फूलैफूलको चाड तिहारअघि नै फूल फुलेपछि…!

Halesi Khabar
0 Shares

खोटाङ, १७ कातिक । फूलैफूलको चाड तिहार अर्थात भाइटीका यो वर्ष यही कातिक–२९ गते परेको छ । यो चाडमा दिदीले भाइलाई र बहिनीले दाजुलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गरेर फूलमाला लगाइदिने परम्परा छ । तर, यस वर्ष खोटाङमा तिहारअघि नै फूल फुलेपछि दिदीबहिनीहरु चिन्तित बनेका छन् ।

बिगत वर्षहरुमा तिहार अर्थात भाइटीकाभन्दा हप्ता÷दश दिनअघि मात्रै फुल्ने फूलहरु यस वर्ष जिल्लाका अधिकांश गाउँहरुमा दशैँ अगाडि नै फुलेका छन् । कतिपय गाउँमा रोपिएका फूलहरु फुलेर ओइलाइसकेका छन् भने, कतिपय गाउँमा ढकमक्क छन् ।

माँझकिराँत भनेर चिनिने खोटाङका अधिकांश किराँतवस्तीहरुमा भाइटीकादेखि हरिबोधनी एकादशीसम्म तिहार मनाउने चलन छ । एउटा घरका चेली (दिदीबहिनी)ले गाउँभरिका माइती (दाजुभाइ)लाई फूलमाला लगाइदिने गर्छन् ।

माइती पुज्नका लागि रोपिएका फूल तिहार अगाडि फुलेपछि आफू चिन्तित बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटकी आस्था मगरले गुनासो सुनाउनुभयो । “तिहार आउन अझै १३ दिन बाँकी छ । अहिले नै फूल टिपेर राखौँ भने चिस्यान केन्द्र छैन”, उहाँले भन्नुभयो, “बारीको डिलभरि फुलेका फूलहरु जम्मा गर्ने हो भने धेरै मूलयका छन् । सबै फूल बढीमा हल्तादिन रहन्छ होला ! यस वर्ष कसरी फूलले पु¥याउने भनेर सोचीरहेकी छु ।”

खार्मीस्थित बोहोरीबोटमा धेरै माइती भएका चेलीको एउटै घरमा १५० भन्दा बढी फूलका माला प्रयोग हुने गरेको छ । धेरै माइती भएका चेलीहरु तिहारका लागि फूलको माला जोहो गर्न सयपत्री, गोदावरी र मखमली फूलको विकल्पमा जङ्गलमा पाइने फूल प्रजातिको चुरी र चुलेथ्रो खोज्न थालेका छन् ।

बोहोरीबोटमा एउटै बङ्शका ४८ घर दुमी राईहरु बसोवास गरेका छन् । उनीहरु एउटा घरमा फूलमाला लगाइसकेपछि सबैजना जम्मा भएर पुनः अर्को घरमा गएर सामुहिकरुपमा फूलमाला लगाउने गर्छन् ।

छोरीचेली र बाउमाइती हुल बाँधेर गीत गाउँदै गाउँभरि डुलेर फूलमाला लगाउँदा रमाइलोसमेत हुने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दिलकुमार राईले बताउनुभयो । “तिहार छोरीचेली र बाउमाइती भेट हुने र शुभकामना आदानप्रदान गर्ने प्रमुख चाड हो । हामी यसलाई विशेष तरिकाले मनाउँदै आएका छौँ”, टोल सुधार समिति बोहोरीबोटका अध्यक्ष समेत रहनुभएका उहाँले भन्नुभयो, “यस वर्ष तिहार अगाडि नै फूलहरु फुलिसकेका छन् । बिगतमा जस्तो फूलैफूलको माला लगाउन पाइएला जस्तो छैन । यस वर्षको तिहार अलि खल्लो होला जस्तो छ !”

शिक्षासँगै कृषिमा समेत फरक अभ्यास गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेशनमा अध्ययन गर्ने विद्यार्थीले लगाएको फूल खेती पनि फुलिसकेका छन् । शुभम्का विद्यार्थीले यस वर्ष दश रोपनी जग्गामा सयपत्री, गोदावरी र मखमली प्रजातिका फूलहरु रोपेका थिए ।

बिगत वर्षहरुभन्दा यस वर्षको तिहार ढिलो भएकाले पनि फूलहरु फुलिसक्न लागेको शुभम्का प्रबन्ध÷निर्देशक सूर्यबहादुर राईले बताउनुभयो । “विद्यार्थीहरुले यस वर्ष दश रोपनी जग्गामा फूल खेती गरेका थिए । सबै फूलहरु अहिले ढकमक्क फुलेका छन् । पहिलो चरणमा फुलेका फूललाई बीउको रुपमा प्रयोग गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “यो अर्गानिक फूल हो । छिमाल–छिमाल फुल्छ । दोस्रो, तेस्रो छिमालको फूल चाँही तिहारका लागि बिक्री गर्ने तयारी गरिएको छ ।”

कुटोकोदालोदेखि कम्प्युटरसम्म अध्ययन÷अध्यापन हुने शुभम् फाउण्डेशनका विद्यार्थीले उत्पादन गरेका फूलहरुमध्ये सयपत्री प्रति केजी रु २०० मा बिक्री गर्ने योजना रहेको जनाइएको छ । एक केजी सयपत्री फूलको चारवटा माला हुने प्रबन्ध÷निर्देशक राईले जानकारी दिनुभएको छ ।

खोटाङ फूल उत्पादनका लागि उपयुक्त भूगोल भएको जिल्ला भएपनि कृषकहरुले अहिलेसम्म व्यवसायिकरुपमा फूल खेती गरेका छैनन् । जिल्लाका स्थानीय तहहरुले व्यवसायिक फूल खेतीका लागि कार्यक्रम बनाए पनि कार्यान्वयन भएको छैन ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा फूलैफूलको चाड तिहार नजिकिएसँगै प्लाष्टिकका फूलहरुको बिक्री बढ्न थालेका छन् । प्लाष्टिकका फूल लगाउनु स्वास्थ्यका लागि हानीकारक हुने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् ।

तिहार अर्थात भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई फूलमाला लगाइदिएर मेवा–मिष्ठान आदि मनपर्ने कुरा खुवाउने र दिदीबहिनीलाई दानदक्षिणा दिने चलन छ । परापूर्वकालदेखि मानिदै आइएको तिहार चाडले धार्मिक महत्वसमेत बोकेको छ ।

तपाईको प्रतिक्रिया