पेट्रोलियम पदार्थमा कालोबजारी : तोकिएभन्दा तेब्बर मूल्यमा बेच्छन् व्यापारी

Halesi Khabar
833 Shares

खोटाङ, ११ माघ । दश स्थानीय तह रहेको खोटाङमा एउटामात्रै पेट्रोलपम्प सञ्चालनमा छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै दिक्तेल–हलेसी सडकखण्डमा सात वर्षअघि सञ्चालनमा ल्याइएको हलेसी आयल ट्रेड एण्ड सप्लायर्समा नेपाल आयल निगमले तोकेको मूल्यमा पेट्रोल तथा डिजेल खरिद गर्न पाइन्छ ।

दिक्तेलस्थित बाम्राङमा सञ्चालित पेट्रोलपम्पबाट करिब ५०० मिटर यता (भोजपुरतर्फ) पर्ने दिक्तेल बजारका अधिकांश पसलमा अवैधरुपमा पेट्रोलियम पदार्थ बिक्री भइरहेको पाइएको छ । व्यापारीले अवैधरुपमा पेट्रोलियम पदार्थ बिक्रीवितरण गरेको विषयमा जानकारी भएर पनि नियमन गर्ने निकाय आँखा चिम्लिएर बसेका छन् ।

मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी सडकखण्डमा पर्ने बाम्राङस्थित सो पेट्रोलपम्पमा नेपाल आयल निगमले तोकेको मूल्यमा पेट्रोल खरिद गरेर तेब्बर मूल्यमा उपभोक्तालाई बेचिरहेका छन् । दिक्तेल बजारको रत्नपार्क, बेसक्याम्प, हाटडाँडा लगायतका विभिन्न ठाउँमा खुद्रा पसल सञ्चालकले साढे दुई लिटर ड्यूको जम्बो बोत्तलमा पेट्रोल भरेर रु ४७० देखि रु ७०० सम्ममा बिक्री गर्ने गरेको पाइएको हो ।

अवैधरुपमा मोटो रकम लिएर पेट्रोलियम पदार्थको खुलेआम बिक्रीवितरण हुनुमा पेट्रोलपम्प सञ्चालकको समेत मिलेमतो रहेको समाचार स्रोतले जानकारी दिएका छन् । जिल्लामा एउटामात्र पेट्रोलपम्प हुनुको फाइदा पेट्रोलपम्प सञ्चालकले अवैध तरिकाले उठाउने गरेको उसको दाबी छ ।

जबकि, यो समाचार तयार पार्दासम्म आयल निगमले तोेकेअनुसार दिक्तेलमा सञ्चालित पेट्रोलपम्पमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ ५० पैसामात्रै छ । “व्यापारीहरुले दिनानुदिन अवैधरुपमा पेट्रोल बेच्छन् । कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्न कोही लागी पर्दैनन् । पेट्रोलपम्पबाट पेट्रोल ल्याएर तेब्बर मूल्य लिएर कालोबजारी गरिहेका छन्”, एक उपभोक्ताले भने, “कतिपय बाहिरबाट आएका मानिसलाई पेट्रोलपम्प कहाँ छ भन्ने नै थाहा छैन । तर, जिल्लाकै उपभोक्ता पनि चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । यसमा चोरीका मोटरसाईकल प्रयोगकर्र्ताहरु बढी उपभोक्ता छन् । उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

जिल्लामा प्रयाप्त पेट्रोलपम्प नहुनुले पनि व्यापारीहरुले त्यसको फाइदा उठाइरहेको समाचार स्रोतले दाबी गरेका छन् । “मध्यपहाडी लोकमार्गले छोएका कारण जिल्लामा सवारीसाधनको चाप बढिरहेको छ । मूलुकमा आएको सङ्घीयतासँगै गाउँ–गाउँमा सवारीसाधनको पहुँच बढ्दो अवस्थामा छ”, स्रोतले भन्नुभयो, “अझ गाउँघरमा त एक जम्बो तेल हाल्न सक्ने स्थिति नै छैन । गाउँ–गाउँमा अवैध तरिकाले पेट्रोल बिक्री भइरहेको छ । स्थानीय सरकारसमेत चुप लागेर बसेको छ ।”

पेट्रोलपम्पले सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा बिक्रीवितरण गर्न मनाही गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारी पवित्रप्रकाश शाहले बताउनुभयो । “उपभोक्ता ठगिएकोबारे अहिलेसम्म कुनै पनि गुनासो आएको छैन् । खुद्रा पसलका व्यापारीले बोत्तलमा पेट्रोल भरेर बिक्रीवितरण गरेका रहेछन् भने अनुगमन गरेर कारबाही गर्छौँ”, उहाँले भन्नुभयो, “पेट्रोलपम्पभन्दा बाहिर राखेर पेट्रोलियम पदार्थ बिक्री गर्नु नियम बिपरित हो । यदि त्यस्तो भएको पाइएमा सम्बन्धित व्यक्ति कारबाहीको भागिदार हुन्छन् ।”

दिक्तेल बजारसँगै जिल्लाका सबै स्थानीय तहका मुख्य बजारहरुमा समेत अवैधरुपमा पेट्रोलियम पदार्थ बिक्रीवितरण भइरहेको छ । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु सोही खुद्रा पसलमा अवैधरुपमा बिक्रीका लागि राखिएको पेट्रोलियम पदार्थ चर्को मूल्यमा खरिद गरेर प्रयोग गर्दै आएका छन् ।

पेट्रोलियम पदार्थ खुलारुपमा बिक्री गर्दा, असुरक्षित ओसार–पसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवम् भौतिक क्षतिसमेत हुने जोखिम हुन्छ । उसोत, पेट्रोलपम्पबाट पनि खुला रूपमा बोत्तल, जर्किन लगायतका भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्रीवितरण गर्न पाइँदैन ।

आधिकारिक पेट्रोलपम्प बाहेक अन्य व्यक्तिले पसलमा राखेर पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्न प्रतिबन्ध छ । पेट्रोलियम पदार्थको अवैधरुपमा बिक्रीवितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिक कारबाही हुने प्रावधान छ ।

तपाईको प्रतिक्रिया