केपिलासगढी पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

Halesi Khabar
140 Shares

खोटाङ, ३ माघ । केपिलासगढी गाउँपालिकामा पालिकास्तरीय अन्तरमाध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारस्थित पृथ्वी उच्च माविको खेलमैदानमा बुधबारदेखि २८ वटा स्वर्ण पदकका लागि माविस्तरीय प्रतियोगिता शुरु गरिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्राछात्रतर्फ १००, २००, ४००, ८००, १६००, ३००० मिटर दौड, चार जनाले पालैपालो दौडने १०० मिटर रिले दौड, चार जनाले पालैपालो दौडने ४०० मिटर रिले दौड, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपल जम्प र भलिबलमा एक÷एक स्वर्ण पदकका लागि खेल हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन गाउँपालिका प्रमुख समिर राई र उपप्रमुख गुरुराज राईले संयुक्त रुपमा दीप प्रज्वलन गरेर गर्नुभएको छ ।

प्रतियोगिता माघ–५ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु ४५ हजार, दोस्रो हुने विद्यालयले रु ४० हजार र तेस्रो हुने विद्यालयले रु ३५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । सहभागी अन्य पाँच विद्यालयलाई आवतजावत तथा व्यवस्थापन खर्च स्वरुप प्रतिविद्यालय रु २५ हजार र सहभागिताको प्रमाणपत्र दिइने शिक्षा शाखाका प्रमुख शिक्षा अधिकृत सुरेन्द्र खनालले बताउनुभएको छ ।

मार्च पासमा उत्कृष्ट हुने विद्यालय र अनुशासित विद्यालयलाई पाँच÷पाँच हजारसहित प्रमाणपत्र दिइने जनाएइएको छ । एथलेटिक्स र भलिबलमा उत्कृष्ट हुने छात्रछात्रालाई ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा गाउँपालिकाका आठ वटा माविको सहभागिता रहेको जनाइएको छ । सङ्घीय सरकारको सशर्त बजेट रु एक लाख र गाउँपालिकाको रु सात लाखसहित जम्मा रु आठ लाखमा प्रतियोगिता आयोजना गरिएको हो ।

गाउँपालिकाबाट विनियोजित बजेट पालिका स्तरीय प्रतियोगिता सम्पन्न गरेर जिल्ला र प्रदेश स्तरीयसम्म प्रतियोगितामा समेत खर्च गरिनेछ । पालिकास्तरीय प्रतियोगितामा सहभागी भएर स्वर्ण जित्ने खेलाडीहरुले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्न पाउने व्यवस्था छ ।

 

तपाईको प्रतिक्रिया