आफूमाथि भएको बलात्कारको घटना मिलापत्र गर्न दबाब आइरहेको छ : पीडित बालिका

Halesi Khabar
1.2k Shares

खोटाङ, १७ माघ । तेह्र वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटनालाई गाउँमै मिलापत्र गराउन पीडक पक्षले बलात्कृत बालिकाको परिवारलाई पटकपटक दबाब दिने गरेको खुलासा भएको छ । गत पुस–२९ गते बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेपछि यस्तो यो घटना सार्वजनिक भएको हो ।

आफूमाथि जबरजस्ती करणी गरेको आरोपसहित पीडित बालिकाले दिएको जाहेरीको आधारमा अनुसन्धान गर्न मगरलाई यही माघ–११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभएको छ । पक्राउ परेका मगरलाई जिल्ला अदालत खोटाङबाट दोस्रो पटक आज (बुधबार) सात दिनको म्याद थप गरेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

आरोपित मगर स्वास्थ्यचौकी सुन्तलेमा कार्यरत करारका अहेव भएको र मावली हजुरआमाको स्वास्थ्य जाँच गराउन स्वास्थ्यचौकी गएकोबेला मगरले हजुरआमाको स्वास्थ्य अवस्थाका बारेमा सोध्ने बाहनामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् । “बिरामी हजुरआमालाई एउटा कोठामा छोडेर मलाई अर्को कोठामा लग्यो । हजुरआमाको स्वास्थ्य अवस्थाका बारेमा सोध्ने बाहनामा ढोका थुनेर जबरजस्ती लुगा खोलेर बलात्कार ग¥यो । बाहिर हजुरआमासँग रहनुभएकी दिदीलाई बोलाउन खोज्दा मुख थुनिदियो”, उनले भनिन्, “आफूमाथि जबरजस्ती करणी भएको विषयमा कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्की दियो । मैले डराउँदै दिदीलाई सुनाए । हजुरआमाको स्वास्थ्य अवस्था कमजोर थियो । चौकीबाट घर फर्काएलगत्तै हजुरआमाको मृत्यु भयो । काजकिरियाको बन्दोबस्तमीमा लाग्दा पीडक मगरविरुद्ध उजुरी दिन ढिलाइ भयो । माघ–११ गते हजुरआमाको काजकिरिया सकेपछि प्रहरीचौकी धर्तुङ पुगेर जाहेरी दिएकी थिएँ । धर्तुङमा जाहेरी दिएपछि ईलाका प्रहरी कार्यालय चिसापानी पठायो । त्यहाँ पनि हामी केही गर्न सक्दैनौँ भन्दै जिल्ला पठाएको छ । प्रहरीमा उजुरी लिएर गएको थाहा पाएपछि मिलापत्र गर्न पटकपटक दबाब आइरहेको छ ।”

आफूमाथि भएको जबरजस्ती बलात्कारको घटनालाई मिलापत्र गर्न माघ–५ गते गाउँ÷समाजसमेत भेला भएको पीडित बालिकाले बताएकी छन् । “पीडक पक्षले बोलाएको भेलामा सहभागीले समेत घटनालाई गाउँमै मिलापत्र गर्नुपर्छ भन्दै दबाब दिइरहेका छन् । म भर्खर कक्षा–७ मा पढ्दै गरेकी बालिका हुँ”, उनले भनिन्, “मेरो ईच्छाबिपरित जबरजस्ती बलात्कार भएको छ । यस्तो मान्छेलाई कारबाही हुनुपर्छ भन्दा उल्टै धम्की आइरहेको छ । बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।”

घटनालाई मिलापत्र गर्न खोजेको विषयमा आफूलाई कुनै पनि जानकारी नभएको सुन्तलेका वडाध्यक्ष पदमबहादुर मगरले बताउनुभएको छ । “स्वास्थ्य चौकी सञ्चालक समितिको अध्यक्ष म आफै छु । बलात्कार आरोपमा करारमा कार्यरत अहेवलाई प्रहरीले पक्राउ गरेर लगेछ”, उहाँले भन्नुभयो, “के भएको हो ? सत्यतथ्य छानबिन होस् । दोषी भए कारबाहीको दायरामा आउनुपर्छ । निर्दोष भए फसाउन पाइन्न ।”

घटनाका बारेमा पीडकको बुबा र काकाले मिलापत्र गर्न पटकपटक घरैमा आएर दबाब दिने गरेको पीडित बालिकाले बताएकी छन् । यो घटनामा जति दबाब आएपनि आफू मिलापत्र नगर्ने पक्षमा रहेको उनले बताएकी छन् ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया