ब्रोइलर कुखुरालाई बालिएको विजुलीले एक घर जल्यो, एक बालिका घाइते

Halesi Khabar
7 Shares

खोटाङ, ४ मङ्सिर । ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको विजुलीको रातो चिमबाट आगो सल्किदा केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा एउटा घर जलेर नष्ट भएको छ भने एक किशोरी घाइते भएकी छिन् । घरको एउटा कोठामा पालिएको ब्रोइलरको चल्लालाई न्यानो पार्न बालिएको रातो चिमबाट गएराति सल्किएको आगोले स्थानीय किशोर दुमीको तीनतले घर जलेर नष्ट भएको हो ।

आगलागीमा किशोरको तीनतले घरसँगै घरमा राखिएको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको चल्ला, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा रु १५ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । घरमा भएको आगलागीबाट ज्यान जोगाउन भाग्ने क्रममा राईकी भान्जी १५ वर्षीया सरिता तामाङको लडेर अगाडिको दुईवटा दाँत र बायाँ हात भाँचिएको छ ।

घाइतेलाई बाक्सिलास्थित स्थानीय क्लिनिकमा सामान्य उपचार गरेर थप उपचारका लागि तत्कालै काठमाडौँ पठाइएको स्थानीय बासिन्दा एवम् बाक्सिला फुटबल क्लवका अध्यक्ष शिव राईले जानकारी दिनुभयो । सरिता सुतिरहेको अवस्थामा आगलागी शुरु भएपछि अत्तालिएर भाग्ने क्रममा लडेर घाइते भएको हो ।

रातको समयमा भएको आगलागी ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले राति दुई बजे नियन्त्रणमा लिएका थिए । आगलागीमा सर्वस्व गुमाएका अग्नीपीडित परिवारलाई क्षतिको आधारमा आर्थिक तथा बन्दोवस्तीका सामान उलपब्ध गराउने तयारी गरिएको गाउँपालिका प्रमुख समिर राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया