गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Halesi Khabar
0 Shares

खोटाङ, १४ असोज । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मनुभएका गायक मगरको नयाँ गीति सङ्ग्रह ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो ओएसआर डिजिटल नेपाल नामक युट्युब च्यानेलबाट आइतबार साँझ सार्वजनिक भएको हो ।

दिनेश सुवेदीदको शब्द तथा करसाङ लामाको सँगीत रहेको ‘तिम्रै मोया छ’ बोलको गीतमा गायक मगरसँगै चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीति म्युजिक भिडियोमा चर्चित नायिका रस्मिला तामाङ तथा जीवन बस्नेत, किरन मगर, राजु श्रेष्ठ, परिश्ना बस्तोला र भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’ अन्तरगत नृत्य विद्याका उपविजेता सुवास विश्वकर्माले अभिनय गर्नुभएको छ ।

राजु श्रेष्ठले निर्देशन गर्नुभएको यो म्युजिक भिडियोमा मनोज तामाङको कोरियोग्राफी रहेको छ । बासु न्यौपानेले खिच्नुभएको म्युजिक भिडियोको सम्पादन अर्जुन खड्काले गर्नुभएको गायक मगरले जानकारी दिनुभएको छ ।

रावासावा प्राज्ञिक समाज नेपालका महासचिव तथा खोटाङ कलाकार समाज काठमाडौँमा समेत आबद्ध रहनुभएका गायक मगरको यो सातौँ गीति सङ्ग्रह भएको बताइएको छ । गायक मगरले यसअघि मायाको आशैमा, भञ्ज्याङ र चौतारी, मनको कुरा, साहरा र तिम्लाई पाउँ जस्ता गीति सङ्ग्रहहरु बजारमा ल्याइसक्नुभएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाउनुभएका गायक मगर काठमाडौँ लिटल ब्लोजम स्कूल नयाँबजार, भक्ति इन्टरनेश्नल एकेडेमी बुढानिलकण्ठ र प्रगति बोर्डिङ हाई स्कूल बालाजुमा अध्यापनसमेत गर्दै आउनुभएको छ । ‘गाउँदै–पढाउँदै’ गर्नुहुने गायक मगरले लोक–आधुनिक भाकामा निर्माण गर्नुभएको यो म्युजिक भिडियोमा मायाँ÷पिरतीका कुरा गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला !

 

https://www.youtube.com/watch?v=9Yq5mDgcrc8

तपाईको प्रतिक्रिया