दिक्तेल रुपाकोट मझुवागढी नगर प्रतिभा : गायनतर्फ प्रदीप र नृत्यतर्फ सलिना प्रथम

Halesi Khabar
0 Shares

खोटाङ, १७ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयोजना गरिएको प्रतिभा छनोट प्रतियोगिताको गायनतर्फ वडा नं.–११ खार्मीका प्रदीप राई र नृत्यतर्फ वडा नं. ६ नेर्पाकी सलिना भुजेल प्रथम हुनुभएको छ । गायनतर्फ २५ जना प्रतिभालाई पछि पार्दै प्रदीप र नृत्यतर्फ १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै सलिना प्रथम हुनुभएको हो ।

खोटाङ कलाकार समाजले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने दुवैजनाले नगद रु २०÷२० हजारको साथमा प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रथम हुने दुवैजना प्रतिभालाई जिल्लाव्यापी छनोटमा सहभागी गराइने आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिनुभयो ।

गायनतर्फ वडा नं. १३ नुनथलाका युवराज राई दोस्रो, नुनथलाकै प्रनिशा राई तेस्रो वडा नं. ४ खाल्लेका रोजन गदाल चौथो हुनुभएको छ । नृत्यतर्फ वडा नं. ५ लफ्याङकी सुष्मा राई दोस्रो, लफ्याङकै रेजिना मुग्राती तेस्रो वडा नं. ८ दोर्पाकी अनिशा हिङमाङ चौथो हुनुभएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजयी प्रथम, द्धितीय र तृतीय हुने प्रतिभाहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका किन्दर राई, जयन्ती राई, जानुका राई, उजुर राई र बिपिन राईले नगद पुरस्कार प्रदान गरेका छन् । स्वर्गीय बुबाहरु भीमबहादुर राई र कृपाध्वज राई तथा आमाहरु मुगासरी राई र भैरमायाँ राईको सम्झनामा रु ९० हजार नगद पुरस्कार प्रदान गरेका हुन् ।

प्रथम, द्धितीय र तृतीय हुने दुवैतर्फका प्रतिभाले क्रमशः नगद रु २० हजार, रु १५ हजार र दश हजार प्राप्त गरेका छन् । चौथो हुने प्रतिभालाई आयोजकले सान्त्वनास्वरुप नगद रु दुई÷दुई हजार प्रदान गरेको जनाइएको छ ।

‘नयाँ प्रतिभालाई प्रोत्साहन, पूराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सु–सँस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने नारासहित जिल्लाका दशवटै स्थानीय तहमा प्रतिभा छनोट भइरहेको छ । स्थानीय तहबाट छनोटमा परेका प्रतिभालाई जिल्लाव्यापी प्रतियोगितामा सहभागी गराएर ‘खोटाङ प्रतिभा २०८०’ छनोट गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया