दिक्तेलमा भोलिबाट ‘केएफए भेट्रान तथा अन्तर संस्था फुटबल प्रतियोगिता–२०८०’ सञ्चालन हुँदै

Halesi Khabar
0 Shares

खोटाङ, २३ असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलस्थित माटीकोरे खेलमैदानमा असोज–२४ गते (भोलि)देखि ‘केएफए भेट्रान तथा अन्तर संस्था फुटबल प्रतियोगिता–२०८०’ सञ्चालन हुँदै छ । खोटाङ फुटबल एकेडेमी खोटाङको दोस्रो संस्करण अन्तरगत आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १४ टिम (टोली)का खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

‘स्थानीय खेलाडीहरुको विकास तथा पहिचान, खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दोस्रो संस्करणको यो प्रतियोगिताका विजेता टोलीलाई नगद रु ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नूरकाजी सैँजूले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शहीद मनोज स्मृति प्रतिष्ठान खोटाङ मुख्य प्रायोजक रहेको प्रतियोगिताको उपविजेता टोलीलाई नगद रु ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

असोज–२८ गते सम्पन्न हुने प्रतियोगितामा जिल्ला फुटबल सङ्घ खोटाङ, दिक्तेल फुटबल क्लब दिक्तेल, नेर्पा स्पोर्टस क्लब नेर्पा, बाम्राङ स्पोर्टस क्लब बाम्राङ, नुनथला स्पोर्टस क्लब नुनथला, जिल्ला अस्पताल खोटाङ, डिभिजन वन कार्यालय खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका, उद्योग वाणिज्य सङ्घ खोटाङ, निर्माण व्यवसायी सङ्घ खोटाङ, माटिकोरे सेवा समाज दिक्तेल, किराँत सेवा समाज दिक्तेल र खोटेहाङ गाउँपालिका भेट्रानको सहभागिता रहेको आयोजकले जनाएको छ । भेट्रान तथा अन्तर संस्था फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीको हकमा ३५ वर्ष र कर्मचारीको हकमा २५ वर्षको उमेर हद राखिएको आयोजक खोटाङ फुटबल एकेडेमीका खेल संयोजक श्याम पौडेलले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको पहिलो दिन भोलि तीनवटा खेल सञ्चालन हुने आयोजक खोटाङ फुटबल एकेडेमीले जनाएको छ । पहिलो खेल नेर्पा स्पोर्टस क्लब र बाम्राङ स्पोर्टस क्लबबीच बिहान ७ः३० बजे, दोस्रो खेल जिल्ला वन कार्यालय र नुनथला स्पोर्टस क्लब नुनथला दिउँसो २ः३० बजे र अन्तिम खेल किराँत सेवा समाज खोटाङ र दिक्तेल फुटबल क्लब दिक्तेलबीच अपरान्ह ४ः०० बजे सञ्चालन हुने जनाइएको छ ।

खेल क्षेत्रको समग्र विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको एकेडेमीले जिल्लामा दक्ष खेलाडी उत्पादन गर्दै फुटबल खेललाई व्यवसायिक बनाउने उद्देश्यले नौँदेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई तालिमसमेत दिँदै आएको छ । एकेडेमीले उत्पादन गरेको खेलाडीलाई छात्रवृत्तिमा थप अध्ययन तथा तालिमका लागि राजधानी काठमाडौँ पठाउने गरिएको छ ।

एकेडेमीलाई गोल नेपाल र लिभरपुल फ्यान्स् नेपालले खेल सामग्री उपलब्ध गराउँदै आएको छ । लिभरपुल फ्यान्स् नेपालले गत यस वर्ष ३० जोर जर्सी, ३० वटा फुटबल, ट्रेनिङकोण, दुई थान नेटजाली र गोल नेपाल काठमाडौँले २० जोर जर्सी र दश वटा फुटबल उपलब्ध गराएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया