आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न प्रहरीको जनचेतनामूलक अभियान

Halesi Khabar
70 Shares

खोटाङ, ७ मङ्सिर । जिल्ला प्रहरी कार्यालय खोटाङले आगलागीका घटना न्यूनीकरण गर्न जिल्लामा जनचेतनामूलक अभियान शुरु गरेको छ । आगलागीको उच्च जोखिममा रहेको खोटाङमा प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत जिल्लाका दशवटै स्थानीय तहमा जनचेतनामूलक अभियान शुरु गरेको हो ।

अभियानका क्रममा प्रहरीले विद्यालय, हाटबजार, मन्दिर लगायतमा जनचेतनामूलक कार्यक्रम गर्दै आगलागीका घटना हुन नदिन तथा भएमा बच्ने उपायका बारेमा जानकारी दिने गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोतम खड्काले जानकारी दिनुभयो । “आर्थिक वर्ष २०८०÷२०८१ मा आगलागीका आठवटा घटना भइसकेका छन् । जसबाट केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी १५ वर्षीया किशोरी सरिता तामाङ घाइते भइ काठमाडौँको शिक्षण अस्पताल माहाराजगञ्जमा उपचाररत रहनुभएको छ । यसका साथै २९ वटा पशुचौपाया र १५ वटा पन्क्षीसमेत आगलागीबाट क्षति भएको देखिन्छ”, उहाँले भन्नुभयो, “भौतिक क्षतितर्फ पाँच घर र पाँच गोठमा क्षति हुँदा करिब रु ३६ लाख २० हजार बराबरको क्षति भएको छ । यस जिल्लामा बिगतसमेतको आगलागीका घटनाहरूको सुक्ष्म अध्ययन गर्दा हावा बढी चल्ने र सुक्खायामका कारण फागुनदेखि वैशाखसम्म धेरै क्षति हुने गरेको देखिएको छ । यसलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम शुरु गरिएको हो ।”

बिजुली र ग्याँसको पहुँच नभएका ग्रामीण बस्तीहरूमा टुकी, अँगेनामा बालिएको आगो ननिभाइ छाड्नु आदि कारणले समेत आगलागी भएको पाइएको प्रहरीले जनाएको छ । तर, बजार क्षेत्रका बस्तीहरुमा भएको आगलागीको मुख्य कारण भने विद्युत, ग्याँस सिलिन्डर पड्कनु, ग्याँस लिक हुनु र धूप बाल्ने चलन आदि रहेका छन् ।

यसैलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्ला भरिका सम्पूर्ण प्रहरी कार्यालयहरूमार्फत आगलागी नियन्त्रण सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन शुरु गरेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो । जसअनुसार जिल्ला प्रहरी कार्यालय खोटाङले रत्नपार्क, त्रिवेणीचोक, डाँडाटोल, पञ्चदोबाटो, बानाचुङ, हुलाकी टोल, लेवरगाँउ, वातेमा गाँउ, कटुवाल टोल, तालखर्क, चालिसे, याम्खा, नुनथला, गैरीगाउँमा गरी बिहीबार एकै दिन १४ वटा स्थानमा कार्यक्रम सम्पन्न गरेको छ ।

ईलाका प्रहरी कार्यालय हलेसी र हलेसी मातहत प्रहरी चौकीहरूले अर्खौले, रिठ्ठाबोट, गैरी, बिजुले, ट्राफिक चोक, कदुवा, च्यास्मिटार, जयरामघाट, कोटगैरी, धितुङ, बनपाला र छापडाडा गरी जम्मा १२ स्थानहरूमा कार्यक्रम सञ्चालन गरेको छ । ईलाका प्रहरी कार्यालय मात्तिम बिर्ताले मात्तिम बिर्ता र पहारोङमा कार्यक्रम सञ्चालन गरेको छ ।

ईलाका प्रहरी कार्यालय बाक्सिलाले बाक्सिला बजार र बातेमागाउँमा गरी दुई स्थानमा कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । यसका साथै इलाका प्रहरी कार्यालय खोटाङबजारले खोटेहाङ गाउपालिका–२ स्थित वडा कार्यालयको प्राङ्गण, वाङ्सोलाटार, सिम्पानी बजार, बतासे गरी चार स्थानमा कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

जिल्लामा हुनसक्ने आगलागीका घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय खोटाङले २० वटा बुँदामा समेटेर जनचेतनामूलक सन्देशसमेत प्रवाह गरेको छ । प्रहरीले आफ्नो फेसबुक पेजमार्फत प्रवाह गरेको जनचेतनामूलक सन्देशमा आगलागीका घटना हुनबाट जोगाउन तथा भइसकेको अवस्थामा जोगिन सकिने उपायहरु समेटिएका छन् ।

तपाईको प्रतिक्रिया