‘फ्री भिसा फ्री टिकट’ भनिएकोमासमेत रु तीन लाख ५० हजारसम्म अशुल्छन् मेनपावर

Halesi Khabar
133 Shares

खोटाङ, १८ माघ । नेपाल सरकारले लागू गरेको ‘फ्री भिसा फ्री टिकट’को नीति अझै कार्यान्वयन हुन नसकेको खोटाङमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । सरकारले वि.सं. २०७२ असारदेखि मलेसियासहित खाडी मूलुकका लागि रु दश हजार लागत लाग्ने नीति कार्यान्वयन गर्ने घोषणा गरेपनि मेनपावर र एजेन्टलाई रु तीन लाख ५० हजारसम्म रकम बुझाउनुपर्ने बाध्यता अझै कायम रहेको उनीहरुले बताएका हुन् ।

विदेश जानका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ मा आप्रवासी स्रोत केन्द्रबाट सेवा लिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दुई हजार ९१६ जनामध्ये २९० जनालाई फलोअप गर्दा दुई जनाले मात्रै ‘फ्री भिसा फ्री टिकट’को सुविधा लिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी)का खोटाङ संयोजक सन्तोषकुमार राईले बताउनुभएको छ । “चालु आर्थिक वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मात्रै दुई हजार ९१६ जना युवाले वैदेशिक रोजगार सम्बन्धी सेवा लिएका छन् । नमूनाको रुपमा त्यसको दश प्रतिशतलाई फोनबाट फलोअप गर्दा ३२ जनाले तालिम लिएर विदेश गएका रहेछन् । त्यसमध्ये दुई जना मात्रै फ्री भिसा फ्री टिकटमा विदेश गएको पाइयो”, उहाँले भन्नुभयो, “अधिकांश युवा मलेसियासहित खाडी मूलुक गएका छन् । उनीहरुले मेनपावर कम्पनी वा एजेन्टलाई रु तीन लाख ५० हजारसम्म बुझाएका छन् ।”

फलोअप गरिएकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १९ जना सीप सिकेर विदेश गएको, २९ जनाले महत्वपूर्ण कागजातको फोटोकपी घरमा छाडेको, छ जनाले मेनपावर वा एजेन्टलाई तिरेको रकम बराबरको भपाई वा रसिद लिएको पाइएको जनाइएको छ । यस्तै, ९० जना युवा विदेश नजाने निर्णयमा पुगेको, २० जनाले नेपालमै स्वरोजगारको बाटो अपनाएको, ८८ जना विदेश जाने तयारीमा रहेको र सात जना विदेश जान असफल भएको जानकारी दिइएको छ । बाँकी ५३ जना विदेश जाने वा नजाने भन्ने दोधारमा रहेको पाइएको सामीले जनाएको छ ।

सरकारले लागू गरेको ‘फ्री भिसा फ्री टिकट’को सुविधाअनुसार मलेसिया, साउदी अरब, कतार, युएई, ओमान, बहराइन र कुवेत जानका लागि मेनपावरलाई रु दश हजार तिरे पुग्छ । तर, अहिले पनि मेनपावर र एजेन्टले वैदेशिक रोजगारीमा जाने युवालाई लाखौँ रकम लिएर मात्रै मलेसियासहित खाडी मूलुक पठाउने गरेका छन् ।

मेनपावर सञ्चालक वा एजेन्टले बढी पैसा लिए पनि रु दश हजार लिएको कागज लिने गरेको हेल्भेटास÷सामीका कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिनुभयो । “मेनपावर वा एजेन्टले सकेसम्म बढी पैसा लिएको पुष्टि हुने प्रमाण नजुट्ने विधि अपनाएर मात्रै विदेश जाने युवाबाट पैसा लिने गरेका छन् । विदेश जाने हुटहुटीमा ऋण काढेका युवा मेनपावरलाई बढी पैसा दिए पनि कम लागतको बिल वा भर्पाई लिन बाध्य छन्”, उहाँले भन्नुभयो, “विदेश जाने युवाले अझै पनि एजेन्टकै विश्वास गर्ने गरेको पाइएको छ । यसमा उनीहरु आफै सचेत हुनुपर्ने अवस्था देखिएको छ । आफै सचेत भएको खण्डमा मात्रै उनीहरु ठगीमा पर्दैनन् ।”

विदेश पठाउने नाममा ठगी गर्ने एजेन्ट जिल्ला बाहिरको हुँदा ठगी बापतको रकम फिर्ता गराउन समस्या हुने गरेको बिहीबार दिक्तेलमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा संयोजक राईले जानकारी दिनुभयो । वैदेशिक रोजगारका क्षेत्रमा उत्पादन मूलक क्षेत्रमा विप्रेषणको लगानी नहुनु, वैदेशिक रोजगारको प्रक्रियामा रहेका व्यक्तिहरु प्रायः जिल्ला बाहिर रहनु लगायतका चुनौति देखिएको जनाइएको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माकी सानी दाहालले आफ्नो छोरा र भान्जालाई माल्टा पठाइदिने भनेर सोही वडा मुडेका निमदावा शेर्पाले रु २२ लाख ठगेको जानकारी दिनुभयो । “दुई वर्षअघि माल्टा पठाइदिने भनेपछि शेर्पालाई पैसा दिएका थियौँ । अहिले उनी सम्पर्क विहीन भएका छन् । “साँहुबाट काढेको ऋण तिर्न छोरा अहिले कतारमा छ । भाञ्जा अहिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगर प्रहरीमा कार्यरत छन्”, उहाँले भन्नुभयो, “हामीले शेर्पालाई आईएमईमार्फत र नगद रु ११÷११ लाख बुझाएका थियौँ । पहिले उनका बुबाले तिर्ने भनेका थिए । अहिले उनका बुबाले समेत वास्ता गर्दैन ।”

जापान पठाइदिने भन्दै दिक्तेलकै सरोज सुन्दासलाई उनै शेर्पाले रु चार लाख ठगेको तर, जापान नपठाएपछि दबाब दिएर सबै पैसा फिर्ता लिएको जानकारी दिनुभएको छ । ठगी गर्ने शेर्पाले बारम्बार फोन नम्बर परिवर्तन गर्ने गरेको र अहिले फ्रान्स वा क्रोएसियामा रहेको परिवाले बताउने गरेको सुन्दासले बताउनुभयो ।

वैदेशिक रोजगारको पछिल्लो अवस्थासहित सुरक्षित आप्रवासन सम्बन्धी बिहीबार पत्रकारसँग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा विदेश गएका तथा जान लागेका अधिकांश युवा आफन्त तथा चिनेजानेकै व्यक्तिबाट ठगिने गरेको पाइएको सामी परियोजनाले जनाएको छ । पछिल्लो तीन वर्षको अवघिमा खोटाङका ४६ जना युवा ठगिएको पाइएको संयोजक राईले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया