राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी मावि बाक्सिलाले उचाल्यो

Halesi Khabar
168 Shares

खोटाङ, ७ माघ । केपिलासगढी गाउँपालिकामा सम्पन्न पालिकास्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी मावि बाक्सिलाले उचालेको छ । बाक्सिलास्थित पृथ्वी माविको आफ्नै खेलमैदानमा सम्पन्न प्रतियोगितामा २३ स्वर्ण, दश रजत र सात कास्य पदकसहित उपाधि उचालेको हो ।

प्रतियोगिताको उपाधि जित्न सफल पृथ्वी माविले नगद रु ४५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । प्रतियोगितामा तीन स्वर्ण, छ रजत र दश कास्य पदकसहित जालपा मावि बाक्सिला दोस्रो तथा एक स्वर्ण, चार रजत र दुई कास्य पदक जितेको सूर्य मावि सुङ्देल तेस्रो भएका छन् ।

प्रतियोगितामा शुक्रजित मावि एक स्वर्ण र तीन रजत पदक ल्याएर सान्त्वना भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिनुभएको छ । प्रतियोगिताको दोस्रो र तेस्रो भएका विद्यालयले क्रमशः रु ४० हजार र रु ३५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, प्रतियोगितामा एथलेटिक्सतर्फ सर्वोत्कृष्ट छात्राछात्र दुवैमा पृथ्वी माविका मनुषा राई र रोचक राई घोषित भएका छन् । भलिबलतर्फ पृथ्वी माविका छात्रा सुनिता खत्री र कुहुडाँडा माविका छात्र सरोज राई सर्वोत्कृष्ट खेलाडी भएका छन् ।

प्रतियोगितामा उत्कृष्ट मार्च पास गर्नेमा पृथ्वी मावि बाक्सिला र अनुशासित विद्यालयमा रेणुका मावि दिप्सुङ छनोट भएका छन् । यी दुई विद्यालयले नगद रु पाँच÷पाँच हजारसँगै प्रमाणपत्र प्राप्त गरेका छन् ।

आठ माविको सहभागिता रहेको प्रतियोगितामा सान्त्वना हुने विद्यालयसँगै अन्य सहभागी चार विद्यालयलाई आवतजावत र व्यवस्थापन स्वरुप रु २५÷२५ हजार र सहभागिताको प्रमाणपत्र दिइएको छ । विजयी उपाधि विजेता विद्यालय तथा सर्वोत्कृष्ट खेलाडीलाई गाउँपालिका प्रमुख समिर राई लगायतले पुरस्कार वितरण गर्नुभएको छ ।

तीन दिवसीय प्रतियोगितामा छात्राछात्रतर्फ १००, २००, ४००, ८००, १६००, ३००० मिटर दौड, चारजनाले पालैपालो दौडने १०० मिटर रिले दौड, चारजनाले पालैपालो दौडने ४०० मिटर रिले दौड, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प र भलिबलमा एक÷एक स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सङ्घीय सरकारको सशर्त बजेट रु एक लाख र गाउँपालिकाको रु सात लाखसहित रु आठ लाखमा पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्न पाउने छन् । गत वर्ष भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा केपिलासगढी गाउँपालिका प्रथम भएको थियो ।

तपाईको प्रतिक्रिया