कृषि तथा पशु मेला प्रदर्शनी : ४३ कृषकलाई पुरस्कार तथा २९ जना कृषकलाई सम्मान

Halesi Khabar
413 Shares

खोटाङ, १६ माघ । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ जना कृषकलाई पुरस्कृत तथा २९ जना कृषकलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरुपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी कृषकलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

पुरस्कृत हुने कृषकलाई पशुतर्फ प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः रु तीन हजार, रु दुई हजार ५०० र रु दुई हजार तथा बालीतर्फ प्रथम, द्धितीय र तृतीय हुने कृषकलाई क्रमशः रु दुई ५००, रु दुई हजार र रु एक हजार ५०० नगदसहित प्रमाणपत्र प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । “कृषि तथा पशु मेला प्रदर्शनीमा १२० वटा कृषि उपज राखिएको थियो । जसमध्ये प्रथम, द्धितीय र तृतीय हुने कृषकलाई पुरस्कृत गरिएको छ”, उहाँले भन्नुभयो, “मेलामा कृषि उपजसँगै भैँसी, बाख्रा र भेडासमेत प्रदर्शनीमा राखिएको थियो । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी कृषकलाई सम्मान गरिएको छ ।”

पुरस्कृत तथा सम्मानित हुने कृषकलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, नगर उपप्रमुख विशन राईले मङ्गलबार संयुक्तरुपमा नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको छ । दिक्तेलस्थित हाटडाँडामा आयोजित कृषि तथा पशु मेला प्रदर्शनी करिब ५०० जनाले अवलोकन गरेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभएको छ ।

कृषि तथा पशु मेला प्रदर्शनीमा फलफूल, तरकारी, दलहन तथा तेलहन, प्रशोधित कृषि उपज, राडीपाखी, छाला जुत्ता, ढाका कपडा लगायत स्टलका रुपमा राखिएको थियो । माघ–१५ र १६ गते आयोजित कृषि तथा पशु मेला प्रदर्शनीमा विभिन्न विाद्यालयका विद्यार्थीले समेत अवलोकन गरेको जनाइएको छ ।

कृषि तथा पशु मेला प्रदर्शनीमा नगरपालिकाभित्रका कृषक समूह तथा कृषकलाई मात्र सहभागिताका लागि अवसर दिइएको थियो । कृषि तथा पशु मेला प्रदर्शनीले कृषि पेशाप्रति कृषकको आकर्षण वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

कृषकलाई कृषि पेशाप्रति आकर्षित गर्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहले कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रम गर्दै आएको छ । दश स्थानीय तह रहेको जिल्लामा कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर निर्वाहमुखी कृषि प्रणालीलाई बिस्थापित गर्दै आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्न सबै स्थानीय तहले नीति तथा कार्यक्रमसमेत बनाएर लागू गरेका छन् ।

जिल्लाका सबै स्थानीय स्थानीय तहले कृषिमा अनुदानको व्यवस्था गरेपनि पहुँचका व्यक्तिले मात्र सेवा लिने गरेको गुनासोसमेत आउन थालेका छन् । नगर तथा गाउँपालिकाले कृषकलाई अनुदान उपलब्ध गराउन सूचना जारी गरेपनि जनप्रतिनिधिहरुले आफ्ना आफन्तहरुलाई मात्र पार्ने गरेको समाचार स्रोतको दाबी छ ।

यद्यपि, जिल्लामा पछिल्लो समय व्यवसायिक कृषि पेशा अपनाउने कृषकको सङ्ख्या वृद्धि हुँदै गएको छ । वैदेशिक रोजगारीको सिलुिसलमा विभिन्न देश पुगेर फर्किएका व्यक्तिहरु सबैभन्दा बढी व्यवसायिक कृषि पेशामा लागेका छन् ।

तपाईको प्रतिक्रिया