दिप्रुङ चुइचुम्माका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्नो सेवासुविधा कटाएर भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने

Halesi Khabar
3.2k Shares

खोटाङ, ८ मङ्सिर । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्नो सेवासुविधा बापतको रकम कटाएर जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । गाउँपालिका प्रमुख लोकेन्द्र राईको संयोजकत्वमा शुक्रबार बसेको जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको संयुक्त भेलाले यस्तो निर्णय गरेको हो ।

जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको पाँच दिन बराबर तथा योजना शाखा प्रमुखको चार दिन बराबरको सेवासुविधा उपलब्ध गराउने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएसपी चाम्लिङले जानकारी दिनुभयो । यस्तै, शाखा प्रमुखहरुको तीन दिन, गाउँपालिका र अन्तरगतका कार्यलयमा कार्यरत कर्मचारीहरुको दुई दिन तथा ४९ वटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको दुई दिन बराबरको सुविधा कटाएर भूकम्प पीडितका लागि उपलब्ध गराउने निर्णय भएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत लेखा कर्मचारी, कार्यलय सहयोगी र बाल विकास सहयोगी कार्यकर्ताको एक दिन बराबरको सुविधा उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट सङ्कलन हुने रकम यही मङ्सिरभित्र भूकम्प पीडितका लागि उपलब्ध गराउने योजना रहेको जनाइएको छ ।

गाउँपालिकाको कार्यालयमा बसेको भेलाले सामुदायिक विद्यालयमा कार्यरत आधारभूत तह र माध्यमिक तहका गणित विषय शिक्षकहरुको विषयगत क्षमता अभिबृद्धि गर्नका लागि मङ्सिर–२४ गतेदेखि २९ गतेसम्म विषयविज्ञद्वारा तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार गर्न निरन्तर विद्यार्थी मूल्याङ्कन कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउने, खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा सौजन्य प्राप्त १४ वटा माध्यमिक विद्यालयको लागि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक डाक्टर महाविर पुनद्वारा लिखित महावीर पुन पुस्तक वितरण गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया