सात वर्षदेखि दुई बसपार्क उपयोगविहीन : बसपार्कमा मात्रै पार्किङ गर्न प्रशासनको निर्देशन

Halesi Khabar
812 Shares

खोटाङ, २३ माघ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारीसाधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै पार्किङ गर्न निर्देशन दिएको छ । यातायात व्यवसायीले जथाभावी पार्किङ गर्दै आएको साना तथा ठूला सवारीसाधनलाई व्यवस्थित गर्न प्रशासनले सम्बन्धित निकालयलाई लिखित निर्देशन दिएको हो ।

प्रशासनको निर्देशनबिपरित सडक आसपास र बजार क्षेत्रमा सवारीसाधन पार्किङ गरेको खण्डमा कानूनबमोजिक कारबाही हुने प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले बताउनुभएको छ । “जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा दुईवटा बसपार्क छ । यातायात व्यवसायीहरुले आफूखुसी जथाभावी पार्किङ गर्दै आएका छन् । बजारभित्रै जथाभावी पार्किङ गरिँदा दुर्घटनाको जोखिमसँगै बजारसमेत कुरुप बनेको छ”, उहाँले भन्नुभयो, “कुरुप बजारलाई व्यवस्थित गर्न प्रशासनले पहल थालेको छ । प्रशासन दिएको निर्देशन कार्यान्वयन गर्न÷गराउन सम्बन्धित निकायलाई लिखित निर्देशन दिइएको छ । यदि, प्रशासनले दिएको निर्देशनलाई बेवास्ता गरेको खण्डमा कानूनबमोजिक कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।”

वि.सं. २०७३ सालमा बनेका दिक्तेलस्थित आचार्यगाँउ र सोल्मा बसपार्क उपयोगविहीन राखेर बजार क्षेत्रमा पार्किङ गर्दा समस्या आएको भन्दै स्थानीय बासिन्दाको बिरोधपछि प्रमुख जिल्ला अधिकारी शाहले मङ्गलबार सर्वपक्षीय बैठक बोलाउनुभएको थियो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लामा सञ्चालित साना तथा ठूला सवारीसाधन पार्किङका लागि अनिवार्य बसपार्क लैजाने निर्णय गरेको थियो ।

सर्वपक्षीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न र यातायात व्यवसायीले निर्णय कार्यान्वयन गरे÷नगरेको जानकारी गराउनसमेत प्रशासनले लिखित निर्देशन दिएको छ । प्रशासनले दिएको निर्देशन तथा बैठकको निर्णयको प्रतिलिपि नेपाल पत्रकार महासङ्घ खोटाङलाई बोदार्थको रुपमा पठाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको समेत उपस्थितिमा बसेको सर्वपक्षीय बैठकमा लामो दूरीको बस तथा जीप आचार्यगाउँ र छोटो दूरीको बस तथा जीप सोल्मा बसपार्कमा पार्किङ गर्ने निर्णय गरिएको छ । यस्तै, दुवै बसपार्कमार्फत सञ्चालन हुने सवारीसाधन सोही ठाउँमा काउण्टर स्थापना गरेर अनिवार्यरुपमा दर्ता चलानीको व्यवस्था गर्नसमेत सम्बन्धित यातायात व्यवसायीलाई निर्देशन दिइएको जनाइएको छ ।

सर्वपक्षीय बैठकमा जिल्लामा सञ्चालित सबै सवारीसाधनको वैज्ञानिक भाडादर तत्काल कायम गर्ने निर्णयसमेत गरिएको प्रजिअ शाहले जानकारी दिनुभएको छ । “जिल्लामा सञ्चालित सवारीसाधनको भाडादर उच्च रहेको पाइएको छ । व्यवसायको नाममा उपभोक्ता ठग्न पाइँदैन । यसलाई चाँडै व्यवस्थापन गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “ वैज्ञानिक भाडादर निर्धारण गर्न पनि सर्वपक्षीय बैठक आव्हन गर्छु । बैठकले तोकेको निर्णय कार्यान्वयन गर्ने जिम्मा प्रशासनको हुनेछ ।”

सर्वपक्षीय बैठकले सवारीसाधन पार्किङ, सञ्चालन तथा व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईको अध्यक्षतामा १३ सदस्यीय समितिसमेत गठन गरेको छ । समितिको सदस्यमा वडा नं. २ र ३ का वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायी सङ्घका अध्यक्ष, नगर प्रहरी प्रमुख लगायत रहेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका योजना शाखा प्रमुख सदस्य सचिव रहेको समितिलाई सवारीसाधन पार्किङ, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड र नीति बनाउने अधिकार दिइएको छ । सर्वपक्षीय बैठकले गठन गरेको समितिलाई सडक आसपास अवैधरुपमा निर्माण गरिएका संरचना हटाउनेसम्मको अधिकार दिइएको प्रजिअ शाहले जानकारी दिनुभएको छ ।

उता, खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले भने, दिक्तेलमा निर्माण गरिएका दुवै बसपार्क उपयुक्त ठाउँमा नभएकाले आफूहरुले बसपार्कमा पार्किङ नगरेको बताउनुभएको छ । “बसपार्कमा सवारीसाधन पार्किङ गर्न व्यवसायीहरु तयार छन् । तर, दुवै बसपार्क उपयुक्त ठाउँमा छैन । सिडिओ सा’बले बोलाउनुभएको सर्वपक्षीय भेलाले फलानो–फलानो भनेर तोकेको रहेछ ! यो निर्णय गलत भएको छ”, उहाँले भन्नुभयो, “सर्वपक्षीय भेलाले उपयुक्त ठाउँमा पार्किङ गर भन्नुपथ्र्यो ! जसरी पनि फलानोले चाहिँ त्यही ठाउँमा लगेर पार्किङ गर्नुपर्छ भनिनु नियतपूर्ण देखिएको छ । त्यो बीचमा लाग्ने इन्धन खर्च कसले ब्यहोर्छ ? यस विषयमा पुनः छलफल हुनुपर्छ ।”

बसपार्कका लागि आचार्यगाउँकाका स्थानीय बासिन्दाले १५ र सोल्माका स्थानीय बासिन्दाले २० रोपनी निःशुल्क उपलब्ध गराएको थियो । करोडौँ मूल्य पर्ने जग्गा स्थानीय बासिन्दाले निःशुल्क उपलब्ध गराएपछि संसदीय विकास कोष र शहरी विकास मन्त्रालयको रु एक करोड ६० लाखमा दुवै ठाउँको बसपार्क निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया