सडक मर्मत गर्न स्थानीय बासिन्दासँग नेपाली सेनाको हातेमालो

Halesi Khabar
0 Shares

खोटाङ, १८ कातिक । गोरखनाथ गण मुडे ब्यारेक खोटाङका नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले शुरु गरेको श्रमदान अभियानमा गोरखनाथ गणका २५ जना जवान दैनिकरुपमा खटिएका छन् ।

दिक्तेलदेखि सेकुवाखोलासम्म उक्त सडक पिज (कालोपत्र) भइसकेको छ । तर, बीचमा पर्ने पङ्खुखोलामा पुल निर्माणको लागि छाडिएको करिब २०० मिटर सडकमा सवारी साधन सँधै फस्न थालेपछि शुक्रबारदेखि श्रमदानमार्फत मर्मत गर्न शुरु गरिएको हो ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड अन्तरगत पङ्खुखोला नजिकको सडकमा सडकमाथिबाट खसेको पहिरोले हिलाम्मे हुने गरेकाले नेपाली सेनाको सहयोगमा श्रमदानमार्फत मर्मत शुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले जानकारी दिनुभयो । “पङ्खुखोलामा लामो समयदेखि पुल निर्माणको काम अलपत्र छ । करिब ३० प्रतिशत काम गरेर पुल अलपत्र पारेपछि ठेक्कासमेत तोडिएको छ”, उहाँले भन्नुभयो, “अब नयाँ टेन्डर आह्वान भएर पुनः पुल निर्माण कहिले शुरु हुने भन्ने टुङ्गो छैन । तर, पुल निर्माणको लागि छाडिएको सडकमा निरन्तर सवारी साधन फस्न थालेपछि मर्मत शुरु गरिएको हो ।”

ठेकेदारको लापरबाहीले पटकपटक अवरुद्ध हुँदै आएको सडक मर्मतका लागि मुडे ब्यारेकबाट खटिएका नेपाली सेनाको टोलीलाई वडाध्यक्ष कठेतले व्यक्तिगत खर्च गरेर खाजा तथा नास्ता उपलब्ध गराउनुभएको छ । तीन दिनसम्म चल्ने श्रमदान अभियानमा सवारी साधन फस्ने करिब ७५ मिटर सडक सोलिङ गर्ने योजना रहेको जनाइएको छ ।

सडक मर्मतका लागि वडाध्यक्ष दिनेश कठेतको अनुरोधमा निस्वार्थ भावनाका साथ सहभागी भएको गोरखनाथ गणका गणपति प्रमुख सेनानी सुजन गुरुङले बताउनुभयो । “सभ्य समाज निर्माणका लागि सैनिक–नागरिकबीच सुमधुर सम्बन्ध कायम हुनुपर्छ । हामी त्यसमा सचेत भएर अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय नागरिकलाई परेको समस्या तथा आम नागरिकको सरोकारको विषयमा नेपाली सेनाको सहयोग रहन्छ । यही भावनाअनुरुप वडाध्यक्ष ज्यूको अनुरोधमा सडक मर्मत गर्न सहभागी भएका हौँ ।”

पुलको लागि छाडिएको पुरै सडकमा नाली निर्माणसमेत गरिने जनाइएको छ सिरुवा कन्ट्रक्शनले वि.सं. २०७३ असोज–७ गतेसम्ममा सम्पन्न गर्ने गरी वि.सं. २०७२ असोज–६ गते पुल बनाउने ठेक्का सम्झौता गरेको थियो । तेस्रो पल्ट थप भएको म्याद वि.सं. २०७७ असोज–३० गते नै नाघिसकेको छ । त्यसयता पुलको म्याद थप भएको छैन ।

निर्माण कम्पनी सिरुवा कन्ट्रक्शनले पुल अलपत्र पारेर छाडेपछि नगरपालिकाले ठेकेदारलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन गत चैत–२४ गते जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । पक्राउ पर्ने डरले निर्माण कम्पनीले केही समय काम गरेजस्तो गरेपनि पुनः रोकिएपछि ठेक्का तोडिएको हो ।

पुनः ठेक्का लागेर पुल निर्माण नहोउन्जेलसम्म त्यसवरिपरिको बाटोमा यात्रा गर्न सहज बनाउने उद्देश्यले सेनासँग समन्वय गरेर श्रमदान शुरु गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । बिग्रिएको सडक मर्मतका लागि आवश्यक ढुङ्गा तथा गिटी ओसारपसार गर्न नगरपालिकाले ट्याक्टर उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया