अवैध खयर चोरी निकासी प्रकरण : घटनामा संलग्न आरोपमा दुई जना पक्राउ

Halesi Khabar
644 Shares

खोटाङ, ३ मङ्सिर । अवैध वन पैदावार (खयर) चोरी निकासी घटनामा संलग्न रहेको आरोप लागेका हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका ५९ वर्षीय जोखबहादुर बस्नेत र सोही वडाका घोपाटारस्थित माझीगाँउ बस्ने २० वर्षीय श्यामकुमार माझी पक्राउ परेका छन् । घरैमा लुकीछिपी बसिरहेको अवस्थामा उनीहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

अवैध वन पैदावार (खयर) चोरी निकासी प्रकरणमा पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभएको छ । “अवैध वन पैदावार (खयर) चोरी निकासी घटनामा संलग्न रहेको आरोपमा छ जनाविरुद्ध डिभिजन वन कार्यालय खोटाङले पक्राउ पुर्जी जारी गरेको छ । आरोपितमध्ये दुई जनालाई पक्राउ गरिएको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ । चार जना फरार छन् । उनीहरुको खोजी भइरहेको छ ।”

बडहरेस्थित खोक्सेली सामुदायिक वनबाट बिना अनुमति खयरका रुख कटानगरी रातको समयमा निकासी गर्दै गरेको अवस्थामा गत साउन–२४ गते स्थानीय कुन्तादेवी आमा समूहले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । आमा समूहले खयरका काठ बरामद गरेलगत्तै भोलिपल्ट गठन गरिएको छानबिन समितिले हप्तादिनपछि साउन–३२ गते उक्त खयरका काठ चोरी÷निकासीमा संलग्न रहेको ठहर गर्दै झापा घर भएका ठेकेदार अनिल राई र स्थानीय जोखबहादुर बस्नेतसहित छ जनालाई कारबाही गर्न डिभिजन वन कार्यालय खोटाङलाई पत्र लेखेको थियो ।

छानबिन समितिले गरेको सिफासिरको आधारमा डिभिजन वन कार्यालयले दुई महिनापछि गत असोज–७ गते ठेकेदार अनिल राई र स्थानीयस्तरमा नेतृत्व गर्ने जोखबहादुर बस्नेतसहित छजना बिरुद्ध मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गरेको थियो । डिभिजन वन कार्यालयले असोज–१६ गते उपलब्ध गराएको पक्राउ पुर्जीको आधारमा मङ्सिर–२ गते बस्नेत र माझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सामुदायिक वनको खयर बिनाअनुमति चोरी÷निकासी भइरहेको पाएपछि कोशी प्रदेश वन तथा वातावरण मन्त्रालय विराटनगरले सब–डिभिजन वन कार्यालय हलेसीका प्रमुख रामसागर मण्डललाई सरुवा गरेको छ भने, आमा समूहले बरामद गरेको खयर डिभिजन वन कार्यालय खोटाङमा लगेर राखिएको छ । घटनास्थलबाट आमा समूहले बरामद गरेर कार्यालयलाई बुझाएको खयर ३६१ क्युफिट रहेको डिभिजन वन कार्यालयका छानबिन अधिकृत धर्मराज चौधरीले जानकारी दिनुभएको छ ।

अवैधरुपमा खयर चोरी÷निकासी गर्ने कार्यमा तत्कालीन कार्यालय प्रमुख मण्डलको समेत संलग्नता रहेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँमा उजुरीसमेत परेको जनाइएको छ । मण्डलको नाममा रहेको बैङ्क खाताको स्टेटमेन्ट (बैङ्किङ कारोबार गरेको आयव्यय)समेत अख्तियारले मगाएको बुझिएको छ ।

खोक्सेली सामुदायिक वनमा ३८ वटा खयरका रुख बिनाअनुमति काटिएको पाइएको छानबिन समितिका सदस्य एवम् स्थानीय बासिन्दा शेषकुमार पौडेलले जानकारी दिनुभएको छ । “सामुदायिक वनको खयर अवैध तरिकाले कटानगरी चोरी÷निकासी गर्नमा संलग्न दोषीलाई कडा कारबाही हुनुपर्छ । निर्दोष कोही पनि फस्नु हुँदैन”, उहाँले भन्नुभयो, “ज्यालादारीमा काम गर्ने मान्छेहरुबिरुद्ध पनि मुद्दा दायर भएको भन्ने जानकारी पाएको छु । उनीहरु अहिले भागारेभाग भएका छन् । नियामक निकायले गम्भीरतापूर्वक छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाओस् ।”

सोही नगरपालिकाको वडा नं. २ डिकुवामा पनि यसअघिदेखि नै अवैधरुपमा खयरको काठ कटान गरेर चोरी÷निकासी गरिरहेको पाइएको छ । चितवन जिल्लाबाट आएका ठेकेदार अर्जुन बस्नेतले डिकुवाका विभिन्न ठाउँबाट बिनाअनुमति खयर कटानगरी निकासी गरिरहेको वडाध्यक्ष देवेन्द्र राईले बताउनुभएको छ ।

डिकुवामा एक हजार ४५७ क्युफिटमात्र खयर खटान आदेश लिएको सब–डिभिजन वन कार्यालय हलेसीका तत्कालीन प्रमुख मण्डलले जानकारी दिनुभएको थियो । तर, उक्त क्षेत्रमा कतिवटा खयरका रुख कटान भयो भन्ने मण्डललाई समेत जानकारी थिएन ।

डिकुवाका स्थानीय केशरबहादुर मगरले बाइटार भन्ने ठाउँमा रहेको आफ्नो निजी जग्गाको खयर कटान आदेशकै आधारमा स्थानीय कुमारसिं राईको बलुही भन्ने ठाउँमा रहेको जग्गाबाट सात हजार क्युफिट खयर निकासी गरेको पाइएको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ । बिनाअनुमति खयर कटान हुनु, बिना परीक्षण ढुवानी हुनुमा वन कार्यालयका कर्मचारी र ठेकेदारको मिलेमतो हुनसक्ने स्थानीय बासिन्दा आरोप छ ।

बलुही भन्ने ठाउँ आसपासका सामुदायिक वनको १७ वटा रुख बिनाअनुमति कटान गरेको पाइएको छानबिन अधिकृत चौधरीले जानकारी दिनुभएको छ । बिनाअनुमति काटिएका खयरको विषयमा सर्जमिन मुचुल्का गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ ।

कटान गरिएकै स्थानमा प्रति केजी रु ३५ मा बिक्री भइरहेको खयर हलेसी तुवाचुङ नगरपालिकाका बाहुनीडाँडा, च्याम्सिटार, दुर्छिम, धिुतुङ र राजापानीका साथै जिल्लाका विभिन्न ठाउँबाट निकासी हुने गरेको छ । प्रतिबन्धित खयर जिल्लाबाट बिनाअनुमति बिना परीक्षण खुलेआम निकासी हुनुमा ठेकेदार र कर्मचारीबीच ठूलोमात्रामा आर्थिक चलखेल हुने गरेको समाचार स्रोतले दाबी गरेको छ ।

डिकुवा र बडहरेमा खयर कटान गरेर निकासी गर्ने दुवैजना ठेकेदारसँग अहिलेसम्म फोन सम्पर्क हुन सकेको छैन । उनीहरु दुवैजनालाई पटक–पटक फोन गर्दा उनीहरु दुवै जनाको फोन लागेपनि रिसिभ (फोन उठाउने काम) गर्दैनन् ।

दश स्थानीय तह रहेको खोटाङ जिल्लाका बेँसी क्षेत्रमा पर्ने अधिकांश वनहरुमा बहुउपयोगी वनस्पति खयर पाइन्छ । आयुर्वेदिक पद्धति अनुसार विभिन्न रोग नियन्त्रणका लागि उपयोगी हुने औषधिजन्य वनस्पति खयर पछिल्लो समय सामुदायिक, कबुलियती र निजी क्षेत्रका वनहरुबाट बिनाअनुमति कटानगरी रातारात चोरी÷निकासी भइरहेको छ ।

बहुउपयोगी औषधिजन्य वनस्पति खयर पाचन शक्ति बढाउन र झाडापखालालाई निकै फाइदा हुने भएकाले बिक्री हुने गरेको स्थानीय बासिन्दाले बताउने गरेका छन् । घाउ, खटिरा, बाथ तथा मर्केको जोर्नीहरूमा लेप (खयरका काठ घोटेर आउने लेदो) लगाउन पनि यसलाई प्रयोग गर्ने गरिएको छ ।

 

तपाईको प्रतिक्रिया