श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग

Halesi Khabar
0 Shares

खोटाङ, १ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको ‘श्रमदान अभियान–२०८०’ मा वडा नं. ११ खार्मीका ९४ जना स्थानीय बासिन्दाले आर्थिक सहयोग गरेका छन् । आफ्नो क्षेत्रमा निर्माण गरिएका ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन ‘होस्टेमा हैसे’ गर्नका लागि खार्मीका स्थानीय बासिन्दाले रु २०० देखि रु ३० हजारसम्म आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

जिल्लाको उत्तरी क्षेत्र जोड्ने दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको हरेलोडाँडा–खार्मी सडक मर्मतका लागि रु छ लाख ६२ हजार ४४६ सङ्कलन भएको अभियानका संयोजनकर्ता एवम् स्थानीय बासिन्दा हर्कराज राईले जानकारी दिनुभएको छ । “जनताले विकास चाहेका छन् । राज्यले प्रयाप्त बजेट उपलब्ध गराउन सकेको छैन । नगरपालिकाले चलाएको श्रमदान अभियानमा हामीले स्थानीयस्तरबाटै भए पनि जनताको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेका छौँ”, नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका सदस्यसमेत रहनुभएका संयोजनकर्ता राईले भन्नुभयो, “दश दिन सञ्चालन गरिएको श्रमदान अभियानमा खार्मीले जनताले आफ्नो जन्मभूमि प्रति देखाउनुभएको अगाध मायाँ तथा सद्भावको उच्च सम्मान गर्नैपर्छ । उहाँहरुले उपलब्ध गराउनुभएको आर्थिक सहयोगले अहिले बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक मर्मत गर्न सफल भएका छौँ ।”

श्रमदान अभियानमा सबैभन्दा बढी खार्मीमा जन्मिएर वैदेशिक राजगारीको सिलसिलमा विभिन्न देश पुगेका स्थानीय बासिन्दा आर्थिक सहयोग उपलब्ध गराएका छन् । साबिक खार्मी गाविस–६ निवासी स्वर्गीय सनतकुमार राईको छोरी सविना राई र ज्वाइँ मोहन राईले हङकङबाट सबैभन्दा बढी रु ३० हजार रकम उपलब्ध गराउनुभएको छ ।

यस्तै, साबिक खार्मी–५ फूलबिसौनाका भागेश्वर पाख्रिनले जापानबाट रु २२ हजार पाँच, साबिक खार्मी–६ का राजकुमार श्रेष्ठले साउदी अरबबाट रु २० हजार, साबिक खार्मी–५ का पुष्पकुमार राईले फ्रान्सबाट रु २० हजार, साबिक पाथेका–२ का जगतमणि राईले कतारबाट रु २० हजार, साबिक खार्मी–६ का रञ्जित राईले साउदी अरबबाट रु १७ हजार ४७२ उपलब्ध गराउनुभएको छ । साबिक खार्मी–६ का दिपेन्द्र राईले मलेसियाबाट रु १५ हजार ३३०, साबिक खार्मी–९ का कटक राई र खबिराज राईले काठमाडौँबाट रु २०÷२० हजार, साबिक खार्मी–८ का रुपा उदासले काठमाडौँबाट रु १५ हजार, साबिक खार्मी–५ का रञ्जना राईले फ्रान्सबाट रु १४,१३९, साबिक खार्मी–५ का श्यामकुमार राईले रु १२ हजार र सोही ठाउँका रेनुका राईले दुवाईबाट रु ११ हजार तथा साबिक खार्मी–६ का रोशन श्रेष्ठले दक्षिण कोरियाबाट रु दश हजार ९९९ उपलब्ध गराउनुभएको जनाइएको छ ।

अभियानमा ३१ जना स्थानीय बासिन्दाले रु दश हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउनुभएको संयोजनकर्ता राईले जानकारी दिनुभएको छ । आर्थिक सहयोग रकम उपलब्ध गराउनेमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, व्यापारी र पत्रकारसमेत रहेका छन् ।

गत जेठ–१८ गतेदेखि २८ गतेसम्म दश दिन सञ्चालन गरिएको श्रमदान अभियानमा ५०० भन्दा बढीको सहभागिता रहेको थियो । आफ्नो ठाउँमा सञ्चालन भएको श्रमदान अभियनमा स्थानीय बासिन्दाहरु स्वतःस्फूर्तरुपमा कुटो, कोदालो, बेल्चा, झम्पल, गैँती लगायतका घरेलु औजार लिएर सहभागी बनेका थिए ।

श्रमदान अभियानका क्रममा ३६ घनमिटर सडक सोलिङ गरिएको छ भने, साढे पाँच किलोमिटर सडकखण्डमा ग्राबेल गरिएको जनाइएको छ । ग्राबेलका लागि आवश्यक रोडा÷ढुङ्गा खार्मी र नेर्पाको सीमानामा पर्ने बगरेभञ्ज्याङबाट ४७ वटा ट्याक्टर प्रयोग गरेर ल्याइएको संयोजनकर्ता राईले जानकारी दिनुभएको छ ।

श्रमदान अभियानमा सहभागी स्थानीय बासिन्दा आफैले खाना तथा खाजाको व्यवस्था गरेका थिए । नगरपालिकाले सञ्चालन गरेको श्रमदान अभियानमा सहभागी हुन नसक्ने स्थानीय बासिन्दाले सहभागी हुनेका लागि स्थानीयस्तरमा उत्पादन हुने आलु, मकै, दही, मही र जाँडसमेत खाजाको रुपमा उपलब्ध गराएका थिए ।

खार्मीमा सञ्चालन गरिएको श्रमदान अभियान प्रभावकारी भएको नगर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले प्रतिक्रिया दिनुभएको छ । “देश आर्थिक सङ्कटमा फस्दै गएको छ । सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “जसरी भएपनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो । नगरभित्रका सबै ग्रामीण सडकहरु वर्षा शुरु हुने बित्तिकै अवरुद्ध हुने गरेका छन् । ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्नेगरी श्रमदान अभियान सञ्चालन गरिएको हो । यो निरन्तर चलिरहन्छ ।”

श्रमदान अभियानले दशैँ, तिहार, छट लगायतका चाड मनाउन आवतजावत गर्ने स्थानीय बासिन्दाका लागि सहज भएको छ । हिउँदको समयमा मात्रै सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी सडक श्रमदान अभियानमार्फत मर्मत गरेर बाह्रै महिना सञ्चालनमा आउने बनाइउपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् ।

नगरपालिकाको आव्हानमा खार्मीमा सञ्चालन गरिएको श्रमदान अभियानमा आर्थिक सहयोग गर्ने सहयोग दाताको नामावली फ्लेक्समा प्रिन्ट गरेर वडा कार्यालय खार्मी र दुईवटा सार्वजनिकस्थलमा राखिएको छ । आगामी दिनमासमेत श्रमदान अभियानलाई निरन्तरता दिने योजना रहेको अर्का संयोजनकर्ता एवम् नेपाली काँग्रेस खोटाङका सदस्य श्यामकुमार राईले जानकारी दिनुभएको छ ।

श्रमदान अभियानका लागि नगरपालिकाले जेसिबी र प्राविधिक सहयोग उपलब्ध गराएको थियो । उता, खार्मीका वडाध्यक्ष ईखबहादुर राईको नेतृत्वमा खार्मी–हुर्लुङ सडक मर्मतका लागि समेत श्रमदान अभियान सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया