नेताहरुमा लोभको घैँटो रहुन्जेल जनताले सुख पाउँदैन : कानूनमन्त्री गुरुङ

Halesi Khabar
154 Shares

खोटाङ, १३ माघ । नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समुन्नत समाज निर्माण आफ्नो प्रमुख गन्तव्य भएको बताउनुभएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शनिबार सो नगरपालिकाको वडा नं. १० अर्खौलेमा आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले नेताहरु लोभबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो ।

नेताहरुमा लोभको घैटो रहुन्जेल जनताले सुख नपाउने पनि मन्त्री गुरुङले दाबी गर्नुभएको छ । “नेताहरुमा एउटै यात्रा सदाचारको हुन आवश्यक छ । नेताहरुमा लोभको घैँटो रहुन्जेल जनताले सुख पाउँदैन”, उहाँले भन्नुभयो, “नेताहरु लोभबाट मुक्त हुन आवश्यक छ । लोभबाट मुक्त भएर अगाडि बढ्न सकेमात्र समुन्नत समाज निर्माण गर्न सफल हुन्छौँ । यो अभियान आफैबाट शुरु गर्नुपर्छ ।”

मन्त्री गुरुङले विद्यार्थी भाइबहिनीहरु देशको उज्ज्यालो भविष्य भएको बताउनुभएको छ । “विद्यार्थी भाइबहिनीको उज्ज्यालो भविष्य निर्माण गर्ने जिम्मा तपाई÷हामी सबैको उत्तिकैमात्रामा भूमिका हुन्छ । विद्यार्थीको भविष्य उज्ज्वल बनाउनु भनेको देशको भविष्य उज्ज्वल बनाउनु हो”, उहाँले भन्नुभयो, “यसमा विद्यार्थी भाइबहिनीहरु पनि उत्तिकै लगनशील हुन आवश्य छ । मानिसलाई लगनशीलताले मात्रै सफलताको शिखरमा पु¥याउँछ । एक पटक असफल भइँदैमा हिम्मत हार्नुहुँदैन ।”

मन्त्री गुरुङले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई आफू सफल हुनुको उदाहरणसमेत प्रस्तुत गर्नुभएको छ । “हाम्रो पालमा बिहान÷बेलुका गाईवस्तुलाई घाँस नकाटी विद्यालय जान पाइन्नथ्यो । म पनि स्याङ्जाको एउटा ग्रामीण विद्यालयमा पढेको व्यक्ति हुँ । तपाईहरुको भन्दा कठिन थिायो मेरो दिनचर्या ! रातिमात्र गृहकार्य गर्न पाउँथे”, उहाँले भन्नुभयो, कठिन परिस्थितिमा कोही पनि बिचलित हुनुहुँदैन । लगनशील भएर अगाडि बढिरहनुपर्छ । लगनशील भएको खण्डमा कोही पनि असफल भइन्नँ ।”

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा नगरप्रमुख विमला राईले सङ्घ तथा प्रदेश सरकारबाट विनियोजन भएर स्थानीय तहमा आउने योजना कार्यान्वयनमा केही कानूनी जटिलता भएकाले त्यसलाई संसोधन गर्न मन्त्री गुरुङलाई अनुरोध गर्नुभएको छ । “सङ्घ तथा प्रदेश सरकारबाट परेका योजनाहरु कार्यान्वयन गर्न स्थानीय सरकारलाई अधिकार छैन । हाम्रो क्षेत्राधिकारभन्दा बाहिर हुने बित्तिकै ठेकेदार कम्पनीहरुले लापरबाही गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “मन्त्री ज्यूको पालामै ती कानूनी व्यवधानहरुलाई संसोधन गरियोस् । ताकि, आगामी दिनमा स्थानीय सरकारका जनप्रतिनिधिहरुले सहजरुपमा काम गर्न पाउन । अनिमात्र गुणस्तरीय विकास सम्भव छ ।”

नगर प्रमुख राईले नगरपालिकाको समग्रा विकासका लागि पहल गरिदिनसमेत मन्त्री गुरुङलाई अनुरोध गर्नुभएको छ । आफूहरुले जनताकै पक्षमा काम गर्दागर्दै केही व्यक्तिको निहित स्वार्थका कारण कानूनी झमेला व्यहोर्नुपरेको समेत जानकारी दिनुहुँदै नगर प्रमुख राईले आगामी दिनमा त्यस्तो झमेलाबाट मुक्त हुनेगरी कानून संसोधन गर्न पनि मन्त्री गुरुङ समक्ष माग राख्नुभएको छ ।

मन्त्री गुरुङलाई अर्खौलेस्थित सालपा खेलमैदानमा आयोजित कार्यक्रमस्थलमा विभिन्न जातजातिको साँस्कृति झाँकीद्धारा स्वागत गरिएको थियो । गाडीमार्फत खोटाङ आउनुभएका मन्त्री गुरुङ शनिबार साँझ नै राजधानी काठमाडौँ फर्कनुभएको छ ।

अर्खौलेको सालपा खेलमैदानमा शुरु गरिएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा तीनवटा विद्याका ३० वटा ईभेन्टमा १४ वटा माध्यमिक विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा हुने नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजूले जानकारी दिनुभएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया