दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पाको पोल्टामा

Halesi Khabar
0 Shares

खोटाङ, ३० फागुन । खोटाङ फुटबल एकेडेमी (केएफए)ले दिक्तेलमा आयोजना गरेको चौथो सँस्करणको ‘दिक्तेल मेयर कप अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले उचालेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आज (मङ्गलबार) भएको फाइनल खेलमा माटीकोरे सामाजिक सेवा समाज दिक्तेललाई ३-१ ले हराउँदै नेर्पाले चौथो सँस्करणको उपाधि चुमेको हो ।

प्रतियोगिताका उपाधि विजेता नेर्पा स्पोर्टस् क्लब नेर्पाले नगद रु एक लाख २५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भएको माटीकारे सामाजिक सेवा समाजले नगद रु ६२ हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ ।

प्रतियोगिता अवधिभरका सर्वाधिक गोलकर्ताको उपाधि नेर्पाका बिकी राई, उत्कृष्ठ खेलाडीको उपाधि माटीकोरेका दीपक खत्री, उत्कृष्ठ गोलरक्षकको उपाधि माटीकोरेकै नवीन पोखरेल र उदयमान खेलाडीको उपाधि केएफएका रोहन परियारले प्राप्त गरेका छन् । उनीहरुलाई जनही नगद रु पाँच/पाँच हजारको साथमा गोल्डेन ग्लोब्स, गोल्डेन बल, गोल्डेन सुज र प्रमाणपत्र प्रदान गरिएको आयोजक केएफएका अध्यक्ष नूरकाजी सैंजुले जानकारी दिनुभएको छ ।

विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले नगद तथा पुरस्कार हस्तान्तरण गर्नुभएको छ । यही फागुन-२७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा जिल्ला आठवटा क्लबले सहभागिता जनाएको आयोजक केएफएका प्रशिक्षण विभाग प्रमुख एवम् कोषाध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रायोजनमा आयोजित प्रतियोगितामा साकेला फुटबल क्लब रतन्छालाई ४-३ गोल अन्तरले हराउँदै नेर्पा तथा आयोजक केएफएलाई १-० ले हराउँदै माटिकोरे सामाजिक सेवा समाज फाइनल प्रवेश गरेको थियो । ‘खोटाङको पहिचान खेलकुदको अभियान’ भन्ने नाराका साथमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख तीर्थराज भट्टराईले गर्नुभएको थियो ।

दिक्तेललाई कार्यक्षेत्र बनाएर २०७३ सालमा स्थापना गरिएको केएफएले वार्षिक कार्यतालिका तयार गरेर विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । यसअघि आयोजित दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको तेस्रो सँस्करणको उपाधि योङ ब्वाइज फुटबल क्लब दिक्तेलले उचालेको थियो ।

यसैबीच, प्रतियोगिता समापनको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी र जिल्ला फुटबल सङ्घ खोटाङबीच आयोजित मैत्रीपूणर् खेलमा जिल्ला फुटबल सङ्घ विजयी भएको छ । निक्कै रोचक प्रतिस्पर्धा भएको मैत्रीपूणर् खेलमा १-० ले जिल्ला फुटबल सङ्घ विजयी भएको हो ।

तपाईको प्रतिक्रिया