बाख्रा गोठाला गएकी युवतीलाई बलात्कार गरेर फरार बनेका युवक पक्राउ

Halesi Khabar
0 Shares

खोटाङ, ७ जेठ । बाख्रा चराउन गोठाला गएकी २० वर्षीया युवतीलाई जबरजस्ती बलात्कार गरेको अभियोग लागेपछि फरार भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २९ वर्षीय प्रतापजङ राई पक्राउ परेका छन् । गत वैशाख–१८ गते बाख्रा चराउन गएकी युवतीलाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका प्रतापजङलाई लुकीछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले केपिलासगढी गाउँपालिका–१ फेदीबाट पक्राउ गरेको हो ।

घटना लगत्तै फरार बनेका अभियुक्त प्रतापजङलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएपछि जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप गरेर कारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो । पीडित युवतीको परिवारले अभियुक्त विरुद्ध गत वैशाख–१९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका थिए ।

अभियुक्त प्रतापजङमाथि आफू पात्लेको घाँस झार्ने र युवतीलाई बटुल्न सहयोग गर्न भन्दै दिउँसो करिब १ बजेको समयमा स्थानीय जोरअङ्गेरी जङ्गलस्थित पात्लेको फेदमा लगेर जबरजस्ती बलात्कार गरेको अभियोग पीडित पक्षले प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख गरिएको छ । अभियुक्त प्रतापजङ स्वयम् पनि बाख्रा चराउन जङ्गलमा पुगेको स्थानीय बासिन्दाले बताएका छन् ।

फुत्किन खोज्दा अभियुक्त प्रतापजङले युवतीलाई केसमा समातेर तान्दै ओढारमा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारले बताएका छन् । प्रतिकारका क्रममा घाइते बनाएर करणी गरेको र निरन्तर रोइकराइ गरेर चिच्याएपछि ‘धेरै कराइस, तँलाई मारिदिन्छु’ भन्दै दुवै हातले घाँटी थिचिरहेको अवस्थामा स्थानीय एक महिला घटनास्थल पुगेपछि अभियुक्त प्रतापजङ भागेको किटानी जाहेरीमा उल्लेख छ ।

करणीका क्रममा निस्किएको चिच्याहट सुनेर स्थानीय एक महिला घटनास्थल पुगेको बताइएको छ । मरणासन्न अवस्थामा पुगेकी युवतीलाई तिनै महिलाले बोकेर खेतमा पु¥याएर परिवारलाई खबर गरेको जाहेरीमा भनिएको छ ।

युवतीलाई सोधपुछ गर्दा घटनाको बारेमा विस्तृत जानकारी भएको आफन्तले बताएका छन् । घटना लगत्तै जिल्ला अस्पताल लगिएकी युवतीलाई जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लगिएको आफन्तले बताएका छन् ।

अभियुक्त प्रतापजङले जबरजस्ती बलात्कार गरेपछि ज्यान मार्ने नियतले घाँटी थिची घाइते बनाइएकी युवतीको अवस्था अहिले सामान्य बन्दै गएको आफन्तले बताएका छन् । पीडित भनिएकी युवती गत चैतमा माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) दिएर बुबाआमालाई सघाउँदै घरमै बस्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया