सुनकोशीको पानी ८०० घरलाई उपलब्ध गराउन ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’

Halesi Khabar
483 Shares

खोटाङ, १९ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ८०० घर स्थानीय उपभोक्तालाई खानेपानी उपलब्ध गराउनेगरी शुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्रगतिमा अगाडि बढेको पाइएको छ । नेपाल सरकार, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालय सिंहदरबारको भ्याटसहित रु ३१ करोड १८ लाख ९२ हजार ६५६ लगानीमा बतासेका ८०० घर स्थानीय बासिन्दाको घरघरमा एक÷एकवटा खानेपानीको धारा उपलब्ध गराउनेगरी डेढ वर्षअघि ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम ठेकेदारमार्फत शुरु गरिएको हो ।

सगरमाथ ड्रिलिङ एण्ड कन्ट्रक्शन प्रा.लि.ले निर्माणको काम ठेक्का लिएको दिप्रुङ लिफ्टिङ खानेपानी आयोजनाको काम ४० प्रतिशत पूरा भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङका प्रमुख ईन्जिनियर विपुलकुमार लाल दासले जानकारी दिनुभएको छ । “दिप्रुङ लिफ्टिङ खानेपानी आयोजनाको मुख्य संरचनाहरु निर्माणको काम सम्पन्न भइसकेको छ । तोकिएकै मितिमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “आयोजनाको काम सम्पन्न भएपछि बतासेका ८०० घरधुरी उपभोक्ता लाभान्वित हुनेछन् । तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गराउन स्थानीय सरकार तथा उपभोक्ताले समेत सहयोग गर्नुपर्छ ।”

वि.सं. २०७९ भदौमा सम्झौता गरिएको दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना वि.सं. २०८१ भदौ–१८ गतेभित्र सम्पन्न गर्नुपर्ने दुई पक्षीय सम्झौतामा उल्लेख छ । दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना दिक्तेल–गाईघाट सडकखण्डको भण्डारेघाटस्थित सुनकोशी नदीबाट पम्पमार्फत तानिने पानी लिफ्टि गर्दै बतासेमा पु¥याएर वितरण गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष सुपेन्द्र राईले जानकारी दिनुभएको छ ।

फिल्टर तथा आरबिटि ट्याङ्की, पाइपलाइन, विद्युत पोलिङ लगायतको काम तीव्रगतिमा भइरहेको निर्माण कम्पनीका आयोजना प्रमुख सविन राईले जानकारी दिनुभएको छ । “भण्डारेघाटमा तीन लाख लिटरको एउटा ट्याङ्की र फिल्टरिङ (प्रशोधन) गर्ने ठाउँ निर्माणको काम सम्पन्न भएको छ । सुनकोशीको पानी तान्न पाँच ठाउँ लिफ्ट गरिन्छ । साढे तीन किलोमिटरमाथि मुसुरीडाँडामा ७५ र रातमाटामा ३० हजार लिटरको ट्याङ्की निर्माण गरेर त्यसमा जम्मा गरिएको पानी स्थानीय बासिन्दालाई वितरण गर्ने योजना छ”, उहाँले भन्नुभयो, “मुसरीडाँडामा वितरण लाइनको तीनवटासँगै मेन लाइनको ट्याङ्की निर्माण गरिसकिएको छ । रातमाटामा निर्माण गर्ने तयारी गरिरहेका छौँ । वितरण लाइनमा छवटा ट्याङ्की निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । चारवटा बनिसक्यो । दुईवटा बाँकी छ । त्यो पनि आगामी वैशाखभित्र सम्पन्न हुन्छ ।”

लिफ्टिङ लाइनमा ५० हजार लिटर क्षमताको छवटा ट्याङ्की निर्माण गरिने आयोजना प्रमुख राईले जानकारी दिनुभएको छ । “एउटा बनिसक्यो । एउटा बन्दै छ । बाँकी चारवटा पनि चाँडै सम्पन्न गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “पाँचवटै मेनलाइनको ट्याङ्की रहने ठाउँमा सुरक्षागार्ड हाउस पनि निर्माण गर्नुपर्नेछ । आयोजना सञ्चालनमा आएपछि त्यहाँ रहने सुरक्षागार्डले रेखदेखको काम गर्छ ।”

सगरमाथा राष्ट्रिय राजमार्गको भण्डारेघाटस्थित सुनकोशीको पानीलाई १५० एमएमको फलामे पाइपमार्फत लिफ्ट गरेर निकालिन खानेपानी आयोजनाको काममा तीन ग्रुप (समूह) कामदार खटाइएको ठेकेदार कम्पनीले जनाएको छ । लिफ्टिङ लाइनमा बिच्छ्याइने फलामे पाइपको काम सम्पन्न गरेर वितरण लाइनको काम शुरु गरिएको आयोजना प्रमुख राईले जानकारी दिनुभएको छ ।

लिफ्टिङ खानेपानी आयोजनाको पाइप लाइन विस्तारको क्रममा ठेकेदार कम्पनीको लापरबाहीले सडकबीचमै फलामे पाइप बिच्छ्याएको पाइएकाले त्यसलाई उपयुक्त ठाउँमा सार्न निर्देशन दिइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङका प्रमुख ईन्जिनियर लाल दासले जानकारी दिनुभयो । “सुनकोशीको पानी लिफ्टिङ गर्न बिच्छ्याइएको फलामे पाइप सडक आसपासमा देखियो । यसले यातायात सञ्चालनका साथै सडक फराकिलो पार्न समस्या हुने देखियो”, उहाँले भन्नुभयो, “यो सडक कालोपत्र गर्न डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने काम भइरहेको रहेछ । निर्माणाधीन अवस्थामै रहेको पाइप लाइनले यातायात सञ्चालनका साथै सडक फराकिलो पार्न समस्या हुने देखिएपछि त्यसलाई उपयुक्त ठाउँमा सार्न निर्देशन दिइएको छ । ठेकेदार कम्पनीले समेत त्यो कुरालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।”

मुसुरीडाँडामा अफिस (कार्यालय) रहनेगरी निर्माणाधीन अवस्थामा रहेको लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले रोजगारसमेत पाउने गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकाको वडा नं. ४ मा पर्ने बतासे सुख्खाग्रस्त क्षेत्रमा पर्छ । यहाँ भएका पानीका मुहानहरु वि.सं. २०७२ सालमा आएको भूकम्पका कारण सबै सुके । अहिले बतासेका स्थानीय बासिन्दा काकाकुल अवस्थामा छन्”, उहाँले भन्नुभयो, “खानेपानी अभावमा केही घर स्थानीय बासिन्दा बसाइँसमेत सरेर अन्यत्र जान थालेका छन् । खानेपानीकै अभावका कारण बसाइँ सरेर अन्यत्र जानुपर्ने बाध्यतामा पुगेका स्थानीय बासिन्दालाई रोक्दै गाउँमै केही गर्ने अवसर दिलाउनु स्थानीय सरकारको दायित्व हो । यसका लागि तत्कालीन कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवम् नेकपा (एमाले)का नेता शेरबहादुर तामाङमार्फत तत्कालीन खानेपानीमन्त्री वीणा मगरले दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना स्वीकृत गरिदिनुभयो । यो हाम्रो गाउँपालिकामा सञ्चालित सबैभन्दा ठूलो आयोजना हो । यो आयोजना सञ्चालनमा आएपछि यहाँका स्थानीय बासिन्दाले रोजगारसमेत पाउनेछन् ।”

विद्युतमार्फत सञ्चालन हुने उक्त लिफ्टिङ आयोजनाका लागि खपत हुने विद्युत महसुलका विषयमा समेत गाउँपालिकाले विकल्प खोज्ने तयारी गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभएको छ । उपभोक्ता आफैले विद्युत महसुल तिर्दा महङ्गो पर्ने भएकाले त्यसको विषयमा गाउँकार्यपालिकाको बैठक बसेर निर्णय गरिने जनाइएको छ ।

खानेपानीको समेत समस्या रहेको बतासेमा सुनकोशीको पानी लिफ्टिङमार्फत घरघरमा आउने भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । तीन हजार ९७७ जनसङ्ख्या रहेको बतासेमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा आएपछि फलफूल तथा तरकारी बालीसमेत उत्पादन गर्न सकिने जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा दिप्रुङ लिफ्टिङ खानेपानी आयोजनासँगै चारवटा लिफ्टिङ खानेपानी आयोजनाको काम भइरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुईवटा र हलेसी तुवाचुङ नगरपालिकामा एउटा लिफ्टिङ खानेपानी आयोजनाको काम सञ्चालन भइरहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङका नायब सुब्बा अनिल आचार्यले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया