‘बाक्सिला रनिङ गोल्डकप’ फुटबल प्रतियोगिताको १२ औँ सँस्करण आगामी फागुनमा

Halesi Khabar
0 Shares

खोटाङ, २० कातिक । खोटाङको प्रतिष्ठित तथा सबैभन्दा ठूलो धनराशिको ‘बाक्सिला रनिङ गोल्डकप’को १२ औँ सँस्करण अन्तरगतको फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । आयोजक बाक्सिला फुटबल क्लबको आज (सोमबार) बसेको कार्यसमिति बैठकले आगामी फागुन–२ गतेदेखि १२ औँ सँस्करण अन्तरगतको फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

मोफसलमा फुटबलको व्यवसायिक विकासका लागि बिगत १९ वर्षअघि शुरु गरिएको बाक्सिला गोल्डकपको १२ औँ सँस्करण केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारस्थित पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गरिने क्लबका अध्यक्ष शिवकुमार राईले जानकारी दिनुभएको छ । “१२ औँ सँस्करण अन्तरगतको फुटबल प्रतियोगिता जिल्लामै सबैभन्दा ठूलो धनराशिको गर्ने तयारी गरिएको छ । पुरस्कार राशि र खेल तालिका लगायतका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिने योजना छ”, उहाँले भन्नुभयो, “जिल्लामा फुटबल खेलको व्यवसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धन गर्न बाक्सिला फुटबल क्लबले गोल्डकप सञ्चालन गर्दै आएको हो । कोभिडका कारण रोकिएका सँस्करणलाई निरन्तरता दिने निर्णय गरिएको छ ।”

बाक्सिला फुटबल क्लबले जिल्लामा व्यवसायिक रुपमा खेलिरहेका खेलाडीलाई प्राथमिकतामा राखेर आसन्न गोल्डकपको तयारी शुरु गरेको जनाइएको छ । प्रतियोगितामा जिल्ला फुटबल सङ्घमा आवद्ध चल्तीका क्लबहरुलाई पहिलो प्राथमिकतामा राखेर सहभागी गराइने क्लबका सचिव पवन श्रेष्ठले जानकारी दिनुभएको छ ।

लिगकम नोकआउट विधिबाट सञ्चालन हुने प्रतियोगितामा सहभागी टिम (टोली)लाई सेवासुविधाबापत रु ५०÷५० हजार प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ । जिल्ला बाहिरका खेलाडी राख्न चाहने टिमले बढीमा चार जनामात्र खेलाडी भित्र्याउन पाउने नियम बनाइएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

चन्दाकैभरमा गोल्डकप प्रतियोगिता सञ्चालन गर्दै आएको बाक्सिला फुटबल क्लबले यसपल्ट पनि शुभेच्छुकको साथ र सहयोगमा प्रतियोगिताको तयारी गरेको जनाइएको छ । ग्रामीण क्षेत्रमा फुटबल खेलको व्यवसायिक विकास गर्ने लक्ष्य लिएर वि.सं. २०६१ सालमा स्थापना गरिएको बाक्सिला फुटबल क्लबले स्थापना गरिएकै वर्षदेखि बाक्सिला गोल्डकप सञ्चालन गर्दै आएको छ ।

यसअघि सञ्चालन गरिएको ११ औँ सँस्करणको उपाधि आयोजक बाक्सिला फुटबल क्लब बाक्सिला आफैले जितेको छ । दशौँ सँस्करणको उपाधि भने खारम्बु स्पोर्टस् क्लब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीले जितेको थियो ।

तपाईको प्रतिक्रिया