खोटाङ, ६ वैशाख । नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङले ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि जितेको छ । नेपाली सेनाको नं. १८ बाहिनी अड्डा उदयपुर अन्तरगत खोटाङमा आयोजना गरिएको भलिबल तथा बास्केट बल दुवैतर्फको प्रतियोगितामा रणभीम गण मुडे ब्यारेकले २०८३ को उपाधि जितेको हो ।
दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकमा आयोजना गरिएको भलिबल प्रतियोगितामा दुर्गाबक्स गण ओखलढु्गा र बास्केट बल प्रतियोगितामा पशुपतिप्रसाद गण पिपलटार ब्यारेक उदयपुरलाई हराउँदै रणभीम गणले उपाधि जितेको गणका जम्दार सञ्जय गिरीले जानकारी दिनुभएको छ । यही वैशाख–२ गतेबाट सुरु भएको प्रतियोगिता अन्तरगत आईतबार सम्पन्न फाईनल खेलमा भलिबलतर्फ ३–१ को सोझो सेट तथा बास्केट बलमा ४९ को विरुद्ध ८८ अङ्कसहित रणभीम गण मुडे ब्यारेकले उपाधि जितेको हो ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई रणभीम गण मुडे ब्यारेक खोटाङका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेले प्रमाणपत्र तथा मेडल प्रदान गर्नुभएको थियो । प्रतियोगितामा रणभीम गण मुडे ब्यारेकसँगै दुर्गाबक्स गण ओखलढु्गा ब्यारेक ओखलढु्गा र पशुपतिप्रसाद गण पिपलटार ब्यारेक उदयपुरका खेलाडीको सहभागिता रहेको जम्दार गिरीले जानकारी दिनुभएको छ ।
विभिन्न कार्यक्रमसहित चार दिनसम्म सञ्चालन भएको प्रतियोगिता समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कँडेलसहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । विजयी खेलाडीहरुको तर्फबाट गणपति लामीछानेले यही वैशाख–१२ गते बाहिनी अड्डा उदयपुरमा आयोजना गरिने कार्यक्रममा बाहिनीपति सहायकरथी बिमलकुमार बस्नेतको हातबाट ट्रफी ग्रहण गर्नुहुने गणले जनाएको छ ।


