प्रेस चौतारी नेपालकोे २५ औँ स्थापना दिवस : पूर्व अध्यक्षद्वय पौडेल र आचार्य सम्मानित

Halesi Khabar

खोटाङ, २२ माघ । प्रेस चौतारी नेपाल खोटाङले आफ्नो २५ औँ स्थापना दिवस विभिन्न कार्यक्रमगरी बनाएको छ । चौतारीले जिल्ला शाखा खोटाङका संस्थापन तथा पूर्व अध्यक्षहरुलाई सम्मान, जिल्ला अस्पताल खोटाङका बिरामीलाई फलफूल वितरण तथा शुभकामना आदान÷प्रदान गर्दै दिवस बनाएको हो ।

चौतारीले दिक्तेलस्थित होटल शुभदिनमा आयोजित कार्यक्रममा चौतारीका संस्थापन अध्यक्ष रमेश पौडेल र पूर्व अध्यक्ष हरिबोल आचार्यलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । पत्रकारिता छाडेर राजनीतिमा लाग्नुभएका संस्थापन अध्यक्ष पौडेल अहिले नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ भने, अर्का सम्मानित पूर्व अध्यक्ष आचार्य प्रेस चौतारीको केन्द्रीय सदस्य तथा १ नं. प्रदेशका सह–इन्चार्ज हुनुहुन्छ ।

पूर्व अध्यक्षद्वयले प्रेस चौतारी नेपाललाई जिल्लामा स्थापित गर्न दिनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको जिल्ला कार्य समितिका सचिव दिवस रिजालले बताउनुभयो । कार्यक्रममा उपस्थित हुन असम्भव रहेकाले अन्य पूर्व अध्यक्षहरुलाई सम्मान गर्न नसकिएको उहाँको भनाइ छ ।

चौतारीले बिहान जिल्ला अस्पताल खोटाङमा उपचाररत आठजना बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको थियो । दिउसो होटल शुभदिनमा शुभकामना आदन÷प्रदान तथा सम्मान कार्यक्रम गर्दै दिवस मनाएको हो ।

संस्थापक अध्यक्ष एवम् एमालेका केन्द्रीय सदस्य पौडेलको प्रमुख आतिथ्यमा भएको नेपाली काँग्रेस खोटाङका कोषाध्यक्ष एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई, एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गाल, सचिव कुमार आचार्य, नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य टंकबहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेश तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह लगायत उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले मर्यादित, व्यवसायिक र निष्पक्ष पत्रकारिता गर्न पत्रकारहरुलाई सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया