प्रशासनिक भवन निर्माणमा ठेकेदार कम्पनीको चरम ढिलासुस्ती

Halesi Khabar
112 Shares

खोटाङ, २७ माघ । बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काममा ठेकेदार कम्पनीको चरम ढिलासुस्ती भएको पाइएको छ । गत वैशाख–६ गते अर्थात दश महिनाअघि निर्माण सम्पन्न गर्नेगरी कौशिल बस्नेत निर्माण सेवा प्रा.लि. बानेश्वर काठमाडौँले निर्माणको जिम्मा लिएको प्रशासनिक भवनको काममा ठेकेदार कम्पनीको चरम ढिलासुस्ती देखिएको हो ।

वि.सं. २०७८ कातिक–७ गते सम्झौता गरिएको उक्त प्रशासनिक भवनको काम हालसम्म ५५ प्रतिशतमात्र सम्पन्न भएको जनाइएको छ । कौशिल बस्नेत निर्माण सेवाले मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ६९ लाख ७० हजार ३९२ लागतमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का लिएको हो ।

ठेकेदार कम्पनीले प्रशासनिक भवन निर्माणको काममा चरम ढिलासुस्ती गरेपछि पटकपटक पत्राचार गरेर तोकिएको समयमा सम्पन्न गर्न तथा गुणस्तर निर्माण गर्न ताकेता गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभएको छ । “सम्झौता गरिएको मितिमा भवन निर्माण गर्न नसकेको ठेकेदार कम्पनीले प्रथम पटक थप गरिएको नौँ महिनाको म्याद गुजारिसकेको छ । प्रथम पटक थप भएको म्याद गत माघ–६ गते सकिएको हो”, उहाँले भन्नुभयो, “प्रथम पटक थप भएको म्याद गुज्रेपछि पुनः आगामी वैशाख–५ गतेसम्मका लागि तीन महिनाको दोस्रो म्याद थप गरिएको छ । निर्माणको काममा चरम ढिलासुस्सती गर्ने ठेकेदार कम्पनीलाई पटकपटक पत्राचार गरेर तोकिएको मितिमा काम सम्पन्न गर्न गुणस्तर निर्धारण गर्न ताकेता गरेका छौँ ।”

गाउँपालिकाको प्रशासनिक भवन वडा नं.–४ फाक्टाङस्थित बाघखोरभञ्ज्याङमा निर्माणको काम सुस्तगतिमा भइरहेको छ । निर्माणको काममा खटिएका कामदारको सङ्ख्या तथा गति हेर्दा दोस्रो पटक थपिएको म्यादभित्र पनि निर्माणाधीन प्रशासनिक भवन निर्माणको काम सम्पन्न हुने सम्भावना छैन ।

निर्माणाधीन प्रशासनिक भवनको तीनतला ढलान गरेर पर्खाल हाल्ने, प्लाष्टर गर्ने लगायतका काम भइरहेको देखिन्छ । निर्माणको काममा चरम ढिलासुस्ती गरेपछि ४५ प्रतिशतमात्रै भुक्तानी दिइएको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिनुभएको छ ।

स्थानीय तह कार्यान्वयनमा आएको तीन वर्षपछि रु ९८ लाख खर्च गरेर गाउँपालिकाले पि–फ्याव भवन निर्माण गरेको थियो । पि–फ्याव भवनमा कार्यालय सञ्चालन गर्दै आएको बराहपोखरी गाउँपालिकाले सोही भवनको पछाडिपट्टी खाली रहेको आफ्नै जग्गामा पक्की भवन निर्माण शुरु गरेको हो ।

बाघखोरभञ्ज्याङमा निर्माणाधीन तीनतले पक्की प्रशासनिक भवनमा ३५ कोठा हुने जनाइएको छ । लिफ्टसहितको प्रशासनिक भवनको प्रत्येक तलामा महिला÷पुरुष छुट्टाछुट्टै सौचालय हुने गाउँपालिकाले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहका प्रशासनिक भवन निर्माणको कममा समेत ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा रावाबेँसी गाउँपालिकाले भने यही माघ–२२ गते औपचारिकरुपमा शिलान्यास गरेर निर्माणको काम शुरु गरिएको छ ।

ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदार कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी, नयाँ बानेश्वर काठमाडौँलाई एक वर्षका लागि कुनै पनि काम गर्न नपाउनेगरी कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा राखेपछि उक्त गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन निर्माणको काम अलपत्र गरेको छ ।

वि.सं. २०७६ जेठ–१४ गते सम्झौता गरिएको प्रशासनिक भवनको काम करिब ३० प्रतिशतमात्र सम्पन्न भएको जनाइएको छ । दुई वर्षअघि अर्थात वि.सं. २०७८ चैत–३० गते सम्पन्न गरेर सञ्चालनमा ल्याउनुपर्ने प्रशासनिक भवन ठेकेदार कम्पनीले रु दुई करोड ६८ लाख ४३ हजार ३४६ मा भवन निर्माण गर्ने ठेक्का पारेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपलिकाले भने यसअघि नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइसकेको छ । जिल्लाका अन्य स्थानीय तहमा सुविधा सम्पन्न प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको पाइएको छ ।

 

तपाईको प्रतिक्रिया