आगलागीमा घाइते बनेकी किशोरीको उपचार खर्च गाउँपालिकाले ब्यहोर्ने

Halesi Khabar
91 Shares

खोटाङ, ४ मङ्सिर । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा भएको आगलागीबाट बच्नका लागि हामफाल्नेक्रममा घाइते भएकी किशोरीको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने भएको छ । बाक्सिला निवासी किशोर दुमी राईको घर गएराति जल्दा भाग्नेक्रममा घाइते भएकी राईकी भाञ्जी १५ वर्षीया सरिता तामाङको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने भएको हो ।

घाइते सरिताको उपचारमा आर्थिक अभाव भएको समाचार आएपछि गाउँपालिका प्रमुख समिर राईले आफ्नो व्यक्तिगत फेसबुक पेजमा स्टाटस राख्दै उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने जानकारी दिनुभएको छ । मावली घरमा सुतिरहेको अवस्थामा गएराति ११ः४५ बजे ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको विजुलीको रातो चिमबाट सल्किएको आगोले घर जल्न थालेपछि दुईतला माथिबाट हाम फाल्दा सरिता गम्भीर घाइते भएकी छिन् ।

आगलागीबाट आफ्नो ज्यान बचाउन हामफालेर भाग्नेक्रममा सरिताको तीनवटा दाँत भाँचिएकोे छ भने, गिजामा घाउ भएको र बायाँ हात भाँचिएको जनाइएको छ । काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत सरिताको एक्स–रे गर्दा गुडा छेउको हड्डी चोइटिएको देखिएको पारिवारिक स्रोतले जनाएको छ ।

घाइते सरितालाई स्थानीय क्लिनिकमा उपचार सम्भावना नभएपछि थप उपचारका लागि काठमाडौँ पु¥याइएसँगै उपचारमा आर्थिक समस्या भएको थियो । सरिताको परिवारिक अवस्था कमजोर भएकाले उपचारका निम्ति सहयोग गरिदिन अनुरोध गरिएको स्थानीय प्रताप राईले बताउनुभएको छ ।

घाइते सरिता बाक्सिलास्थित पृथ्वी माविको कक्षा ९ मा अध्ययनरत छिन् । आगलागीबाट राईको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको चल्ला, अन्नपात, भाडावर्तन, काठपात, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

रातको समयमा भएको आगलागीमा सर्वस्व गुमाएका राई परिवारलाई जिल्ला प्रशासन कार्यालय खोटाङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले राहत उपलब्ध गराएको छ । प्रशासनले रु १५ हजार नगद तथा रेडक्रसले बन्दोबस्तीका सामग्री आगलागी पीडित परिवारलाई घटनास्थलमै पुगेर उपलब्ध गराएको हो ।

तपाईको प्रतिक्रिया