दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स

Halesi Khabar
714 Shares

खोटाङ, २१ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषि उपज निःशुल्क ढुवानी गरेर बजारसम्म पु¥याइदिने उद्देश्यका साथ नगरपालिकाले आज (आइतबार)देखि औपचारिकरुपमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

पहिलो दिन वडा नं. ११ खार्मीस्थित ‘सोती बहुउद्देश्यीय कृषक समूह’ले उत्पादन गरेका कृषि उपज निःशुल्क ढुवानी गरिएको छ । शुभम् फाउण्डेशनले निःशुल्क उपलब्ध गराएको बोलेरो पिकअप भ्यानमार्फत कृषि एम्बुलेन्स सेवा दिन शुरु गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभएको छ ।

कृषि एम्बुलेन्समार्फत खार्मीबाट पहिलो पटक ८०० केजी बन्दाकोभी ढुवानी भएको छ । प्रतिकेजी रु ३० मा बिक्री भइरहेको बन्दाकोभी दिक्तेल बजारका विभिन्न ठाउँमा सञ्चालित तरकारी बिक्री केन्द्रले खरिद गरेका छन् ।

नगरपालिकाले निःशुल्क उपलब्ध गराएको बन्दाकोभीको बेर्नाबाट दुई हजार केजीभन्दा बढी उत्पादन भएको समूहका अध्यक्ष हर्कराज राईले जानकारी दिनुभएको छ । “हामीले परीक्षणका लागि तीन रोपनी जग्गामा बन्दाकोभीको व्यवसायिक खेती गरेका थियौँ । पहिलो पटकमै राम्रो उत्पादन भएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष बन्दाकोभीसँगै फूलकोभी, अकबरे खुर्सानी, लसुन, प्याज लगायतका विभिन्न प्रजातिका फलफूल तथा तरकारी खेती गर्ने तयारी गरेका छौँ । सामुहिकरुपमा शुरुवात गरिएको तरकारी खेतीलाई व्यवसायिकरुपमा वृद्धि गर्दै लैजाने योजना छ ।”

नगरपालिकाले शुरु गरेको कृषि एम्बुलेन्स लिएर नगर प्रमुख तीर्थराज भट्टराई, नगर उपप्रमुख विशन राई, कृषि शाखा प्रमुख जैसी, शुभम् फाउण्डेशनका प्रबन्ध निर्देशक सूर्यबहादुर राई लगायत खार्मी पुग्नुभएको थियो । आफूले उत्पादन गरेका कृषि उपज बिक्री गर्नका लागि ढुवानी गर्न नसक्दा कतिपय कृषक निरास भइरहेको अवस्थामा नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउनुलाई निक्कै महत्वका साथ हेरिएको छ ।

नगरपालिकाले शुरुवात गरेको कृषि एम्बुलेन्स कार्यक्रमलाई दिगो बनाउन सकेमा कृषकहरुलाई ठूलो राहत हुने वडा नं. २ सोल्मा अगुवा कृषक गंगाबहादुर विश्वकर्माले बताउनुभयो । “ढुवानी नहुँदा धेरै कृषकको कृषि उपज बारीमै कुहिएर गइरहेको छ । ढिलै भएपनि नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यसले निरन्तरता पाउन जरुरी छ”, उहाँले भन्नुभयो, “यो महत्वकांक्षी कार्यक्रम हो । दुई÷चार महिना सञ्चालन गरेर बन्द गरेको खण्डमा कृषकको लगानी डुब्नेवाला छ ।”

कृषि एम्बुलेन्स सञ्चालनका लागि यस वर्षका लागि यस वर्ष नगरपालिकाबाट रु दश लाख बजेट विनियोजन गरिएको नगर उपप्रमुख राईले जानकारी दिनुभएको छ । “हामीले कृषिलाई पहिलो प्राथमिकता दिएका छौँ । गाउँगाउँमा कृषक समूहहरु गठन गरिएको छ । कृषक समूह आवद्ध तथा व्यक्तिगत रुपमा कृषि पेशा अपनाएका कृषकलाई नगरपालिकाको तर्फबाट बीउ तथा बेर्ना निःशुल्क उपलब्ध गराउँदै आएछौँ”, उहाँले भन्नुभयो, “कृषकले उत्पादन गरेका कृषि उपज खेर जाँदैन । उहाँहरु आफै बिक्री गर्नुहुन्छ भने, ढुवानी गरिदिन्छौँ । यदि, उहाँहरुले आफूले उत्पादन गरेका कृषि उपज बिक्री गर्न नसकेको खण्डमा बजारमा चलेको बजार भाउअनुसार हामी आफै खरिद गर्छौँ । यसले कृषकलाई हौसला मिलेको अनुभूति गरेका छौँ ।”

पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हावापानी र भूगोलअनुसार ब्लक बनाएर कृषिलाई व्यवसायीकरण गर्ने तयारी गरेको छ । परीक्षणका लागि बन्दाकोभी, फूलकोभी, ब्रो काउली, प्याज, धनिया, लसुन, खुर्सानी, सिमी, बोडी लगायतका तरकारीको बीउ तथा बेर्ना निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

नगरपालिकाले यो आर्थिक वर्ष तीन लाख कफीको बेर्ना, ७० लाख प्याजको बेर्ना, ४० हजार किवीको बेर्ना र रु चार लाख बराबरको लसुनको बीउ वितरण गरिने जनाइएको छ । केरा पकेट क्षेत्र अन्तरगत रु छ लाखको कार्यक्रम पनि यसै वर्ष लागू गरिने कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभएको छ ।

जिल्लाको सबैभन्दा ठूलो (१५ वडा रहेको) यो नगरपालिकाले ‘उत्पादनमा नगर उपप्रमुख’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नगरसभाबाट पारित उत्पादनमा नगर उपप्रमुख कार्यक्रमका लागि यो वर्ष रु ४० लाख बजेट रहेको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया