पालिका प्रतिभा–२०८० : साकेलामा गायनतर्फ दियाली र नृत्यतर्फ राई प्रथम

Halesi Khabar
0 Shares

खोटाङ, १९ वैशाख । साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् । गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले आयोजना गरेको प्रतियोगितामा गायनतर्फ दियाली र नृत्यतर्फ राई प्रथम भएका हुन् ।

जिल्लाका दशवटै पालिकामा रहेको प्रतिभा खोजि गर्ने अभियानअन्तरगत मङ्गलबार साकेलामा फाइनल अडिसनमार्फत गायन र नृत्य विद्याको उत्कृष्ट तीन÷तीन जना प्रतिभा छनोट गरिएको जनाइएको छ । अभियानको अन्तिम दिन साकेलामा आयोजित प्रतियोगिताको गायनतर्फ जुनु राई द्धितीय र राइसर राई तृतीय भएका छन् ।

यसैगरी, नृत्यतर्फ सुजता भुजेल द्धितीय र स्मारिका राई तृतीय भएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने सहभागीलाई क्रमशः नगद रु दश हजार, रु सात हजार र रु पाँच हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

विजेता तथा सहभागीलाई आयोजक आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राई, साकेला गाउँपालिका उपप्रमुख बिर्सिका राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले पुरस्कार तथा सम्मान गरेका छन् । कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको साँगीतिक प्रस्तुतिसमेत रहेको थियो ।

‘नयाँ प्रतिभालाई प्रोत्साहन, पूराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सु–सँस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने नारासहित जिल्लाका दशवटै स्थानीय तहमा आयोजित प्रतिभा छनोट कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहबाट छनोटमा परेका प्रतिभालाई जिल्लाव्यापी प्रतियोगितामा सहभागी गराएर ‘खोटाङ प्रतिभा–२०८०’ छनोट गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया