएको छ । मोफसलमा फुटबलको व्यवसायिक विकासका लागि बिगत १९ वर्षअघि शुरु गरिएको बाक्सिला गोल्डकपको १२ औँ संस्करण पृथ्वी मावि बाक्सिलाको खेलमैदानमा सञ्चालन गरिने जनाइएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमलाई नगद रु दुई लाख ५५ हजार २१२ को साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक बाक्सिला फुटबल क्लबका अध्यक्ष शिवकुमार राईले जानकारी दिनुभएको छ । उपविजेताले नगद रु एक लाख २८ हजार तथा सेमिफाइनलिस्ट दुईवटा मिटले नगद रु ६०÷६० हजार प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट र हाईस्कोररले नगद रु सात÷सात हजार, बेस्ट डिफेन्डर र बेस्ट मिडफिल्डरले जनही नगद रु पाँच हजार ११२ तथा बेस्ट फरवार्ड र बेस्ट गोलकिपरले नगद जनही रु पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने जनाइएको छ । फागुन–६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता केपिलासगढी गाउँपालिकाको प्रमुख समिर राईले उद्घाटन तथा एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईले समापन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतियोगिता नकआउट विधिबाट सञ्चालन गराइने जनाइएको छ । प्रतियोगिताको पहिलो खेलमा पराजित भएर बाहिरिने टिमलाई सेवासुविधा बापत नगद रु ३० हजार र दोस्रो खेलमा पुगेर पराजय बेहोर्ने टिमलाई प्रतिटिम नगद रु ६० हजार प्रदान गरिने क्लबका सचिव पवन श्रेष्ठले जानकारी दिनुभएको छ ।

आयोजकले जिल्लामा व्यवसायिक रुपमा फुटबल खेलिरहेका खेलाडीलाई प्राथमिकतामा राखेर आसन्न गोल्डकपको तयारी गरेको छ । प्रतियोगितामा जिल्ला फुटबल सङ्घमा आवद्ध क्लबहरुलाई पहिलो प्राथमिकतामा राखेर सहभागी गराएको हो ।

जिल्ला बाहिरका खेलाडी राख्न चाहने टिमले बढीमा चारजना खेलाडी भित्र्याउन पाउने छन् । चन्दाकैभरमा प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले यसपल्ट पनि शुभेच्छुकको साथ र सहयोगमा प्रतियोगिताको तयारी गरेको हो ।

वि.सं. २०६१ सालमा स्थापना गरिएको बाक्सिला फुटबल क्लबले जिल्लामा फुटबल खेलको व्यवसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि स्थापनाकै वर्षदेखि नै गोल्डकप सञ्चालन गर्दै आएको छ । गोल्डकपको ११ औँ संस्करण आयोजक बाक्सिला क्लब बाक्सिला आफैले जितेको थियो ।

 

तपाईको प्रतिक्रिया