‘दिक्तेल फुटबल स्टेडियम’को अवरुद्ध काम पुनः शुरु गर्न ठेकेदारलाई पत्राचार

Halesi Khabar
0 Shares

खोटाङ, १९ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारस्थित माटिकोरेमा निर्माणाधीन ‘दिक्तेल फुटबल स्टेडियम’ (रङ्गशाला)को काम अवरुद्ध हुनुको कारणसहित सम्झौता अनुसार पुनः निर्माण कार्य शुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटिकोरे खेलमैदानलाई स्तरोन्नति गरेर रङ्गशाला बनाउनेगरी आव्हान गरिएको ठेक्का आशिर्वाद–मोहन एण्ड व्यासीगाउँ–इन्द्रलक्ष्मी जेभीले लिएको छ ।

प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा सम्पन्न गर्ने रु दुई करोड ९६ लाख ४१ हजार ४९५ ठेक्का सम्झौता भएको निर्माणाधीन रङ्गशालामा ढेड महिनादेखि ठेकेदार कम्पनीले कुनै पनि काम गरेको छैन । शुरुवाती चरणमै काम नभएपछि प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले ठेकेदार कम्पनीलाई पठाउनुभएको पत्रमा समयमै निर्माण कार्य शुरु नगरी सम्झौतामा उल्लेखित समयभित्र कार्य सम्पन्न नभएमा कार्यालयबाट म्याद थप नहुने उल्लेख गरिएको छ ।

नगरपालिकाले ठेकेदार कम्पनीलाई लेखेको पत्रमा निर्माण सम्बन्धीको मासिक प्रगति विवरण पेश गर्नसमेत भनिएको छ । रङ्गशालाको काम गर्दागर्दै ठेकेदारले बिना कारण काम रोकेर अलपत्र छाडेको स्थानीय बासिन्दाले बताएका छन् ।

योजनाको सम्झौता बमोजिम पहिलो किस्ता पेश्की भुक्तानी भइसकेको तर निर्माण कार्य शुरु नभएको भन्दै नगरपालिकाले समयमै योजना सम्पन्न हुनेमा विश्वास गर्न सकिने अवस्था नभएको जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा एकमात्र माटिकोरे खेल मैदानलाई रङ्गशालाको रुप दिनेगरी काम शुरु गरिएको थियो ।

वि.सं. २०८१ वैशाख–२९ गतेसम्ममा सम्पन्न गर्नेगरी वि.सं. २०७९ असार–२९ गते सम्झौता गरिएको रङ्गशाला निर्माणको लागि भन्दै केही दिन स्काभेटर र ट्रिफर निर्माणस्थल लगिएको थियो । अहिले निर्माणस्थलमा कुनै पनि औजार नरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्लाका दशवटै स्थानीय तहले खेलमैदान निर्माणको काम शुरु गरेपनि अहिलेसम्म कुनै पनि सम्पन्न भएको छैन । जिल्लाका हरेक स्थानीय तहले ‘एक वडा, एक खेलमैदान’को अवधारणसहित खेलमैदान निर्माणको काम शुरु गरेको थियो ।

जिल्लामा व्यवस्थित खेलमैदान नहुँदा करिब छ महिना खेलकुदका गतिविधिसमेत शुन्यजस्तै हुने गरेको छ । खेलमैदान अभावमा स्थानीय युवा तथा फुटबल क्लबहरुले हिउँदको समयमा खुला चउरहरुमा खेलकुदका गतिविधि सञ्चालन गर्दै आएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सोल्मा स्पोर्टस क्लबले मात्र अहिलेसम्म मापदण्ड नअुसारको खेलमैदान निर्माण गरेको छ । ठूलो धनराशि खर्च भएपनि बुइपामा निर्माणाधीन खेलमैदान अझै सञ्चालनमा आउन सकेको छैन ।

उता, केपिलासगढी गाउँपालिकामा निर्माणाधीन बाक्सिला खेलमैदानसमेत अलपत्र अवस्थामा छ । वडा नं. ४ बाक्सिला बजारका स्थानीय छ जना दाताले निःशुल्क उपलब्ध गराउनुभएको रु ४६ करोड बढी मूल्यको जग्गामा प्रदेश सरकार तथा गाउँपालिकाको लगानीमा खेलमैदान निर्माण शुरु गरिएको हो ।

पाँच वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण शुरु गरिएको बाक्सिला खेलमैदान अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड रहने निर्माण उपभोक्ता समितिले जनाएको थियो । प्रतियोगिता भएको समयमा कम्तिमा पनि ५० हजार बढी दर्शक बस्न सक्नेगरी प्याराफिट बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ ।

तपाईको प्रतिक्रिया